जहाज किन्न समिति बनाउने अख्तियार प्रमुख राईलाई जोगाइयो, आफ्नो संग्लनता हटाएर अरुलाई मुद्दा



काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज किन्दा प्रमुख भूमिका निर्वाह गर्ने हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईलाई जोगाएर अरु ३२ जनालाई मुद्दा दायर गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव राईलाई जोगाएर वाइडबडी जहाज खरिदमा उनकै मातहत काम गर्ने र सहकर्मीहरुलाई भने भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

राईलाई यसअघि सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहरसहितको प्रतिवेदनमा पनि अन्तिम समयमा जोगाइएको थियो । त्यतिबेला राजन केसी संयोजकत्वको एक उपसमितिले वाइडबडी भ्रष्टाचारमा राईको संलग्नता पुष्टि गरेर प्रतिवेदन बनाएको थियो ।

पर्यटन सचिव हुँदा राईले नेपाल वायुसेवा निगमको विनियमावली मिचेर वाइडबडी विमान खरिद गर्न प्रक्रिया अगाडि बढाएको केसी संयोजकत्वको उपसमितिले ठहर गरेको थियो ।

त्यतिबेला गृहसचिव रहेका राईलाई केपी ओली सरकारले अख्तियार प्रमुख बनाउन खोजेकोले विवादमा ल्याउन चाहेको थिएन । त्यतिबेला लेखा समितिमा राईको नाम हटाउने विषयमा विवाद भएको थियो । अन्ततः राजनीतिक सहमति गरेर राईको नाम हटाएर लेखा समितिले उक्त प्रतिवेदनमाथि थप छानबिन गर्न अख्तियारलाई सिफारिस गरेको थियो ।

वाइडबडीको अनुसन्धानदेखि मुद्दा दायरसम्मको अवधिमा राई नै अख्तियार प्रमुख भएकोले उनलाई जोगाएर उनकै मातहतका कर्मचारी र सहकर्मीलाई भने १ अर्ब ४७ करोड रुपैयाँको विगोदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिहीबार अख्तियारले विशेष अदालतमा दायर गरेको डेढ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दामा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, राईपछिका पर्यटन सचिव शंकर अधिकारी, पर्यटन मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार र निगमका कर्मचारी छन् ।

राई २०७२ साल माघ १८ देखि २०७३ को भदौ २७ गतेसम्म पर्यटन मन्त्रलायको सचिव थिए । राई सचिव हुँदा निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेकोले उनैले २०७३ वैशाख २ गते वाइडबडी जहाज खरिदका लागि उपसमिति गठन गरेका थिए ।

राई आउनु पहिले निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले एक उपसमिति बनाएका थिए । तर, उक्त उपसमितिलाई निष्क्रिय बनाउँदै वैशाखमा राईले सञ्चालक समितिका सदस्य सूर्यप्रसाद आचार्यको संयोजकत्वमा ४ सदस्यीय वाइडबडी विमान खरिद उपसमिति बनाएका थिए । सोही समितिले ३१ साउन ०७३ मा नयाँ जहाज खरिदका नाममा एक हजार घन्टासम्म चलिसकेको पुरानो विमान खरिद गर्न सकिने सिफारिस गरिएको थियो ।

राईले पर्यटन सचिव भएर काम गर्दा वाइडबडी जहाज सिधै एयरबससँग नकिनेर बिचौलिया कम्पनीमार्फत किन्ने निर्णय गराएका थिए । एकातिर जहाज किन्ने निर्णय गरेका राई त्यसैले ऋण लिने बेला कर्मचारी सञ्चय कोषमा पनि थिए । राईले ऋण लिने र ऋण दिने निर्णायमा बसेर दोहोरो चरित्र निर्वाह गर्दासमेत उनैलाई जोगाएर अख्तियारले वाइडबडीमा मुद्दा दायर गरेको छ ।

त्यतिबेला पर्यटन मन्त्रालयबाट सरुवा भएर राई वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भएका थिए । वाणिज्य मन्त्रालयको सचिवको हैसियतले उनी निगमको ऋण स्वीकृत गराउने बेला कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्ष बनिसकेका थिए । त्यतिबेला कोषका प्रशासक कृष्णप्रसाद आचार्य कोरिया गएको समयमा सञ्चालक समितिको बैठक बसाएर राईले निगमलाई ऋण दिने निर्णय गराउन भ्याएका थिए ।

२६ जेठ २०७४ मा बसेको सञ्चयकोष सञ्चालक समितिको बैठकले ऋण दिने प्रस्ताव स्विकार गरेको थियो । दुई दिनपछि २८ जेठ २०७४ मा निमग र कोषबीच ऋण सम्झौता भएको थियो ।

राईको अध्यक्षमा बसेको निगमको बैठकले जहाज खरिद गर्न उपसमिति खडा गरेको थियो भने राईकै अध्यक्षतामा बसेको सञ्चय कोषको बैठकले निगमलाई ऋण दिएको थियो । यो हिसावले हेर्दा राई नै मुख्य दोषी हुनेपर्ने वाइडबडी खरिद प्रक्रियामा उनैलाई जोगाइएको छ ।

सञ्चय कोष बोर्डले सुरुमा हाई-फ्लाई ट्रान्सपोर्ट एरोजका नाममा रकम पठाएपछि किन पछि एस्क्रो एजेन्ट खडा गरेर भुक्तानी गरेको भनी प्रश्न गरेको थियो । हाई-फ्लाई एक्ससँगको सम्झौता शंकास्पद भन्दै त्यसको वैधता पुष्टि गर्न निगमलाई आग्रह गरेको थियो । उसले एयरबस र हाई-फ्लाई एक्सबीचको खरिद-बिक्री सम्झौतालाई सम्बन्धित मुलुकको नोटरी प्रमाणित गरेर पठाउनसमेत भनेको थियो । तर, तीन प्रश्नको उत्तर नआउँदै राईले ऋण स्वीकृत गराएका थिए ।

अख्तियारले वाइडबडीको अनुसन्धान गर्दाको पूरै समय राई अख्तियार प्रमुख भएकोले पनि आफ्नै मातहतले गरेको अनुसन्धानमा आफू जोगिन सफल भएका हुन् । अख्तियारले मुद्दा दायर गरेमध्ये एक व्यक्तिले भने, ‘आफैंले गरेको निर्णयमा आफू जोगिनलाई पनि उनले वाइडबडीमा मुद्दा चलाउन हतार गरेका हुन् ।’ यो विषयमा राई बाहिर भएको बेला अनुसन्धान गर्ने हो भने पहिलो नम्बरमा उनैको दोष र कमीकमजोरी देखिने दाबी उड्डयन क्षेत्रका जानकारहरुको छ ।


राजु बास्कोटा