५ अर्ब ६८ करोडमा माथिल्लो मोदी ‘ए’ को ठेक्का सम्झौता, २ महिनापछि निर्माण सुरु हुने



काठमाडौं । ४२ मेगावाट जडित क्षमता भएको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

बुधबार आयोजनाको प्रवर्द्धक मोदी जलविद्युत कम्पनी लिमिटेड र सिचुआन सुईतान कन्स्ट्रक्सन इन्जिनियरिङ जनरल कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड (एसएससीई)  र हाई हिमालयन कन्स्ट्रक्सनको सयुक्त जेभीबीच सम्झौता भएको हो ।

यो जेभीको लिड पार्टनर हाई हिमालय हाइड्रो हो । जुन नेपाली कम्पनी हो । मोदी जलविद्युत कम्पनी प्रबन्ध निर्देशक सूर्य पौडेलले ठेक्का सम्झौता भएको बताए । उनका अनुसार आगामी २ महिनापछि निर्माण सुरु हुनेछ । ४ वर्षमा व्यवसायिक उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए ।

कम्पनीले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का पाएको हो । असार ३१ गते निकालेको ठेक्का मा आवेदन दिएकामध्ये प्राविधिक प्रस्तावमा तीनवटा कम्पनी पास भएका थिए । जीआईसीजीएल/आरसीसी जेभी र र सिनो हाइड्रो/साई जेभी प्राविधिक प्रस्तावमा पास भएका थिए । ती मध्ये सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाएको हो ।  

प्रस्तावित आयोजनाको सबै खालको अध्ययन कम्पनीले गरिसकेको छ । यो आयोजना संरक्षित क्षेत्रमा पर्छ । ५.९५ किमी सुरुङमार्ग निर्माण गर्नुपर्ने आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको हुनेछ ।

गएको पुस २३ गते फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) लागिसकेको छ । एनएमबी बैंकले ४ अर्ब ४० करोड रुपैयाँसहित कन्सोर्टियम फर्मको लिड गरेको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ ।

यो आयोजना निर्माणका लागि १० अर्ब ५७ करोड रुपैयाँ लाग्ने अनुमान छ । प्रस्तावित जलविद्युत् आयोजना काँस्कीको अन्नपूर्ण गाउँपालिकाको मोदी खोलामा निर्माण हुनेछ । घान्द्रुक नजिकै स्याउली बजारमा पावर हाउस (विद्युत गृह) निर्माण हुनेछ ।

आयोजनालाई आवश्यक करिब ९५ प्रतिशत जग्गा अधिग्रहण भइसकेको छ । ५ प्रतिशत अधिग्रहण हुन सकेको छैन । जग्गा रहेका स्थानीय बेलायतमा  रहेकाले अधिग्रहण हुन नसकेको हो । आयोजनासम्म पुग्न पहुँचमार्ग निर्माण भएको छ । हेडवर्क्स पुग्नका लागि सडक निर्माण भइरहेको छ ।

यो आयोजना निर्माण थालेको ४ वर्षमा व्यवसायिक उत्पादन थाल्ने लक्ष्य लिइएको छ ।

इन्जिनियरिङ, प्रोक्युरेमेन्ट एण्ड कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का लगाईएको छ । यस्तो मोडलमा निर्माण कम्पनी बढी जिम्मेवार हुनेछ ।डिजाइनदेखि खरिद हुँदै कन्स्ट्रक्सनको काम कम्पनी आफैले गर्नुपर्छ । यो आयोजनाबाट उत्पादित विद्युत ११ किलोमिटर प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको मोदी सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

यो कम्पनीले १८.२ मेगावाटको अप्पर मोदी पनि निर्माण गर्न लागेको छ ।  यो आयोजनामा पनि एनएमबी बैक र एचआईडीसीएलले लगानी गर्ने प्रारम्भिक तयारी भएको छ । यो अप्पर मोदी ‘ए’ को क्यासकेड हुनेछ । मोदी नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी हो ।


क्लिकमान्डु