विभिन्न उद्योगमा साढे ४९ खर्ब रुपैयाँको लगानी स्वीकृत



काठमाडौं । सरकारले विभिन्न प्रकारका उद्योगमा गरी २०८० असारसम्ममा साढे ४९ खर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ ।

आर्थिक सर्वेक्षणअनुसार लगानी बोर्ड, उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका उद्योगको ४९ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँबराबरको लगानी स्वीकृत गरिएको हो ।

यसरी स्वीकृत कूल लगानीमध्ये उद्योग विभागमा दर्ता भएका उद्योगको कूल लगानी ५७.५ प्रतिशत रहेको पाइएको छ । त्यस्तै लगानी बोर्डमा दर्ता भएको उद्योगको २१.३ प्रतिशत र लघु, घरेलु तथा साना उद्योगको २१.२ प्रतिशत लगानी रहेको पाइएको हो ।

लगानी बोर्डबाट २०८० फागुनसम्म ठूला पूर्वाधार परियोजनामा १२ खर्ब ४९ अर्ब ९० करोड लगानी स्वीकृत भएको छ । यस्तै चालु आर्थिक बर्षको फागुनसम्म १ खर्ब ९८ अर्ब ८५ करोड लगानी स्वीकृत भएको छ । गत आर्थिक बर्षमा १ खर्ब ६७ अर्ब ५९ करोड लगानी स्वीकृत भएको आर्थिक सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ ।

२०८० असारसम्म घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका ७ लाख ५ हजार १ सय ३२ लघु, घरेलु तथा साना उद्योगमा १० खर्ब ४९ अर्ब ९ करोड लगानी स्वीकृत भएको छ ।

समितिमा दर्ता भएका उद्योगबाट २०८० असारसम्ममा ३६ लाख ७८ हजार ८ सय १२ जनाको लागि रोजगारीको अवसर सिर्जना भएको प्रक्षेषण गरिएको छ । यस्ता उद्योगमा प्रति उद्योग प्रस्तावित औसत रोजगारीको संख्या ५ रहेको छ ।

२०७९ असारसम्म ६ लाख ७३ हजार २ सय ४४ लघु, घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएर ३३ लाख ८५ हजार ५ सय ३ जनाको लागि रोजगारीको अवसर सिर्जना हुने सरकारले अनुमान गरेको थियो ।

उद्योग विभाग अन्तर्गत २०८० फागुनसम्म ९ हजार ३४४ उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १५.० प्रतिशत, २२.६ प्रतिशत र ६२.४ प्रतिशत रहेको पाइएको छ । यो अवधीसम्म स्वीकृत लगानी २९ खर्ब ९२ खर्ब ७० करोडमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः ८३.४ प्रतिशत, १०.१ प्रतिशत र ६.५ प्रतिशत रहेको छ ।

यस्ता उद्योगबाट २०८० फागुनसम्म ६ लाख ९८ हजार ५ सय १० जनाको लागि रोजगारीको अवसर सिर्जना भएको हुनसक्ने प्रक्षेपण सरकारले गरेको छ । फागुनसम्म दर्ता भएका उद्योग संख्याको आधारमा उत्पादनमूलक, सेवामूलक र पर्यटन उद्योगको हिस्सा क्रमशः ३७.३ प्रतिशत, २६.५ प्रतिशत र २२.५ प्रतिशत रहेको पाइएको छ । सबैभन्दा कम पूर्वाधारसम्बन्धी उद्योगको हिस्सा ०.८ प्रतिशत मात्रै छ ।

फागुनसम्मको लगानीको आधारमा उर्जामूलक उद्योगमा सबैभन्दा बढी ५७.४ प्रतिशत लगानी स्वीकृत भएको छ । उत्पादनमूलक उद्योगमा यस्तो लगानी २१. ३ प्रतिशत रहेको छ भने सबैभन्दा कम खरिज उद्योगमा ०.३ प्रतिशत रहेको छ ।

चालु आर्थिक बर्षको फागुनसम्म उद्योग विभागमा थप २५८ वटा उद्योग दर्ता भएर १ खर्ब ४४ अर्ब १८ करोड लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट १८ हजार १८३ जनाको लागि रोजगारीको अवसर सिर्जना हुने अनुमान गरिएको छ ।

गत आर्थिक बर्षको सोही अवधीमा १८३ वटा उद्योग दर्ता भएर १ खर्ब ५५ अर्ब १४ करोड रुपैयाँको लगानी स्वीकृत भएको थियो।

चालु आर्थिक बर्षको फागुनसम्म उद्योग विभागमा दर्ता भएका २५३ उद्योगमा २९ अर्ब १३ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत भएको छ । यो अघिल्लो आर्थिक बर्षको सोही अवधीको तुलनामा ४१.७ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको सोही अवधीमा १५९ उद्योगको लागि २० अर्ब ५६ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत भएको थियो ।

२०८० फागुनसम्म उद्योग विभागमा दर्ता भएका ६ हजार १११ उद्योगमा ४ खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत भएको थियो । यस्ता उद्योगको सञ्चालनबाट ३ लाख २२ हजार २ सय ६६ जनाको लागि रोजगारीको अवसर सिर्जना भएको हुनसक्ने प्रक्षेपण गरिएको छ ।

२०८० फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये उर्जामूलक क्षेत्रमा २७.३०, सेवा मूलक क्षेत्रमा २७.२४, पर्यटन क्षेत्रमा २२.४४ र उत्पादनमूलक क्षेत्रमा १५.६० प्रतिशत लगानी थियो । पूर्वाधार क्षेत्रमा सबैभन्दा कम लगानी स्वीकृत भएको थियो ।


क्लिकमान्डु