प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे संसद्‍मा जानकारी गराउन रुलिङ माग



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाए । उनले सदनको नेता प्रधानमन्त्री भएपनि उनले सदनलाई बिर्सेर सदनबाट भाग्न खाजेको आरोप लगाए ।

उनले प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको एक साता हुँदा पनि सदनले भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको बताए । उनले प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेको भन्दै प्रधानमन्त्री पाँच दिनसम्म सदन आउन नसकेको बताए ।

उनले प्रधानमन्त्रीले सदनको न्युनतम गरिमा नराखेको भन्दै सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाउनु भयो । उनले राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश भ्रमण गएको विषयमा सदनलाई जानकारी गराउन माग गरे ।

प्रमुख सचेतक लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सदनका बोलेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरे । उनले गृहमन्त्री लामिछानेले केही समयअघि काँग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उल्लेख गरे ।

उनले सदनमा प्रधानमन्त्री नपाएर प्रतिपक्षले माग गरेका विषयमा जानकारी दिन तयारी गरेर एकैचोटी जवाफ दिन खोज्नुभएको हो ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री सदनमा नआएर जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? भन्ने अनुमान गर्नु पर्ने अवस्था आएको बताए ।

सचेतक लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङको माग गरे ।


क्लिकमान्डु