४०० फाष्ट चार्जिङ स्टेसन निर्माण गर्न १२ अर्ब खोज्दै सरकार



फाइल फोटो

काठमाडौं । ४०० विद्युतीय सवारीसाधन फाष्ट चार्जिङ स्टेसन निर्माणका लागि लगानी सम्मेलनमा आयोजना शोकेस गरिने भएको छ ।

बिजुली गाडीको बढ्दो प्रयोगले चार्जिङ पूर्वाधार अभाव हुन थालेपछि एकैपटक ठूलो संख्यामा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको हो । नेपाल विद्युत प्राधिकरणले सरकारसंग ४०० चार्जिङ स्टेसन निर्माणको लागि सरकारसंग स्रोत सुनिश्चितता मागेको थियो । सरकारले स्रोत सुनिश्चितता दिन नसकेपछि लगानी सम्मेलनमा आयोजना शोकेस गर्न लागिएको हो ।

लगानी बोर्डको कार्यालयका अनुसार यो आयोजना राजमार्ग र भीडभाड हुने स्थानहरुमा निर्माण हुनेछ । कम्तीमा एउटा चार्जिङ स्टेसनले ०.१२ हेक्टर जग्गा ओगट्नेछ । एउटा चार्जिङ स्टेसनले ६ वटा सवारीसाधन एकैपटक चार्ज गर्ने क्षमताको हुनुपर्नेछ । जसमा दुईवटा ठूला बस र चारवटा कारहरु चार्ज गर्ने हुनुपर्नेछ ।

चार्जिङ स्टेसनमा शौचालय, मिनी मार्ट, क्याफेटेरिया, आराम गर्ने रुम, विज्ञापन बोर्ड, बिलिङ एण्ड पेमेन्ट सिस्टम लगायत हुनुपर्नेछ ।

यो आयोजनाले दिगो यातायात विकास,आर्थिक वृद्धिमा सहयोग गर्ने अपेक्षा गरिएको छ । बिजुलीको प्रयोग बढाउनेछ भने हावा र ध्वनी प्रदुषण घटाउनेछ ।

१२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) र निर्माण,स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण हुनेछ । पूर्व सम्भाव्यता अध्ययनदेखि निर्माणसम्मको सबै काम गर्नुपर्नेछ ।

प्राधिकरणले देशका ५१ स्थानमा फाष्ट चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ । सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेसन सञ्चालनमा छन । भने निजी क्षेत्रसहित साना–ठूला गरि ३०० भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन् ।


क्लिकमान्डु