निगमलाई न्यारोबडी भाडामा दिन ७ कम्पनी इच्छुक, ३ महिनाभित्र दुईवटा जहाज आउने



फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)लाई अन्तर्राष्ट्रिय उडानको लागि दुईवटा एयरवसका न्यारोबडी जहाज भाडामा दिन सातवटा कम्पनीले इच्छा देखाएका छन् । निगमले एयरबसको ए ३२०-२०० सिरिजका १५८ सिट क्षमताका जहाज भाडामा लिन खोजेको हो ।

निगमले हाल उडान गरिरहेकै क्षमताका दुईवटा न्यारोवडी जहाज भाडामा ल्याएर उडान गर्ने विषयमा अध्ययनसमेत गरेर प्रस्ताव माग गरेको थियो । ४५ दिनको समय दिएर मागको प्रस्तावको अन्तिम दिन गत शुक्रबारसम्ममा ७ वटा कम्पनीले आवेदन दिएको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

कुन कुन कम्पनीले आवेदन दिए भनेर अहिले नै भन्न भने नमिल्ने उनको भनाइ छ । आवेदन दिएका कम्पनीको नाम सार्वजनिक गर्दा अनावश्यक दबाब पर्ने उनले बताए ।

‘आवेदन परेका कम्पनीमध्येको प्रस्तवमाथि अब निगमले मूल्यांकन गर्छ । सबै कम्पनीको प्राविधिक प्रस्ताव मूल्यांकन गरी आर्थिक प्रस्ताव हेरेर टुंगोमा पुग्न करिब एक महिना लाग्छ’ उनले भने ।

प्राविधिक र आर्थिक दुबैतर्फ उपयुक्त देखिएको कम्पनीलाई छनोट गरेर निगमले दुईवटा न्यारोबडी जहाज भाडामा लिने छ ।

निगम सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा गठित उपसमितिले वेट लिज (क्याप्टेन, इन्जिनियर र एयर होस्टेजसहितको जहाज भाडामा)ल्याउन सकिने गरी अध्ययन सम्पन्न गरेर निगमलाई प्रतिवेदन बुझाएको थियो।

सोही प्रतिवदेनका आधारमा निमगले न्यारोबडी जहाज भाडामा लिने सार्वजनिक प्रस्ताव आह्वान गरेको थियो ।

निगमकाअनुसार तीन महिनाभित्रै २ वटा न्यारोबडी जहाज भाडामा ल्याएर उडान गर्ने गरी तयारी भएको र सोही अनुसार प्रस्ताव आएको छ ।

निगमले ल्याउने ती जहाजले हालको नाफामूलक गन्तव्य, मलेसिया, दिल्ली, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई)मा उडान थप गर्दै सेवा दिन सक्नेछ । निगमसँग भएका वाइडबडीलाई भने जापान, अस्ट्रेलिया र नयाँ थप हुन लागेको लामो दूरीका अन्य गन्तव्यमा उडान केन्द्रित गर्ने तयारी छ ।

निगमकाअनुसार वेट लिजमा जहाज लिँदा प्रतिघण्टा कम्तीमा ३ हजार डलर खर्च हुने अनुमान छ । उक्त दरमा भाडामा लिँदा निगमले नाफा कमाउन सक्ने दाबी अध्ययन समितिले यस अघि नै दिएको सुझावमा उल्लेख छ ।

निगमकाअनुसार १५८ सिट क्षमताको न्यारोबडीले हाल वार्षिक ७ अर्ब कमाउँदा ६ अर्ब रुपैयाँ खर्च भएको छ । यसबाट निगमले दुईवटा न्यारोबडी उडाउँदा मात्रै वार्षिक ९५ करोड रुपैयाँ नाफा कमाएको गत आर्थिक वर्ष २०७९/८९ को वैशाखसम्मको तथ्यांकले देखाएको छ ।

निगमकाअनुसार न्यारोबडी जहाजले नाफामा उडान गरिरहेको छ । यसले वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सक्ने हुँदा हाल उडान भएकै गन्तव्यमा विस्तार गर्ने गरी न्यारोबडी उडान गर्दा निगमले नाफा कमाउन सक्ने बताइएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा भने निगमले दुईवटा न्यारोबडी जहाजबाट ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको निगमले जनाएको छ । निगमले यो आम्दानीको करिब ८ अर्ब रुपैयाँ जहाज उडानमै खर्च गर्नेछ । यस्तो खर्चपछि न्यारोबडी जहाज उडाउँदा मात्रै वार्षिक नाफा १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी हुने दाबी निगमको छ । आगामी ५ वर्षपछि न्यारोबडी उडाएर मात्रै वार्षिक १ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाउन सकिने निगमले तयार पारेको व्यापारिक योजनामा उल्लेख छ ।


क्लिकमान्डु