सांसद भण्डारीले गरे व्यवसायी गुरुङको प्रशंसा



“हामीले थुन्यौँ, हामीले हप्कायौँ, दप्कायौँ, अदालतबाट पनि उनले गुहार पाएनन् । उनैले एउटा हस्पिटल बनाउने भन्दा ४१ करोड दिँदै रहेछन् नि”

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले व्यवसायी मिनबहादुर गुरुङमाथि राज्यले अन्याय गरेको संकेत गर्दै उनको प्रशंसा गरेका छन् । सोमबार संसद्‍मा बजेटमाथि छलफलमा भाग लिँदै नेता भण्डारीले व्यवसायी गुरुङको प्रशंसा गरेका हुन् ।

व्यवसायी गुरुङले हस्पिटल बनाउने काममा ४१ करोड सहयोग गरेको प्रसंग कोट्याउँदै उनलाई सरकारले थुनामा राखेर नराम्रो गरेको टिप्पणी गरेका थिए । सांसद भण्डारीले भनेका छन्, “भाटभटेनीको एउटा साहु मीनबहादुरलाई हामीले थुन्यौँ, हामीले हप्कायौँ, हामीले दप्कायौँ, अदालतबाट पनि उनले गुहार पाएनन् । उनैले एउटा हस्पिटल बनाउने भन्दा ४१ करोड दिँदै रहेछन् नि ।”

जलन अस्पताल निर्माणको विषयमा धेरैलाई चिन्ता नभएको भन्दै उनले गुरुङ जस्ता व्यवसायीबाट सम्भव हुने संकेत गरेका थिए । सांसद भण्डारी ग्यास लिक हुँदा आगोले जलेर घाइते भएपछि लामो समय भारतमा उपचार गरेर फर्किएका थिए । त्यसयता उनले जलन अस्पताल निर्माणको विषय उठाउँदै आएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

ललितानिवास जग्गा प्रकरणमा व्यवसायी गुरुङलाई पक्राउ गर्दा उनी दोषी नरहेको भन्दै विभिन्न पेशाकर्मी तथा स्वतन्त्र व्यक्तिहरुले पनि आपत्ति जनाएका थिए ।


क्लिकमान्डु