ह्‍विलिङ चार्ज तिरेर ग्रीड कम्पनीको प्रसारणलाइनमार्फत एनएचपीसीले बिजुली भारत लैजाने, सोमबार एमओयु



काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बनाएको प्रसारणलाइनबाट बिजुली लैजान भारतीय कम्पनी एनएचपीसी लिमिटेड सहमत भएको छ ।

पश्चिम सेती र सेती नदी-६ बाट उत्पादन हुन बिजुली सरकारी कम्पनीले बनाएको प्रसारणलाइन प्रयोग गर्न एनएचपीसी तयार भएको हो । सोमबार ग्रीड कम्पनी लिमिटेड र एनएचपीसी बीच एमओयु गर्ने तयारी छ । सोल्टी होटलमा साँझ ५ बजे एमओयु गर्ने कार्यक्रम तय भएको कम्पनीका एक अधिकारीले बताए ।

यी दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयु भएको छ । पश्चिम सेती ७५० मेगावाट र सेती नदी-६ (एसआर-६) ४५० मेगावाट जडित क्षमता भएको आयोजना हो ।  सुरुमा एनएचपीसी लिमिटेडले डेडिकेटेड प्रसारणलाइन बनाएर बिजुली लैजाने योजनामा थियो । तर पछि आयोजना नजिकैबाट ग्रीड कम्पनीले प्रसारणलाइन बनाइरहेकाले त्यहिबाट लैजान तयार भएको  हो । ग्रीड कम्पनीले प्रस्ताव समेत गरेको थियो ।

सेती नदी-६ कर्णाली करिडोर ४०० केभी प्रसारणलाइनको बेतन सबस्टेसनमा जोडिनेछ भने पश्चिम सेती सेती करिडोर ४०० केभी प्रसारणलाइनको वनलेक सबस्टेसनमा जोडिनेछ । एनएचपीसीले दोधारा-बरेली ४०० केभी प्रसारणलाइन मार्फत भारत बिजुली लैजानेछ । यी दुवै प्रसारणलाइन प्रयोग गरेबापत कम्पनीले ह्‍विलिङ चार्ज तिर्नेछ ।

सतलज जलविद्युत निगम (एसजेभीएन) ले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । करिब एक वर्षमा उत्पादन गर्ने तयारीका साथ काम भइरहेको छ । यो आयोजनाबाट उत्पादन हुने बिजुली लैजान कम्पनीले आफैं डेडिकेटेड प्रसारणलाइन निर्माण गरिरहेको छ । डिंडिङ-ढल्केबर-बथनाहा ४०० केभी प्रसारणलाइन मार्फत बिजुली लैजानेछ ।

२०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत् आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिने गरी सम्झौता भएको थियो । पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना हो । जसको लागत करिब २ खर्ब रुपैयाँ अनुमान गरिएको छ । सेती नदी-६ अछाम र डोटीमा निर्माण हुनेछ ।

प्रस्तावित सेती करिडोर प्रसारणलाइन निर्माण हुने स्थल

एनएचपीसी लिमिटेडले सर्वेको अनुमति पाएको छ । दुई वर्षभित्र कम्पनीले विस्तृत अध्ययन प्रतिवेदन बुझाइसक्नुपर्नेछ ।

कर्णाली करिडोर प्रसारणलाइन भारतीय कम्पनी कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले निर्माणको जिम्मा पाएको छ । करिब साढे ७ अर्ब रुपैयाँमा पाएको ठेक्का ४८ महिनामा सक्नुपर्नेछ । २०७९ फागुनमा नै ठेक्का पाएको हो । यो प्रसारणलाइनले २२०० मेगावाट विद्युत प्रसारण गर्न सक्छ ।

यो प्रसारणलाइन कालिकोटको मान्माबाट सुरु भएर अछाम,सुर्खेत हुदै दोधारा पुग्नेछ । यो करिब ८० किलोमिटरको हुनेछ ।

सेती करिडोर प्रसारणलाइन अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । १८ अर्ब रुपैयाँ अनुमान गरिएको यो प्रसारणलाइन १५६ किलोमिटरको हुनेछ । चैनपुरदेखि डोटीको वनलेक हुदै दोधारासम्म पुग्नेछ । यो प्रसारणलाइन अन्तर्गत चैनपुर र वनलेकमा सबस्टेसन समेत निर्माण हुनेछ ।

यो आयोजनामा लगानीका लागि भारतको एक्जिम बैंक इच्छुक देखिएको छ ।


क्लिकमान्डु