एनजीओको सहयोगमा अर्थसमितिको विवादित ‘बजेट बहस’



एनजीओको सहयोगमा भक्तपुरको होटेलमा बजेटपूर्व छलफल चलाइएपछि यस्तो छलफल चलाइयो भन्दै केही सांसदले आपत्ति जनाए ।

काठमाडौं । संघीय संसदको दुवै सदनबाट बजेटपूर्वको छलफल सकिएपछि अर्थ समितिले सोही विषयमा होटलमा आवासीय छलफल चलाएको छ । संघीय संसदको दुवै सदनले बजेटपूर्व छलफल सम्पन्न गरिसकेपछि पनि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले फेरि त्यसमाथि छलफल सुरु गरेको हो ।

एनडीआई नामको गैरसरकारी संस्थाको सहयोगमा भक्तपुरको नगरकोटस्थित होटल मिस्टिकमा दुईदिने आवासीय कार्यक्रम गरेर समितिले पूर्वबजेट माथिको छलफल गरेको हो । विज्ञहरु समेत सम्मिलित बैठकमा पूर्वबजेटको महत्व, प्रक्रिया, सर्वेक्षण प्रश्नावली बनाउनेबारे समिति सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो । बजेटपूर्वको छलफल सकिएपछि गैरसरकारी संस्थाको सहयोगमा होटलमा पुनः सोही विषयमा छलफल आयोजना गरिएकोप्रति समिति सदस्यहरु स्वयंमले आपत्ति जनाएका छन् ।

समितिका सदस्य ज्ञानबहादुर शाहीले दातृ निकायको सहयोगमा होटलमा समितिको बैठक बोलाउनु उचित नभएको भन्दै आपत्ति जनाएका छन् । सभापतिले बैठक आह्वान गरेपछि जानुपर्ने आफ्नो कर्तव्य भएको भए पनि नीति निर्माण गर्ने थलोमा सहयोगको नाममा दातृ निकायलाई प्रवेश गराउन नहुनेबारे सभापति र सभामुखको ध्यानाकर्षण गराउँदै आएको बताए ।

समितिका सदस्य शाहीले भने, ‘विशेष गरेर समितिको सभापतिले यो कुरा सोच्नुपर्ने हो । किनभने कहाँ बैठक बसाल्ने, किन बसाल्ने, केका लागि बसाल्ने ? मैले त त्यो दिन अस्ति बैठकमा पनि भनेँ–यसरी दातृ निकायको सहयोगमा तपाईँहरुले यो बैठक बसाल्नु उचित होइन । किनभने संसद भनेको सार्वभौम हो । यो सार्वभौममा एनजीओको पैसा ल्याएर समितिका बैठकहरु नचलाउँ भन्ने विषयवस्तुमा अस्ति पनि मैले कुरा राखेको छु समितिमा ।’

समितिले वैशाख २३ र २४ गते नगरकोटस्थित होटल मिस्टिकमा विज्ञसहित पूर्वबजेटमाथि छलफल गरेको थियो । सोही कार्यक्रमको बीचमा नै समितिको औपचारिक बैठक पनि बसेको छ । बैठकले २६ गते (भोलि) र वैशाख २७ गते (पर्सी) क्रमशः होटल हिमालयन र होटल सोल्टीमा उस्तै प्रकृतिको छलफल गर्दैछ । होटलमा बसेको समितिको बैठकले सोही गैरसरकारी संस्थाको सहयोगमा २६ र २७ गते पूर्वबजेटको तयारी र योजनामाथि छलफल चलाउने निर्णय गरेको हो ।

हिउँदे अधिवेशनमा नै संघीय संसदको दुवै सभाबाट बजेट पूर्वछलफल भएर त्यसको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाइसकिएको छ । अर्थ समितिले होटलहरुमा निरन्तर सञ्चालन गरिरहेको बजेट पूर्वका छलफलका कार्यक्रमहरुको सम्बन्धमा भने संसद सचिवाल बेखबर छ । प्रवक्ता एकराम गिरीले हिउँदे अधिवेशनमा नै संघीय संसदको दुवै सभाबाट बजेटपूर्वको छलफल सकिएर सो सम्बन्धि प्रतिवेदन सम्बन्धित निकायमा पठाइसकिएको र अर्थ समितिले हाल गरिरहेको कार्यक्रमबारे जानकारी नभएको बताए।

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन भएको थियो अध्यादेशमार्फत । उक्त संशोधनमा बजेट अधिवेशन भन्दा अगाडि नै बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरेर सुझाव सरकारलाई दिइसक्नुपर्ने भन्ने व्यवस्था छ । सोही बमोजिम अघिल्लो अधिवेशनमानै संघीय संसदको दुवै सभाबाट बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलको प्रतिवेदन सम्बन्धित निकायमा पठाइसकिएको छ । अब यो अधिवेशनमा छलफल हुँदैन । यहाँले जुन प्रश्न राख्नुभएको छ–कुनै समितिले अहिले प्रि बजेट डिस्कसन गर्दैछ भनेर । त्यो के भएको हो ? मैले चाहीँ बुझनुपर्छ । मैले भर्खरै थाहा पाएँ,’ प्रवक्ता एकराम गिरीले भने ।

संघीय संसद कार्यसञ्चालन नियमावलीमा ससद भवन बाहिर होटलमा समितिको बैठक गर्नुपर्ने अवस्थामा सभामुखको पूर्वस्वीकृति लिनुपर्ने प्रावधान छ । तर अर्थ समितिको सो कार्यक्रमबारे संघीय संसद सचिवालय नै बेखबर छ ।

यसैबीच, अर्थ समिति सचिव रेखा उपाध्याय (खनाल) ले विगतमा पनि अर्थ समितिले यस्ता छलफलहरु चलाएर प्रतिवेदन प्रस्तुत गर्दै आएकाले त्यसैको निरन्तरता भएको दाबी गरिन् । उनले सरोकारवाला निकायसँग छलफल गरेर सरकारलाई सुझाव दिन पाउने कुरा स्वभाविकै हुने बताइन् ।

सचिव उपाध्यायले भनिन्,‘अर्थ समिति प्रत्यक्ष सरोकार राख्ने समिति भएकाले विभिन्न सरोकारवालासँग छलफल गरेर उनीहरुको भनाइ समेत राखेर प्रतिवेदन बुझाउने गरिएको छ । हामीले २०७६, २०७७, २०७८ देखि निरन्तर यस्ता छलफलहरु चलाएर प्रतिवेदन प्रस्तुत गर्ने गरेका छौं । सभाका टिपोट भन्दा यो समितिको प्रतिवेदन भिन्न हुन्छ ।’

नगरकोटस्थित होटल मिस्टीकमा वैशाख २३ र २४ गते पूर्वबजेट माथिको छलफल गरेको समितिले गैरसरकारी संस्थाकै सहयोगमा २६ र २७ सोही विषयमा छलफल गर्न लागेको हो । संसद सचिवालयले हरेक बर्ष बजेटपूर्वको छलफलका लागि निश्चित बजेट विनियोजन गरेको हुन्छ । तर समितिहरुले यस सम्बन्धी छलफलमा गैरसरकारी संस्थाको सहयोग लिँदै आएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले पनि यस्तै छलफल सम्पन्न गरिसकेको छ ।


क्लिकमान्डु