विश्वकै सबैभन्दा ठूलो बैंकिङ ठगी मुद्दामा भियतनामी महिलालाई मृत्युदण्ड



एजेन्सी । विश्वकै सबैभन्दा ठूलो बैंकिङ ठगीको मुद्दा भियतनाममा टु्ंगिएको छ । पर्यवेक्षकहरुले उत्सुकतापूर्वक हेरिरहेको उक्त बैंक ठगी मुद्दा विश्वकै सबैभन्दा ठूलो हो ।

हो ची मिन सहरको उपनिवेशकालीन भवनमा रहेको अदालतले भियतनामको एक ठूलो बैंकलाई ११ वर्षभन्दा बढी समयदेखि ठगेको अभियोग खेपेकी ६७ वर्षीया घरजग्गा कारोबारी महिलालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

भियतनाममा पहिलो पटक वित्तीय अपराधमा कुनै एक महिलालाई मृत्युदण्डको फैसला सुनाइएको यो दुर्लभ घटना हो ।

ट्रूङ मी लानले साइगन कमर्सियल बैंक (एससीबी) बाट ४४ अर्ब अमेरिकी डलर ऋण लिएको मुद्दामा दाबी गरिएको छ ।

अदालतले उनलाई २७ अर्ब अमेरिकी डलर फिर्ता गर्न आदेश दिएको छ । तर अदालतले उक्त रकममध्ये २७ अर्ब डलर कहिल्यै नउठ्ने आशंका गरेर उनलाई दबाव दिने उद्देश्यले मृत्युदण्डको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

वामपन्थी शासन रहेको भियतनामले प्राय मुद्दा गोप्य राख्ने भए पनि यस मुद्दामा भने पारदर्शीता अपनाएको छ । यस मुद्दामा २ हजार ७सय मानिससँग बयान लिइएको थियो । साथै मुद्दामा १० सरकारी अभियोजक र झन्डै २०० वकिल संलग्न भएका थिए ।

६ टन तौल भएका प्रमाणहरु १०४ वटा बाकसमा राखिएका छन् । यस मुद्दामा ट्रूङ मी लानसहित ८५ जनालाई प्रतिवादी बनाइएको थियो । लानले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी थिइन् । सरकारी वकिलले उनीसहित १४ जनालाई मृत्युदण्ड माग गरेका थिए ।

‘कम्युनिस्ट शासनकालमा सार्वजनिक रूपमा यो स्तरमा प्रचार गरेर विगतमा कहिल्यै पनि सुनुवाइ भएको थिएन,’ अमेरिकी विदेश मन्त्रालयका अवकाशप्राप्त अधिकारी डेभिड ब्राउनको भनाइ उदृत गर्दै बीबीसीले भनेको छ ।

यो मुद्दालाई कम्युनिस्ट पार्टीका महासचिव नुइन फू चानको नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारबिरोधी अभियानको सबैभन्दा नाटकीय अध्याय मानिएको समाचारमा जनाइएको छ ।

मार्क्सवादका सिद्धान्तप्रति प्रतिबद्ध परम्परावादी विचारक महासचिव चान अनियन्त्रित भ्रष्टाचारप्रतिको मानिसहरूको आक्रोशले कम्युनिस्ट पार्टीको शक्तिमाथिको एकाधिकारमाथि गम्भीर खतरा उत्पन्न गराउने ठान्छन् ।

सन् २०१६ मा व्यापार पक्षधर नीतिहरूको पैरवी गर्ने तात्कालीक प्रधानमन्त्रीलाई पाखा लगाउँदै पार्टीको मुख्य जिम्मेवारीमा उनले आफ्नो निरन्तरता कायम राखेका थिए ।

चानले दुई राष्ट्रपति र दुई उपप्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाएका थिए । उनले सयौँ अधिकारीहरूलाई कारबाही गरेका छन् र जेलमा हालेका छन् । अहिले देशकै सबैभन्दा धनी महिला पनि त्यो सूचीमा परेकी छन् ।

ट्रूङ मी लान हो ची मिन्ह सहरमा बसोबास गर्ने चिनियाँ मूलकी भियतनामी हुन् । पहिला साइगन भनिने उक्त सहरमा चिनियाँ मूलका मानिसहरूको ठूलो उपस्थिति छ । कम्युनिस्टविरोधी दक्षिण भियतनामको राजधानी भएको समयदेखि नै उक्त सहर देशको अर्थतन्त्रको मुख्य इन्जिन हो।

सुरुमा शृङ्गारका सामान बेच्ने उनले कम्युनिस्ट पार्टीले ‘दोई मोई’ नामक आर्थिक सुधार थालेदेखि सन् १९८६ मा घरजग्गा किन्न थालेकी थिइन् । सन् १९९० को दशकमा धेरै होटल र रेस्टुरेन्टहरुमा उनको लगानी थियो ।

अधिकांश धनी भियतनामीहरूले घरजग्गाबाट प्रशस्त आम्दानी गरेका छन् । भियतनाममा तीव्र गतिमा उत्पादनशील क्षेत्र विस्तार भइरहेको छ । आपूर्तिकर्ताका रूपमा भियतनामलाई चीनको विकल्पका रूपमा हेर्न थालिएको छ।

त्यहाँ सबै जमिन राज्यको स्वामित्वमा हुन्छ । तर त्यसमा पहुँच पाउन सरकारी अधिकारीहरूसँगको सम्बन्धले भूमिका खेल्छ ।

ट्रुङ मी लान सन् २०११ सम्म हो ची मिन्ह सहरमा एक चर्चित व्यापारीका रुपमा स्थापित भइसकेकी थिइन् । उनले संकटग्रस्त तीनवटा बैंक गाभेर ‘साइगन कमर्सियल बैंक’ बनाउने अनुमति पाइन् ।

भियतनामको कानुनले कुनै पनि व्यक्तिलाई कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी सेयर राख्न प्रतिबन्ध लगाएको छ । तर लानमाथि सयौं ‘नक्कली कम्पनी’ खडा गरेर र नक्कली मानिसहरू उभ्याएर साइगन बैंकमा ९० प्रतिशतभन्दा बढी सेयर स्वामित्व आफूसँग राखेको आरोप लागेको थियो ।

उनीमाथि शक्तिको प्रयोग गरेर आफू निकटस्तहरूलाई व्यवस्थापक नियुक्त गरेको आरोप लागेको छ ।
त्यसबाहेक आफ्नो नियन्त्रणमा रहेका नक्कली कम्पनीहरूबाट ऋण स्वीकृत गराउन भूमिका खेलेको आरोप लागेको छ ।

उक्त बैंकले प्रवाह गरेको ऋणको ९३ प्रतिशत लानले लिएको देखिएको समाचारमा जनाइएको छ ।
सन् २०१९ को फेब्रुअरीदेखि तीन वर्षको अवधिमा उनले आफ्ना चालकलाई ४ अर्ब डलरभन्दा बढी रकम बैंकबाट निकाल्न लगाएको आभियोजनकर्ताहरुले जनाएका छन् । त्यो पैसा घरको भुइँतलामा थुपारिएको थियो ।

केन्द्रीय बैंकका एक प्रमुख निरीक्षणकर्तालाई पनि उनीसँग मिलेमतो गरेको अभियोग लागेको छ । उनले ५० लाख डलर घुस लिएको भन्दै आजीवन कारावासको सजाय माग गरिएको छ ।


क्लिकमान्डु