कतार एयरको विमान नजिक हेलिकप्टर पुर्‍याएका पाइलट कारबाहीमा, ६ महिना ग्राउण्डेड



काठमाडौं । अवतरण गर्न लागेको कतार एयरलाइन्स नजिक हेलिकप्टर लगेर जोखिम निम्त्याउने हेलिकप्टरका पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिरकणले कारबाही गरेको छ ।

१८ वैशाखमा अवतरण गर्नै लागेको कतार एयरलाइन्सनको विमान नजिकै हेलिकप्टर पुर्याएका सिम्रिक एयरका पाइलट रानेश डंगोललाई हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कडा कारबाही गर्ने भएको छ ।

प्राधिकरणले सोही दिन (१८ वैशाख)देखि नै हेलिकप्टर उडाउन रोक लगाएको (ग्राउण्डेड) हेलिकप्टरका पाइलटलाई ६ महिनासम्म ग्राउण्डेड गर्ने भएको हो।

प्राधिकरणको एक अध्ययन समितिले डंगोलले लापरवाही गरेको र हवाई उड्डयनमा ठूलो जोखिम निम्तनसक्ने गरी हेलिकप्टर उडाएको भन्दै कारबाही गर्न प्राधिकरणका महानिर्देशकसमक्ष सिफारिश गरेको छ ।

प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयबाट हेलिकप्टरका पाइलट डंगोललाई हवाई उडानमा रोक लगाउनेगरी कडा कारबाही गर्ने भएको हो ।

प्राधिकरणका अनुसार लुक्लाबाट काठमाडौं आएको सिम्रिक एयरको हेलिकप्टर उक्त दिन त्रिभुवन विमानस्थलको हेलिप्याडमा अवतरण गर्नुपर्नेमा अवतरणै नगरी ललितपुरमाथिको आकाशमा पुगेको थियो । सोही समयमा कतार एयरलाइन्सको जहाज अवरण गर्दै गरेकोले उक्त हेलीसँग ठोक्किनबाट संयोगले बचेको थियो ।

कतार एयरलाइन्सको बोइङ ७८८ विमान अवतरण गर्न लाग्दा सिम्रिक एयरको बिथ्री हेलिकप्टरसँग ठोक्किनबाट जोगिएको थियो । करिब ३२० किलोमिटर प्रतिघण्टा भन्दा बढीको रफ्तारमा उडिरहेको कतार एयरको विमान नजिक सिम्रिक एयरको हेलिकप्टर पुगेपछि ट्राफिक एलर्ट एन्ड कोलिजन एभोइडेन्स सिस्टम (टिकास) ले ट्राफिक एडभाइजरी (टीए) जारी गर्दै कतार एयरलाइन्सका पाइलटलाई सचेत गराएको थियो ।

टिकासले टिए जारी गर्दा कतार र सिम्रिक एयरको होरिजेन्टल दूरी करिब २ माइल तथा भर्टिकल दूरी करिब २०० फिट मात्रै भएको उल्लेख छ ।

उक्त हेलिका कारण कतारको जहाज अवरणका क्रममा ठूलो दुर्घटनामा पर्ने अवस्था भए पनि टरेको थियो ।

जहाजका पाइलटले संयमित हुँदै विमान अवरण गरेको कारण सम्भावित दुर्घटना टरेको अध्ययन समितिको निष्कर्ष छ ।

प्राधिकरणका अनुसार लुक्लाबाट काठमाडौं उडेको ९ एन एएलपी नम्बरको सिम्रिक एयरको हेलिकप्टर एरिया कन्ट्रोलबाट टावरलाई कुनै जानकारी नदिई एप्रोच क्षेत्र (हेलिकप्टर वा विमान अवतरण गर्ने सुरु गर्ने ठाउँमा) पुगेर टावरलाई जानकारी गराउँदा समस्या भएको थियो ।

हेलिकप्टर पाइलट रानेश ढंगोलले यसअघि पनि पोखराबाट उडाएको हेलिकप्टर स्याङ्जाको फुटबल मैदानमा खेल भइरहेको बेला अवतरण गरेर विवादमा आएका थिए । त्यतिबेला उनले कुटाइ पनि खाएका थिए भने उड्डयन प्राधिकरणले ३ महिनासम्म ग्राउण्डेड गरेको थियो । त्यसपछि उनी प्रभु हेलिकप्टर छोडेर सिम्रिक आएका थिए ।

सचेतना अपनाएरै सुरक्षित अवतरण गर्न सफल भए: हेलिकप्टर पाइलट डंगोल

बाक्लो हुस्सुसँगै रेडियो फ्रिक्वेन्सीले काम नगर्दा समस्या भएको सिम्रिकका पाइल रानेश डंगोलले बताएका छन् । डंगोलका अनुसार, ‘मैले उडाइरहेको हेलिकप्टरमा संयोगबस नै भन्नुपर्छ त्यतिबेलै रेडियो कम्युनिकेसनमा समस्या आएको थियो । जसका कारण मैले बोलेको टावरले नसुन्ने र टावरको आवाज मैले नसुन्ने भएको थियो ।’

डंगल काठमाडौं आइपुग्दा बिहानको करिब साढे १० बजेको समय थियो । बाक्लो हुस्सु लागेकै कारण बाहिरको दृश्य नदेखिने भइसकेकोले विस्तारै बागमती नदीलाई पछ्याउँदै लोअर डिस्टेन्सबाट आइएको जानकारी डंगोलले दिए । उनका अनुसार १० नटिकल माइलबाटै क्लियरेन्स माग्नुपर्ने हुन्छ । ‘मैले क्लियरेन्स लिन पटक पटक प्रयास गर्दा गर्दा हेलिकप्टरमा ७० केजी मात्रै इन्धन बाँकी भइसकेको थिए । ४८ केजीको इन्धनमा लो वार्निङ फ्युलको संकेत आउने भएकोले पनि मलाई छिटो अवतरण गराउनुपर्ने चुनौति थियो ।’ डंगोलले उडाएको हेलिकप्टरमा त्यतिबेला कनेक्टिङ फ्लाईटका ५ यात्रु विदेशी यात्रु थिए ।

डंगोल भन्छन्, ‘६० केजी फ्युल बाँकी हुँदा अवतरण गर्न सकिएको हो । विमानस्थल कार्यालयले भनेजस्तै कतार एयरलाइन्सको जहाज आएको मैले देखि नै रहेको थिए ।’ उक्त जहाज ७ हजार ५ सय मिटर माथि भएको र हेलिप्टर ४ हजार फिट भन्दा माथि थिएन ।’

ठूला जहाजमा वरिपरि अरु जहाज देख्ने वित्तिकै ट्राफिक एलर्ट एन्ड कोलिजन एभोइडेन्स सिस्टम (टिकास)ले संकेत गर्ने हुन्छ । जहाजलाई टिकासले अलर्ट गराइरहेको थियो । डंगोल भन्छन्, ‘बाहिर केही नदेखि अवतरण गर्न सक्ने अवस्था भएन । काठमाडौबाट फाप्लुपास हुँदै लुक्ला पुगेर आउँदै मौसम बिग्रन लागिसकोले छिटो छिटो गरेर फर्किएको थिए । साउथतर्फ मौसम राम्रो होला भन्ने अपेक्षा गरेर आएको हो । साउथ इस्ट भएको रिपोर्ट गरेर आएको हो ।’

त्यतिबेला एउटा रेडियोले मात्र काम गरेको र त्यसैका आधारमा वागमती नदी फलो गर्दै आएको पनि डंगोलले स्वीकार गरे । उनलले भने ‘त्यतिबेला मलाई टावरले टुजेरो डीएमई एड्भाईस भएको थियो । मैले टावरलाई बोलाउँदा नसुनको कारण त्यतिबेलै मैले वान टु डीएमई साउथमा भएको र त्यसको जानकारी बुद्ध एयरलाई दिएर हेलिको पोजिसन टावरलाई दिने अनुरोध गरेको थिए ।’

डंगोलले भनेका छन्, ‘लिला पापा कलसाइनको उक्त हेलिको थियो । त्यतिबेला बुद्धको पाइलटलाई पनि मैले हेलिकप्टरको अवस्थाको जानकारी गराएर उक्त सूचना टावरलाई दिन आग्रह गरेको थिए ।’ उनले थपे ‘मैले पनि सचेतना अपनाउँदै आएको थिए । बाहिर नदिखिने गरी तल झर्न नहुने भएकोले मैले कतारको जहाज देखिरहेकोले उक्त जहाज अवतरणपछि मात्रै मेरो हेलिकप्टर अवतरण भएको हो ।’ उनले आफूले सुरक्षित हेलकप्टर अवतरण गराएको र टावरसँगको भएकै समस्यामा आफूलाई उडानमा रोक लगाउने प्राधिकरणको निर्णय मान्य हुँदैन ।


क्लिकमान्डु