मनसुनजन्य विपद्‍बाट ८३ हजार परिवार प्रत्यक्ष प्रभावित हुनसक्ने, विपद् न्यूनीकरणको काम सुरु: गृहमन्त्री



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्युनिकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरेको जानकारी दिए । उनले पोष्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरु गर्ने बताए । उनले आजबाट सुरु हुनेगरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए ।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरुबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको पनि बताए । उनले सो रकमको सही परिचालन गर्न सकेमा राहत, उद्धारको काम नागरिकलाई महशुस हुनेगरी गर्न सकिने बताए ।

त्यस्तै, ७३ हजार ६७० क्वीन्टल चामल, ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याकेट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट, २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात रहेको पनि उनले जानकारी दिए । उनले नेपाली सेनाका १० हजार ८४७, नेपाल प्रहरीका १० हजार ५८५, सशस्त्र प्रहरी वल नेपालका १ हजार ९२४ तालिमप्राप्त जनशक्ति पनि विपद्का लागि तयारी अवस्थामा राखिएको बताए।

लामिछानेले यसो भने
मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्येक्ष प्रभावित हुनसक्ने । १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आँकलन छ । कार्यकारी समितिको बैठकबाट मनसुन सुरु भएदेखि अन्त्य नभएसम्मका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द व्यवस्थापन महाशाखाका सहसचिवका नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गर्ने निर्णय भएको छ । जसमा सबै सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरुले कार्य गर्नेछन् ।

कमाण्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिइ, जोखिमको आँकलन गरी, प्रभावका आधारमा पूर्वतयारी र विपद्का घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न, गराउनका लागि वानस्टप सेन्टरको रुपमा संयोजनकारी भुमिका खेल्नेछ । यसै पोष्टले विपद् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैरसरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा समेत समन्वय गर्नेछ ।

अन्य ठाउँमा समन्वय गर्नुपर्ने भए यसले आफैँले समन्वय गर्नेछ । यसलाई तत्काल कार्यान्वयनमा ल्याइएको छ । समन्वयको अभावले सामानहरु नजाने, पैसाको निकासी नहुने जस्ता कुराहरुबाट विगतमा भएका अनुभवहरुबाट सिकेर कमाण्ड पोष्टलाई पूर्ण अधिकार प्रदान गरिएको छ ।

कमाण्ड पोष्टले आवश्यक पर्दा प्रत्येक्ष रुपमा गृहमन्त्री, गृहसचिव र प्रधानमन्त्रीसँग समेत समन्वय गर्न सक्नेगरी अधिकारसम्पन्न बनाइएको कुरा जानकारी गराउन चाहान्छु । आजबाट सुरु हुने गरी २४ घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा यस्ता सुचनाहरु लिन, दिनका लागि तैनाथ राखिएको छ । र टोलि आजदेखि नै काम गरिरहेको सदनलाई जानकारी गराउन चाहन्छु ।

प्रधानमन्त्री दैवी सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरुबाट ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ अहिले मौज्दात रहेको कुरा सदनलाई जानकारी गराउन चाहन्छु । यसको सही परिचालन गर्न सकियो भने हामी नागरिकलाई राहत, उद्धारको कार्यमा तत्काल महशुस हुनेगरी काम गर्नसक्छौँ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु । १२ वटा बेलिब्रिज स्ट्याण्ड बाइ छ । देशका विभिन्न भागमा सडक खोल्नका लागि हेवी इक्युपमेन्टलाई तैनाथ राखिएको छ । यो सेन्टरले कल गर्न बित्तिकै तुरुन्तै अघि बढ्नेगरी तयार राखिएको छ । नेपाली सेनाको हेलिकप्टर तयार अवस्थामा राखेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग ७३ हजार ६७० क्वीन्टल चामल मौज्दात रहेको छ । विभिन्न गोदामहरुमा ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याकेट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट र २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात अवस्थामा तयारी हालतमा रहेको कुरा जानकारी गराउन चाहान्छु । मनसुनजन्य विपद्मा घटिनसक्ने जनशक्तिको कुरा गर्दा नेपाली सेनाका १० हजार ८४७, नेपाल प्रहरीका १० हजार ५८५, सशस्त्र प्रहरी वल नेपालका १ हजार ९२४ तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा रहेका छन् भने विपद्का समयमा सुरक्षा निकायका थप जनशक्ति पनि आवश्यकताअनुसार परिचालन हुनेगरी तैनाथ अवस्थामा रहेको कुरा जानकारी गराउन चाहन्छु ।


क्लिकमान्डु