चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरीसहित आफैंलाई आगो लगाए, दुई छोरीको आईसीयूमा उपचार हुँदै



काठमाडौं । काठमाडौंमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् ।

चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएको प्रहरीले जनाएको छ ।

सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेले जनाए ।
आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार भइरहेको छ । १६ वर्षीया छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडासमेत गरेको र घटना घटाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु