विश्वप्रकाश शर्माले गृहमन्त्री लामिछानेलाई भने: कांग्रेसका दाजु, भाउजुमाथि गम्भीरतापूर्वक छानबिन गर्नुस्



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन् ।

बिहीवार नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसदको बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।

गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने उनको भनाइ छ ।

सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै शर्माले प्रश्न गरे । गृहमन्त्रीसँग देशको सूचना बेचेको प्रमाण छ आरोपीलाई पक्राउ गरी कारबाही गर्न उनले आग्रह गरे ।

भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न उनले गृहमन्त्रीलाई चुनौती दिए ।

कांग्रेसका कसको कसको छानबिन गर्ने हो गरे हुने तर गम्भीर रुपमा छानबिन हुनुपर्ने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले रवि दोषी देखिए आफूहरु राजनीति छोड्ने र कांग्रेसका कोही व्यक्ति दोषी देखिए कांग्रेसले राजनीति छोड्नुपर्ने चुनौति दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गरे ।

‘चलनचल्तीको भाषामा भन्दा दाजु,भाउजु, मामा, माइजु कांग्रेसको कोको माथि सभापति, उपसभापति, पदाधिकारी कोको ? कसको कसको छानबिन गर्नुछ नाम, थर, गोत्र, ससुराली, हातका शंख र चक्र सबै लेख्नुस् तर छानबिन गम्भीरतापूर्वक हुनपर्छ,’ उनले भने, ‘कुनै राजनीतिक दल यसरी उभिएर संसार सबैका सामुन्ने पार्टीका सबैको छानबिन गराउन तयार छु कोही भन्छ ?’


क्लिकमान्डु