अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल



म्याग्दी । म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् ।

एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पुनले बताए ।

अध्यक्ष पुनका अनुसार ४७ लाख ५० हजार चार सय ९६ को लागतमा पुल निर्माण भएको हो । ‘पुल निर्माणका लागि स्थानीयवासीले एक लाख १५ हजार दुई सय बराबरको ८५ दिन श्रमदान गरेका छन्’, उनले भने , ‘काम थालेको ८५ दिनमै पुल तयार गर्न सफल भएका छौँ ।’

पुलबाट बाँसखर्क, मल्लाज, डाँडाकेटरी, वनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएका स्थानीय नारायण पुनले बताए ।

बाँसखर्क डाँडाकेटेरी हुँदै मोहरेडाँडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले यो पुल उपयोगी भएको उनले बताए । पुल बनेपछि घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको र यात्रा अवधि छोटो भएका छ ।


क्लिकमान्डु