जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिने, ९० करोडमा सर्बोत्तम सिमेन्टले ‘जगदम्बा’ किन्दै



काठमाडौं । जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिने भएको छ । १ अर्ब रुपैयाँ पुँजी रहेको जगदम्बा सिमेन्टमा शंकर ग्रुपको ४५ प्रतिशत र सौरभ ग्रुपका न्यौपाने दाजुभाइको ५५ प्रतिशत स्वामित्व थियो ।

जगदम्बा सिमेन्टलाई सर्वोत्तम सिमेन्टले किन्ने प्रक्रिया निकै अघि बढिसकेको छ ।

‘अहिले ड्यु डेलिजेन्स अडिट (डीडीए) भइरहेको छ,’ सर्वोत्तम सिमेन्टका एक सञ्चालकले क्लिकमान्डुसँग भने, ‘जगदम्बालाई सर्वोत्तमले किन्ने पहिल्यै समझदारी भएको थियो । त्यसअनुसार यही असार मसान्तभित्र किनबेच सम्पन्न हुने गरी काम भइरहेको छ ।’

स्रोतकाअनुसार यो हप्ता डीडीए रिपोर्ट तयार हुन्छ । १ अर्ब पुँजी रहेको जगदम्बा गरिब ९० करोड रुपैयाँ बिक्री गर्न लागिएको हो । र, जगदम्बाको सम्पूर्ण स्वामित्व सर्वोत्तमले किन्ने छ । जगदम्बामा ५५ प्रतिशतको साझेदार रहेका सौरभ ग्रुपका विष्णु न्यौपाने र उनका दुई दाजुभाइको लगानी सर्वोत्तममा पनि छ । विष्णु सर्वोत्तमका पनि अध्यक्ष हुन् ।

जगदम्बा सिमेन्ट ग्राण्डीङ युनिट भएकाले केही वर्षअघि नै रिद्धिसिद्धि वा सर्वोत्तममध्ये एक कम्पनीले किन्नुपर्नेमा यसका लगानीकर्ताहरु पुगिसकेका थिए । रिद्धिसिद्धि शंकर ग्रुपको हो भने सर्वोत्तम सौरभ ग्रुपको हो । जगदम्बामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, शाहिल अग्रवाल र शंकरका भाञ्जाको सेयर थियो भने सौरभ ग्रुपका विष्णु न्यौपाने, हरि न्यौपाने र शशी न्यौपानेको स्वामित्व छ ।

आर्थिक संकुचनले पूर्वाधार निर्माणको कार्य अगाडि बढ्न नसक्दा त्यससँग सम्बद्ध उद्योगको व्यापारमा निरन्तर उच्च असर गरेको छ ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण बजारमा सिमेन्टको माग नहुँदा जगदम्बा सिमेन्ट इन्डष्ट्रिज प्रालिको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ४६ प्रतिशतले घटेको थियो ।

जगदम्बाले दैनिक १ हजार टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । जगदम्बा सिमेन्ट सन् २००१ मा स्थापना भएको थियो। ‘मेरो देश मेरो जगदम्बा’को नाराका साथ जगदम्बाले आफ्नो छुट्टै पहिचान बनाएको छ ।


क्लिकमान्डु