त्रिभुवन विमानस्थल भाडामा दिएर निजगढ बनाउनुपर्ने, भायबिलिटी ग्याप फन्डिङको व्यवस्था गर्न सुझाव



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भाडामा दिएर त्यही पैसाले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुरु गर्नुपर्ने सुझाव एक अध्ययन समितिले सरकारलाई दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निश्चित अवधिको लागि भाडामा दिने र त्यसबाट अग्रिम रुपमा लिएको भाडाको पैसालाई निजगढ विमानस्थल बनाउनमा खर्चनुपर्ने सुझाव अध्ययन समितिले दिएको हो ।

नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक निजी सझेदारी (पीपीपी)मा सञ्चालन र निर्माण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदनले लिज, सञ्चालन तथा हस्तान्तरण (लोट) मोडेलमा विमानस्थल बनाउनुपर्ने औल्याएको छ । काठमाडौंको विमानस्थल भाडामा लगाएर निजगढ बनाउनुपर्ने क्लिकमान्डुलाई प्राप्त उक्त सुझाव प्रतिवेदनमा उल्लेख छ ।

सरकारलाई दिएको दिएको सुझावमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पत्ति मुुद्रीकरण (एसेट मोनिटाइजेसन) गर्नुपर्ने भनिएको छ । प्रतिवेदनले काठमाडौं विमानस्थलको सम्पत्ति मुद्रीकरण गरेर निजी क्षेत्रलाई सञ्चालन गर्न भाडामा दिने र सोही रकमबाट नयाँ पूर्वाधार निर्माणमा खर्च गर्न दिनु आर्थिक अभाव र निर्माण मोडालिटीमा रुमल्लिएको उक्त विमानस्थलका निम्ति उपर्युक्त भएको उल्लेख गरेको छ ।

त्रिभुवन विमानस्थल भाडामा दिँदा आएको यो रकम निजगढ विमानस्थल बाहेक अन्त खर्च गर्न नपाइने शर्त भने अनिवार्य हुनुपर्ने पनि प्राप्त उक्त सुझाव प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन समितिका सदस्य तथा लगानी विज्ञ डा. घनश्याम ओझाले भने ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राज्यको लागि अनिवार्य आवश्यकता हो । यो विमानस्थल जसरी पनि बनाउनै पर्ने र नेपालको अन्तर्राष्ट्रिय पूर्णक्षमताको हब विमानस्थलसमेत हो ।’

नेपालले काठमाडौंको विकल्पको रुपमा निजगढ बनाउन सक्छ । काठमाडौंको विकल्प अरु विमानस्थल हुनै नसक्ने र निजगढ बसिसकेपछि दक्षिण एसयाकै हब विमानस्थलसमेत हुन सक्छ ।

यो विमानस्थल हव भएको अवस्थामा नेपाल ट्रान्जिट गन्तव्य बन्न सक्छ । जसले गर्दा विदेशीले जहाज उडाएर पनि नेपालले राम्रो आर्थिक लाभ लिनसक्ने हुन्छ । विमानस्थलाई ट्रान्जिटको रुपमा प्रयोग गर्दा यात्रुबाट धेरै राजस्व संकलन गर्न सकिन्छ । विभिन्न अध्ययनअनुसार नेपालको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालमा यस्तै हबको रुपमा विकास हुने दाबी गरिएको छ।

अध्ययन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग बण्डलिङ गरेर निजगढ बनाउनुपर्ने अर्को सुझावसमेत दिएको छ ।

निजगढ बनाउनेलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चलाउन दिने र पोखरा–भैरहवा सञ्चालन जिम्मा एउटै कम्पनीलाई दिनुपर्ने निष्कर्ष निकालेको छ । यसलाई सरकारले स्वीकार गरेर भर्खरै सकिएको लगानी सम्मेलनको शोकेसमा काठमाडौं र निजगढ विमानस्थललाई बण्डलिङ गरेर राखेको थियो ।

काठमाडौंसँग बण्डलिङ गरेपछि निजगढमा जापानी बैंकले लगानीको इच्छा देखाएर आशयपत्र पेश गरेको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए । उनका अनुसार दुईवटै विमानस्थल एउटैलाई दिन सकेको अवस्थामा मात्रै निजगढ निर्माण हुने र काठमाडौं पनि सञ्चालन भइहन्छ भन्ने निष्कर्ष निस्केको छ । सोही निष्कर्षलाई स्वीकार गरेर सरकारले लगानी सम्मेलनमा दुईटै विमास्थललाई एउटै प्याकेज बनाएर शोकेसमा राखेको पनि उपाध्यायको भनाइ छ ।

उनका अनुसार काठमाडौं विमानस्थल सञ्चालन गर्दा हुने लाभलाई निजगढसँग जोड्न सकिएको अवस्थामा दुबै विमानस्थल चल्ने सक्छ । यसका लागि पीपीपी मोडलमा विमानस्थल निर्माण तथा सञ्चालन गर्न चाहने कम्पनीले कम्तिमा वार्षिक १ अर्ब रुपैयाँको कारोबार, कम्तिमा एउटा विमानस्थल पीपीपीमा सञ्चालन गरिसकेको हुनुपर्ने शर्त राखिएको छ ।

अध्ययन समितिले ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत छुट्टाछुट्टै सञ्चालन गर्न दिँदा चल्ने देखिएन,’ समितिका सदस्य डा. ओझाले भने,’ यी दुई विमानस्थल पनि बण्डलिङ गरेर एउटै कम्पनीलाई सञ्चालन गर्न दिँदा उपयुक्त हुने सुझाव समावेश भएको छ ।’

निजगढ विमानस्थल निर्माण गर्ने सम्बन्धमा सन् २०११ मै कोरियाली कम्पनी ल्याण्डमार्क वल्र्डवाइड (एलएमडब्लु)ले त्रिभुवन अन्तर्राष्ट्रियलाई आन्तरिक बनाएर निजगढ विमानस्थल निर्माण र सञ्चालन गर्न दिन सुझाव दिएको थियो । उसले काठमाडौं तराई दू्रतमार्गसमेत एउटै कम्पनीलाई दिनुपर्ने शर्तमा निजगढ निर्माण गर्ने भनेको थियो । सरकारले दू्रतमार्गलाई छुट्टाएर निर्माण गरेका कारण कोरियाली कम्पनीले विमानस्थल मात्रै बनाउन रुची देखाएन भने सरकारले पनि उसको शर्तलाई स्वीकार गर्न सकेन ।

त्यतिबेलै कोरियाली कम्पनीले निर्माण सुरु गर्न पाएको अवस्थामा ३ वर्ष भित्रै (सन् २०१५ मै) एउटा धानवमार्गबाट निजगढ विमानस्थल सञ्चालन गर्न सकिने बताएको थियो । निजगढमा चार वटासम्म धावनमार्ग बनाएर सञ्चालन गर्नसकिने विमानस्थल हो । सरकारले बेलैमा निर्णय गर्न नसक्दा अध्ययन सकिएको १५ वर्षसम्म यो विमानस्थल निर्माणको सुरसारै छैन ।

त्रिभुवन विमानस्थलले क्षमताभन्दा बढी यात्रु धान्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने अहिले नै क्षमताभन्दा बढी यात्रुलाई सेवा दिन थालिसकेको छ । नेपालको पुरानो, राजधानीमा भएको र अहिलेसम्म अरु अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु सेवा सुरु नभएकोले पनि नेपालको अन्तर्राष्ट्रियसम्बन्ध जोड्ने काम त्रिभुवन विमास्थलले मात्रै गरेको छ । यो विमानस्थलको टर्मिनल भवनहरुको क्षमता बार्षिक ५० लाखसम्म मात्रै भएपनि अहिले नै क्षमताभन्दा ४० लाख बढी यात्रु भइसकेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमता वार्षिक ५० लाख यात्रुको मात्रै भएपनि यसले अहिले नै ८७ लाख यात्रु धानिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढाउन सकिने क्षमता सकिइसकेको छ । अहिले पनि यो विमानस्थलको गुरुयोजना बनाएर टर्मिनल भवनदेखि पार्किङसम्मका क्षेत्र बढाउने काम भइरहेको छ । यसको धावनमार्ग बढाउन सक्ने र थप गर्न सक्ने क्षमता भने छैन् । यो विमानस्थले क्षमताभन्दा बढी बढी यात्रुलाई सेवा दिएकै कारण सेवाको गुणस्तरमा प्रश्न उठिरहेको छ भने समाधान गर्न गाह्रो पर्न थालिसकेको छ ।

अधिकतम साधन र स्रोतको उपभोग गरेर पनि त्रिभुवन विमानस्थलले धान्ने यात्रु भनेको वार्षिक एक करोडभन्दा हुँदैन । यो विमानस्थलले अबको १० वर्षमा अहिले नै भइरहेको अनुसारको यात्रु वृद्धिदरलाई धान्न नसक्ने भएकोे पनि विकल्पको रुपमा निजगढ बनाउन सुरु गुर्नुपर्ने हवाई क्षेत्रका जानकारहरुको भनाइ छ ।

निजगढ नबनाए सन् २०३५ पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु चाप थेग्न नसकका कारण उडान व्यवस्थापनमा थप समस्या उत्पन्न हुने बुझाइ पनि हवाई क्षेत्रका जनकारहरुको छ ।


राजु बास्कोटा