कालोसूचीमा पर्नेसँग नाम मिल्दा बैंक खाता खोल्न सकस, तीनपुस्ते विवरण नराख्नु बैंकको कमजोरी



काठमाडौं । तीन साताअघि एडभोकेट सोसाइटी नेपाल ‘क’ वर्गको एक वाणिज्य बैंकका खाता खोल्न पुग्यो ।

अर्जुनप्रसाद ढकाल अध्यक्ष रहेको उक्त सोसाइटीमा रहेका ९ जना कार्यसमिति सदस्य मध्ये महासचिव अनिल आचार्य, सदस्यद्वय सुनिल श्रेष्ठ र हेमराज भट्टराईको नाममा संस्थाको खाता खोल्ने निर्णय गरेर बैंक गएका थिए ।

संस्थाको निर्णयसहितको आवश्यक सबै कागजात लिएर बैंक पुगेका तीनै जना कालोसूचीमा परेको भन्दै बैंकले खाता खोल्न मानेन । यी तीन जनामध्ये अनिल आचार्यले बैंकको लकर फोडेको, सुनिल श्रेष्ठ लागू औषधको कारोबारी भएको र हेमराज भेट्टाराईले भ्रष्टाचारजन्य कसुर भन्दै कालोसूचीमा राखेको भेटियो । खाता खोल्न भएका तीनै जना व्यवसायिक अधिवक्त हुन् ।

तीनैजनाको नाम कालोसूचीमा परेको भन्दै बैंकले खाता खोल्न नमानेपछि पेशाको जानकारी दिए, परिचयपत्र देखाए, सम्बन्धित शाखा प्रमुखसँग भेटेर गुनासो गरे तर बैंकले खाता खोल्न मानेन ।

नाम जुधेकै कारण बैंकले खाता खोल्न नमानेको, तीन पुस्ते विवरण वा परिचयपत्र नागरिकता नम्बरसमेत नराखेको भन्दै असन्तुष्ट भएका अधिवक्ताहरुले कानुनी लडाइँ लड्ने चेतावनी दिएर फर्किए ।

बैंकको कालोसूचीमा रहेकासँगको नाम मिलेकै कारण खाता खोल्न रोकिएको भन्दै असन्तुष्ट अभिवक्ता तीनै जनालाई बैंकले व्यक्तिगत रुपमा चिन्ने व्यक्तिसमेत हुँदा पनि फिर्ता पठाएको एड्भोकेसी सोसाईटीका महासचिव अनिल आचार्यले बताए ।

बैंकका कर्मचारीले आफूहरुलाई व्यक्तिगत रुपमा चिन्ने भए पनि उक्त बैंकमा खाता सञ्चालन गरेर व्यवसाय गरिरहेका व्यक्तिहरु कालोसूचीमा रहँदा नाम मिलेकै कारण खाता खोल्नबाट बञ्चित गराउन खोजिएको उनले बताए ।

‘हामी तीनैजना अधिवक्ता भएकोले बैंकका कर्मचारी हाम्रो पक्षमा त लागे तर राष्ट्र बैंकको सिस्टम भने हाम्रो पक्षमा नभएकोले कानुनी लडाइँको विकल्प छैन’, आचार्यले भने, ‘अहिले हामी जाने बुझेका व्यक्तिलाई त दुःख दियो भने आम सर्वसाधारणको हकमा बैंकको सिस्टलाई सुधार गर्नुपर्ने आवश्यकता देखियो ।’

आचार्यका अनुसार बैंकले सोसाईटीमै कर्मचारी पठाएर आवश्यक छलफल र लामो बहसपछि कालोसूचीमा नाम मिलेको व्यक्ति आफूहरु होइन भन्ने प्रतिवद्धता लेखेपछि खाता खोल्ने बाटो खुला गरिदियो । यो सबै प्रकृया पुर्‍याएर खाता खोल्न एक साता लागेको उनले बताए ।

‘केही बेरमा हुने कामका लागि अनावश्यक रुपमा एक हप्ता लाग्यो,’ उनले भने।

बैंकले भने राष्ट्र बैंककै सिस्टमका कारण कालोसूचीमा हुनेसँग नाम मिल्दा खाता खोल्न नसकिएको बताएको छ ।
‘राष्ट्र बैंकको नियमका कारण कालोसूचीमा हुनेसँग नाम मिल्दा खाता खोल्न समस्या भएको हो,’ उनले भने, ‘हामी आवश्यक जाँच गरेर खाता खोल्न दिएका छौं ।’

बैंकले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण वा परिचयपत्र नराखि नाम मात्रै राखेका कारण सर्वसाधारणले दुःख र तनाव व्यवहोर्नु परेको हो ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेल नाम मिलेकै आधारमा खाता खोल्नबाट बञ्चित हुनुपर्ने अवस्था नभएको र कालोसूचीको विवरणमा तीन पुस्ते नै हुनुपर्ने बताउँछन् ।

सम्बन्धित बैंकले तीन पुस्ते विवरण, नागरिकता चेक गरेर मात्रै ग्राहकलाई फिर्ता पठाउनुपर्ने उनले बताए । राष्ट्र बैंकको कारण निर्दोष नेपालीले दुःख पाउने वा खाता खोल्नै नपाउने भन्ने नहुने उनको तर्क छ ।

कालोसूचीमा राख्ने काम कर्जा सूचना केन्द्रको भएको र उक्त संस्थाले कालोसूचीमा राखेकोको विवरण हेरेर मात्रै खाता खोल्ने काम हुने उनले बताए ।

कर्जा सूचना केन्द्रका अनुसार हालसम्म ८२ हजार ७०८ नेपाली कालोसूचीमा छन् । यसमध्ये २०७८/१/२२ देखि २०७९ /१/२१ सम्ममा ८ हजार ३८२ जना कालोसूचीमा परेका छन् ।

गत वर्ष २०७९ वैशाख २२ देखि २०८० वैशाख २१ सम्मको एक वर्षमा २१ हजार ६५० जना कालोसूचीमा परेको थिए । २०८० वैशाख २२ देखि २०८१ वैशाख २१ समम्मको पछिल्लो एक वर्षमा भने कालोसूचीमा पर्नेहरुको संख्या अस्वभाविक रुपमा बढेर ३९ हजार ३६५ पुगेको छन् ।

कर्जा सूचना केन्द्रले बैंकको ऋण चुक्ता नगर्ने, चेक बाउन्समा पर्नेसहितलाई कालोसूचीमा राख्ने गरेको छ ।


राजु बास्कोटा