पल्सरसहितका बाइक बेच्ने शेखर गोल्छाका दुई कम्पनीले ८ महिनामा गरे साढे १० अर्बको व्यापार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको सवारी साधन बेच्ने दुई कम्पनीले ८ महिनाको अवधिमा साढे १० अर्बको व्यापार गरेको छन् । उत्पादन तथा आयात गरी बिक्री वितरण गर्दै आएका गोल्छाका दुई कम्पनीले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा १० अर्ब ४३ करोड ५० लाख रुपैयाँको व्यापार गरेका हुन् ।

गोल्छा अर्गनाइजेशनद्वारा सञ्चालित हंसराज हुलासचन्द कम्पनी प्रालि र हुलास अटो क्राफ्ट प्रालिले चालु आवको ८ महिनाको अवधिमा करिब साढे १० अर्बको व्यापार गरेको हुन् ।

बजाज ब्राण्डको दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, केटीएम ब्राण्डको दुई पाङ्ग्रे सवारी साधन र सर्भो लुब्रिक्यान्ट बेच्दै आएको हंसराज हुलासचन्द कम्पनीले चालु आवको ८ महिनाको अवधिमा ७ अर्ब २० करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ भने सोही अवधिमा बजाज ब्राण्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको एसेम्बलिङ गर्ने कम्पनीले ३ अर्ब २३ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

नेपाली बजारमा बजाज ब्राण्डको दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र केटीएम ब्राण्डको सवारी साधन बिक्री गर्दै आएको हंसराज कम्पनीले सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२मा २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा २५ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२० मा १६ अर्ब ७१ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२३ मा ५० प्रतिशतले व्यापार कम भएको कम्पनीले जनाएको छ ।

चालु आवको ८ महिनाको अवधिमा गत वर्षको तुलनामा १ प्रतिशतले कम व्यापार भएको उल्लेख छ । त्यसैगरी चालु आवमा नाफामा पनि कमी आएको कम्पनीले जनाएको छ । चालु आवको ८ महिनाको अवधिमा कम्पनीले ५.६ प्रतिशत नाफा कमाएको छ ।

सन् १९५९ मा स्थापना भएको कम्पनी काठमाडौंमा छ । दुईवटा शोरुम र देशभर ३०१ वटा प्रादेशिक डिलरसीप छ । कम्पनीमा १९ जना सदस्यको स्वामित्व छ । जसमा सबैभन्दा बढी सेयर शेखर गोल्छाको छ । गोल्छाको मात्रै कम्पनीमा ५३.८ प्रतिशत हिस्सा छ । त्यस्तै कम्पनीका अन्य सदस्यको कम्पनीमा ३.७५ प्रतिशत हिस्सा छ । शेखर गोल्छा अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब ९३ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ ।

सन् १९९८ देखि नेपालको एक मात्र बजाज ब्राण्डको दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता रहेको कम्पनीले बाइक सेग्मेन्टमा नेपाली बजारको ४३ प्रतिशत हिस्सा ओगटेको छ । देशभर ३०३ वटा बिक्री शाखा रहेको कम्पनीले व्यापार गर्दै आएको तीन पाङ्ग्रे सवारी साधन सेग्मेन्टमा नेपाली बजारको ४९ प्रतिशत हिस्सा ओगटेको छ ।

चालु आवमा कम्पनीले ८ महिनाको अवधिमा ७ अर्बको व्यापार गर्दा पल्सर ब्राण्डको मोटरसाइकालको मात्रै ६२ प्रतिशत हिस्सा रहेको छ ।

त्यसैगरी नेपालमै बजाज ब्राण्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको एसेम्बल गर्दै बिक्री वितरण गर्दै आएको हुलास क्राफ्टले सन् २०२३ मा ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२२ मा १० अर्ब ७४ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा १२ अर्ब ७१ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । तथ्यांक हेर्दा कम्पनीको व्यापार हरेक वर्ष घट्दै गएको पाइन्छ । कम्पनीअनुसार चालु आवको ८ महिनाको अवधिमा पनि गत आवको सोही अवधिको तुलनामा १० प्रतिशतले व्यापार कम भएको उल्लेख छ ।

कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ४८ प्रतिशतले कम भएको थियो । नेपालमा पहिलो पटक दुई पाङ्ग्रे सवारी साधनको एसेम्बल प्लान्ट निर्माण गरी उत्पादन सुरु गरेको कम्पनीले सन् २०१८ देखि व्यवसायिका कारोबार सुरु गरेको थियो । तीन पाङ्ग्रे सवारी साधनको भने सन् २०१९ बाट व्यवसायिक कारोबार सुरु गरेको थियो ।

कम्पनीमा शेखर गोल्छाको ८० प्रतिशत र आकाश गोल्छाको २० प्रतिशत स्वामित्व छ । सन् २०१३ मा स्थापना भएको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब ४८ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु