अस्ताए साढे ६ खर्ब रुपैयाँका मालिक रामोजी, जसले विश्वकै सबैभन्दा ठूलो फिल्मसिटी निर्माण गरे

उनको योगदान पत्रकारिता, साहित्य, शिक्षा, चलचित्र उद्यम, पर्यटन उद्यमलगायतका विभिन्न क्षेत्रमा



काठमाडौं । दक्षिण भारतको प्रख्यात चलचित्र निर्माता तथा व्यवसायी रामोजी रावको ८७ बर्षको उमेरमा शनिबार बिहानै निधन भएको छ ।

शनिबार विहान ४ बजेर ५० मिनेटमा उपचारको क्रममा रामोजी ग्रुपको फाउन्डर रावको निधन भएको हो ।

सिकिस्त विरामी भएका कारण यहि महिनाको ५ तारिखको दिन उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । रावले भारतको हैदराबादमा संसारकै सबैभन्दा ठूलो फिल्मसिटी निर्माण गरेका थिए । उनी भारतको सबैभन्दा ठूलो चलचित्र उद्योगीका साथै सञ्चार उद्यमीको रुपमा चिनिन्छन् ।

उनको योगदान पत्रकारिता, साहित्य, शिक्षा, चलचित्र उद्यम, पर्यटन उद्यमलगायतका विभिन्न क्षेत्रमा छ । उनको निधनप्रति भारतको कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीसहित, आन्ध्र प्रदेशको मुख्यमन्त्री, चलचित्र जगत, सञ्चार जगत, पर्यटन जगतले शोक व्यक्त गरेको छ ।

उनको असली नाम चेरुकुरी रामोजी थियो । सन् १९३६ नोभेम्वर १६ तारिखका दिन साधारण परिबारमा जन्मेका राव भारतको बिजनेस एम्पाएर, चलचित्र, सञ्चार, होस्पिट्यालिटी उद्योगमा निक्कै नाम कमाएका व्यक्ति थिए ।

६ खर्ब २६ अर्ब १५ करोड ७० लाख ४२ हजार नेपाली रुपैयाँबराबरको सम्पतीको मालिक रहेका रावको मासिक पारिश्रमिक ५५ लाख ४७ हजार नेपाली रुपैयाँ छ ।

उनको आम्दानीको स्रोत रामोजी फिल्मसिटी, टेलिभिजन च्यानल ईटीवी नेटवर्क, ईनाडु अखवार, डल्फिन ग्रुप अफ होटल्स, मार्गदर्शी चिटफंड, चलचित्र निर्माणलगायतका छन् ।

करियर र सम्मान

रामोजी रावको करियर फिल्म निर्माणबाटै सुरु भएको थियो । उनले सन् १९८४ मा चलचित्र निर्माण गर्न सुरु गरेका थिए । उनले निक्कै सुपर हिट चलचित्रहरु निर्माण गरेका थिए ।

जसमध्ये प्रतिघात, नुवीे कवाली, भेडी, थोडा तुम बदलो थोडा हमजस्ता दर्जनौं सुपरहिट चलचित्र उनले निर्माण गरेका थिए । सन् २००० मा उनले नुवी कवाली चलचित्रको लागि राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेका थिए भने सन् २०१६ मा उनलाई भारत सरकारको ओजपूर्ण पुरस्कार पद्म विभूषणबाट सम्मान गरिएको थियो ।

रामोजीको श्रीमतिको नाम रमादेवी छ । उनको दुई छोरामध्ये कान्छो छोरा चेरुकुरी सुमनको सन् २०१२ मा ल्युकेमियाका कारण मृत्यु भएको थियो । रामोजी रावको जेठो छोरा किरण प्रभाकरले बुबाको सम्पूर्ण उद्योगहरु हेर्दैआएका छन् ।

विश्वकै सबैभन्दा ठूलो रामोजी फिल्मसिटी

रामोजी राव हैदरावादमा निर्माण भएको रामोजी फिल्मको संस्थापकसमेत छन् । यो फिल्मसिटी विश्वकै सबैभन्दा ठूलो फिल्मसिटी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । यो फिल्म सिटी १ हजार ६ सय ६६ एकडमा फैलिएको छ । यो फिल्मसिटीमा ६० को दशकदेखि हालसम्म विभिन्न प्रकारका चलचित्रहरु छाँयाङन भइरहेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो फिल्मसिटी हेर्न विभिन्न मुलुकबाट दैनिक १ लाखभन्दा बढी सर्वसाधारण आउँछन् । हैदरावाद घुम्न जाने पर्यटक अनिवार्य रुपमा यो फिल्मसिटी हेर्न पुग्छन् । यो फिल्मसिटीको अवलोकन गर्न १ हजार ३ सय ५० भारतीय रुपैयाँको टिकट काट्नु पर्छ ।

ईटीवी नेटवर्क
ईटीवी नेटवर्क तेलुगु भाषामा समाचार र मनोरञ्जन प्रदान गर्ने टेलिभिजन च्यानलहरुको समूह हो । यसको अध्यक्ष पनि रामोजी नै हुन् । ईटीवीको विभिन्न च्यानलहरु छन् । जसमा ईटीवी तेलुगु, ईटीवी प्लस, ईटीवी सिनेमा, ईटीवी आन्द्र प्रदेश, ईटीवी तेलंगाना, ईटीवी अभिरुची, ईटीवी लाइफजस्ता प्रमुख टेलिभिजन च्यानलहरु सञ्चालनमा छन् । ईटीवी नेटवर्कमार्फत भारतको हरेक प्रदेशमा प्रादेशिक समाचारसम्बन्धी टेलिभिजन च्यानल प्रशारण भइरहेका छन् ।

ईनाडु दैनिक अखवार
रामोजी कुनै पनि अवसर आफ्नो हातबाट फुत्किन दिएनन् । जसले गर्दा सफलताले सधै उनलाई पछ्याई रह्यो ।
यसै क्रममा उनले सन् १९७४ को अगस्त १० मा भारतको विशाखापट्टनमको एउटा सानो गाउँ नक्कावनिपालेमबाट इनाडु नामबाट आफ्नै दैनिक अखवार(दैनिक पत्रिका) सुरु गरेका थिए । पछि यसको नाम परिवर्तन गरी ईनाडु राखिएको थियो ।
यो पत्रिका अहिले दक्षिण भारतकै सबैभन्दा ठूलो र लोकप्रिय दैनिक पत्रिका मानिन्छ ।

डाल्फिन ग्रुप अफ होटल्स
रामोजीको अर्को लगानी होस्पिट्यालिटी उद्योगमा पनि छ । उनले डल्फिन ग्रुप अफ होटल्सको नामबाट यो क्षेत्रमा हाम फालेका थिए । यसको स्थापना सन् १९७१ मार्च २ तारिखमा भएको थियो । त्यो वेला यो होटेल ४ तारे थियो । यस अन्तर्गत भारतको करिब एक दर्जन ठूला सहरमा डल्फिन होटलहरु सञ्चालनमा छन् ।

चलचित्र प्रोडक्सन
जो सँग सिङगै फिल्मसिटी हुन्छ, उसले चलचित्र निर्माण नै गर्दैन भने पत्याउन कठिन हुन्छ । यस्तै थिए, रामोजी । उनकाले उषाकिरण मूवीज नामको एउटा चलचित्र निर्माण गर्ने कम्पनी नै खोलेका थिए । यो कम्पनीले तेलुगु भाषामा दर्जनौं ब्लकबस्टर चलचित्र निर्माण गरेको थियो । -एजेन्सीको सहयोगमा


क्लिकमान्डु