दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजले किन पाएको थिएन सम्बन्धन ?



व्यवसायी दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालन अनुमति दिन सर्वोच्च अदालतले फैसला गरेको छ । लामो समयदेखि झापामा स्थापित बी एन्ड सी मेडिकल कलेजमा चिकित्साशास्त्र अध्यापन गर्न विश्वविद्यालयको सम्बन्धन प्रसाईंले माग्दै आए पनि सरकारले दिएको थिए ।

त्यसपछि उनी अदालत गएका थिए । सोमबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले रिट निवेदक प्रसाईंको पक्षमा निर्णय सुनाएको हो । इजलासले रिट जारीको फैसला गरेको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले निवेदकले माग गरे अनुसारको फैसला भएको जानकारी दिए ।

‘निवेदक दुर्गा प्रसाईंले गरेको माग दाबी अनुसार नै सर्वोच्चको फैसला आएको हो’ उनले भने ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।

बी एन्ड सीले २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पाएको थियो भने २०७३ सालमा अस्पतालले ३ सय सय्याको अस्पताल सञ्चालनको स्वीकृति पाएको थियो ।

त्यतिमात्र होइन २०७१ मंसिर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० शय्याको मेडिकल कलेज सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको थियो । तर मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा गोविन्द केसीले आमरण अनशन बसेपछि चिकित्सा शिक्षा ऐन आयो । त्यसपछि प्रसाईंले मेडिकल कलेज सञ्चालनको अनुमति पाउन सकेनन् ।

डा. केसीले योग्यता क्रमका आधारमा मात्र भर्ना गर्ने व्यवस्था लागू गर्न माग गरेका थिए । डा केसीको बारम्बारको अनसनपछि सरकारले चिकित्सा शिक्षा ऐन ल्याएको थियो । उक्त ऐनमा टेकेर चिकित्सा शिक्षा आयोग बनेपछि योग्यता क्रमका आधारमा विद्यार्थी भर्ना हुन पाउने व्यवस्था लागू भएको थियो ।

२०७६ सालमा चिकित्सा आयोगमा बी एन्ड सी सम्बन्धनका लागि गएको थियो । तर २०७३ सालदेखि आशयपत्र नवीकरण नगरेको र काठमाडौं विश्वविद्यालयको सहमति नलिएको भन्दै आयोगले सम्बन्धन दिन अस्वीकार गरेको थियो ।

यसबीचमा प्रसाईंले राजनीतिक रुपबाट मेडिकल कलेज सञ्चालनको अनुमति लिन प्रयत्न नगरेका होइनन् । तत्कालीन समयमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका अध्यक्षहरुलाई घर लगेर मार्सी चामलको भात खुवाएर उनी चर्चामा आएका थिए । दुई पार्टी एकता भएर नेकपा बन्दा पनि केपी ओ‌ली र प्रचण्डसँग निकट सम्बन्ध रहेका प्रसाईंले अनुमति पाउन सकेका थिएन् ।

त्यसपछि उनी ओलीको कडा आलोचक बनेका थिए ।


क्लिकमान्डु