फलामजन्य सामग्रीको निर्यात ७४ प्रतिशतले बढ्यो, इन्धन आयात घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा फलाम र फलामबाट निर्माण भएका विभिन्न सामग्रीको निर्यात दर वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मकाे अवधीको तुलनामा चाल आर्थिक वर्षको साेहि अवधीमा ७४.४ प्रतिशतले फलामजन्य सामग्रीको निर्यातमा वृद्धि भएको हाे।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ८ महिनाको अवधीमा ११ अर्ब ६३ करोड रुपैयाँबराबरको फलाम र फलामबाट निर्माण भएका विभिन्न सामग्री भारतसहित तेश्रो मुलुकमा निर्यात भएको छ।

अघिल्लो आर्थिक वर्षको यहि अवधीमा ६ अर्ब ६७ करोड ३० लाख रुपैयाँबराबरको यस्ता सामग्री निर्यात भएको थियो । चालु आर्थिक वर्षको आठ महिनामा फलामसँगै प्लाइउड, सिमेन्ट, सिमेन्टकाे क्लिंकर, कपर र कपरबाट निर्माण भएका सामग्रीको निर्यात दर पनि अत्याधिक परिमाणमा बढेको छ ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको आठ महिनाको तुलनामा १०५१.४ प्रतिशतले वृद्धि भएर चालु आर्थिक वर्षको आठ महिनाको अवधीमा १ अर्ब २८ करोड ३० लाख रुपैयाँबराबरको नेपाली सिमेन्ट निर्यात भएको छ । गत आर्थिक वर्षको ८ महिनाको अवधीमा भने ११ करोड १४ लाख रुपैयाँबराबरको सिमेन्ट निर्यात भएको थियो ।

यस्तै अघिल्लो वर्षको आठ महिनाको तुलनामा चालु वर्षको ८ महिनामा ५१२.४ प्रतिशतले वृद्धि भएर १ अर्ब १८ करोड ८७ लाख रुपैयाँबराबरको सिमेन्टको क्लिंकर पनि निर्यात भएको छ । गत वर्षको ८ महिनामा भने १९ करोड ४१ लाख रुपैयाँबराबरको क्लिंकर निर्यात भएको थियो ।

यसैगरी चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा प्लाइउडको निर्यात दर पनि वृद्धि भएको तथ्याँकले देखाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो समीक्षा अवधीको तुलनामा ९१.३ प्रतिशतले वृद्धि भएर ४ अर्ब ९३ करोड ९८ लाख रुपैयाँबराबरको नेपालबाट प्लाइउड विभिन्न मुलुकमा निर्यात भएको हो । अघिल्लो वर्षको समीक्षा अवधीमा भने २ अर्ब ५८ करोड रुपैयाँबराबरको निर्यात भएको थियो ।

त्यसैगरी कपर र कपरबाट निर्माण भएका सामग्रीको निर्यातमा पनि वृद्धि भएको छ । चालु वर्षको ८ महिनामा ७१.९ प्रतिशतले वृद्धि भएर ८९ करोड ८८ लाख रुपैयाँबराबरको यस्ता सामग्री निर्यात भएको छ । गत वर्षको समिक्षा अवधीमा ५२ करोड २९ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।

समीक्षा अवधीमा तुलनात्मक लाभका वस्तुहरुमध्ये यार्नको निर्यातमा ४.१ प्रतिशतले ह्रास आएर ७ अर्ब ५१ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । उनी गलैंचातर्फ पनि ६.२ प्रतिशतले ह्रास आएर ६ अर्ब ९२ करोडको निर्यात भएको छ भने तयारी पोशाकतर्फ अघिल्लो वर्षको ८ महिनाको तुलनामा चालु वर्षमा १५.९ प्रतिशतले वृद्धि भएर ६ अर्ब १८ करोड रुपैयाँको निर्यात भएको छ ।

जुट तथा जुटका उत्पादनमा पनि ७.० प्रतिशतले कमी आएर ४ अर्ब ९७ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । अर्को प्रमुख निर्यातजन्य वस्तुमध्ये उनी फेल्ट पनि ५.० प्रतिशतले कमी आएको छ । ८ महिनाको अवधीमा ३ अर्ब ८ करोड रुपैयाँबराबरको उनी फेल्टका सामग्री निर्यात भएका छन् ।

अर्कोतर्फ जुसको निर्यातमा ३९.६ प्रतिशतले वृद्धि भएर ५ अर्ब ३३ करोड रुपैयाँबराबरको निर्यात भएको छ । कुनै समय अत्यधिक निर्यात हुने पाम आयलको निर्यातमा पनि ६९.५ प्रतिशतले गिरावट आएको छ । चालु वर्षको ८ महिनाको अवधीमा ४ अर्ब ६३ करोड रुपैयाँबराबरको पाम आयल निर्यात भएको छ ।

तुलनात्मक लाभका कृषिजन्य वस्तुतर्फ निर्यातमा अग्रणी भूमिका खेल्दै आएको अलैंचीको निर्यातमा पनि ११.८ प्रतिशतले गिरावट आउँदा ५ अर्ब १७ करोड र चियामा ११.९ प्रतिशतले गिरावट आएर २ अर्ब ४६ करोड रुपैयाँबराबरको निर्यात भएको छ।

यसैगरी अदुवातर्फ भने ३९.९ प्रतिशतले वृद्धि भएर १ अर्ब ३ करोड रुपैयाँबराबरको निर्यात भएको छ ।

इन्धनको आयात ६ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा इन्धनको आयात ६ प्रतिशतले घटेको छ । चालु वर्षको ८ महिनामा १ खर्ब ९० अर्ब ४६ करोड ७६ लाख रुपैयाँबराबरको इन्धन आयात भएको छ ।

अघिल्लो वर्षको ८ महिनाको अवधीमा भने २ अर्ब २ अर्ब ८१ करोड १२ लाख रुपैयाँबराबरको इन्धन आयात भएको थियो । चालु आर्थिक वर्षमा सबैभन्दा बढी एयरक्राफ्ट र त्यससम्बन्धी सामग्रीको आयात भएकाे छ । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा १३३.७ प्रतिशतले वृद्धि भएर ८ अर्ब २७ करोड ७३ लाख रुपैयाँबराबरको यस्ता सामग्री आयात भएको छ ।

यस्तै अत्यधिक आयातमा सवारी साधन र पार्टस पनि परेको छ । अघिल्लो वर्षको ८ महिनाको तुलनामा चालु वर्षको ८ महिनामा ४७.३ प्रतिशतले वृद्धि भएर ४८ अर्ब १० करोड ७३ लाख रुपैयाँबराबरको सवारी साधन र पार्टस आयात भएको छ । यसैगरी कपडा र कपडाका सामानहरुको आयात दर पनि बढेको छ ।

अघिल्लो वर्षको ८ महिनाको तुलनामा ४५.८ प्रतिशतले वृद्धि भएर २४ अर्ब ७९ करोड ७६ लाख रुपैयाँबराबरको आयात भएको छ । कच्चा पाम आयल र कच्चा सोयावीन आयलको आयात दरमा पनि निक्कै गिरावट आएको छ ।


राजेश बर्मा