जोगिरा सरर…!



कोन तालमें ढोलक बाजे,
कोन तालमें मजिरा जाहि तालमें राधा नाचें,
ताहि तालमें मिरा जोगिरा स…र..र…..!

अर्थात जुन तालमा ढोलक र मजिरा बाज्छ त्यही तालमा राधा र मिरा नाच्छिन्, जोगिरा सा..रा..रा…! यस्तै यस्तै लोकगीत र संस्कृतिको झलक दिने रंगैरंगको पर्व अर्थात होली (फागु पर्व) घर आँगनमा आइपुगेको छ ।

वर्षभरिको आपसी शत्रुता, ईश्र्या, द्वेष, रिस राग, कलह, ठूलो र सानो जातबीचको खाडललाई बिसाएर पारस्परिक प्रेम र स्नेह दर्शाउने उत्कृष्ट सन्देश बोकेको होली पर्व यो बर्ष ३ दिन मनाइदैंछ ।

हिमाली, पहाडी भेगमा आईतबार र तराईमधेशमा सोमबार तथा जनकपुरमा मंगलबार यो पर्व उल्लासमय वातावरणमा मनाउने तयारी भएको छ ।

होली पर्वलाई साम्प्रदायिक सद्भावको प्रतीक पनि मानिन्छ । यसमा सबै जातजाति, धर्मालम्बी र सबै वर्णका मानिस समभावले सरिक हुन्छन् । धनी र गरिबबीच कुनै भेदभाव हुँदैन । अधर्ममाथि धर्मको जित, असत्यमाथि सत्यको जित र कुकर्ममाथि सुकर्मको जितको प्रतीकका रूपमा मनाइने रंगविरंगी होली पर्वको तयारी सम्पन्न भएको छ । होलीलाई जातीय संरचना र संस्कृतिअनुसार विभिन्न नामबाट चिनिन्छ ।

तराई मधेश, भोजपुरिया, अवधी र मिथिलाञ्चलवासीले होली, फगुवा, र होरी, नेपाली समुदायले फागु पूर्णिमा, केहीले होलिकोत्सव भने कसैले फाल्गुनोत्सव, मदनोत्सव, कामोत्सव, अंगोत्सव, मधुउत्सव र चैत्रोत्सव नामले पनि यसलाई सम्बोधन गर्दै आएका छन् । नाम विविध भए पनि यसको मूल सन्देश एउटै हो— वर्षभरिको आपसी रिसरागलाई थाति राखेर यस पर्वको माध्यमबाट राम्रो सम्बन्ध विस्तार गर्नु ।

अधर्ममाथि धर्मको जित, असत्यमाथि सत्यको जित र कुकर्ममाथि सुकर्मको जितको प्रतीकका रूपमा रंगविरंगी होली पर्व मनाइने गरिन्छ ।

‘व्यस्त, तनावग्रस्त तथा बोझिलो मनलाई किनारा लगाएर केही समयका लागि भए पनि खुसीपूर्वक बाँच्न यो पर्वले सिकाउँछ,’ मैथिली संस्कृतिविद् डा.रामदयाल राकेश भन्छन् ।

पर्वको मूलमन्त्र नै पारस्परिक मैत्रीसम्बन्ध हो । सालभरिका रिस राग, मतभिन्नता र आपसी मनमुटाव बिर्सेर एक आपसमा अंगालो (गलामा गला मिलाएर) मारेर यो पर्व मनाउने चलन छ । होलीको आरम्भ वसन्त पञ्चमीदेखि नै हुन्छ । जब मानिस चिन्ताविहीन, तनावमुक्त हुन्छ र कामकाजको भारीबाट उन्मुक्त हुन्छ तब ऊ आमोद प्रमोद र मनोरन्जनमा लाग्न खोज्छ ।

क्षणिक समयका लागि भए पनि ऊ आनन्द प्राप्त गर्न खोज्छन् । होलीको वैज्ञानिक विशेषता पनि यिनै हुन् । वसन्त ऋतु उत्सर्गमा पुगेका बेला, बोटविरुवामा रंगिचंगी फूल फुलेका बेला, कोइली सुमधुर र सरस गीत गाइरहेको बेलामा मनाइने यो पर्वको मिथिलाञ्चलमा अति महत्व छ ।

पौराणिक तथा धार्मिक पक्ष

लंकाका राजा रावणमाथि विजय प्राप्तिपछि अयोध्या (अबध) का राजा राम (रघुवीर) ले प्रेमभावका साथ यो पर्व अयोध्यामा मनाएका थिए । हिरण्यकशिपुले धर्मका प्रचारक आफ्ना अवोध छोरा प्रह्लादलाई मार्न रचेको प्रपन्च निस्तेज भएपछि होली मनाउन थालिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

धार्मिक ग्रन्थका अनुसार प्रह्लाद भगवान् विष्णुका ठूलो भक्त थिए । उनी चौबीसै घन्टा भगवानकै पूजाअर्चनामा समय बिताउँथे । अधर्मको पक्षमा रहेका उनका पिता राजा हिरण्यकशिपुलाई छोराको यस्तो प्रवृत्ति पटक्कै मन पर्दैनथ्यो । एकदिन उनले आफ्नो बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर आगोमा जिउँदो जलाउने प्रयास समेत गरे ।

तर ईश्वरको कृपाका कारण प्रह्लाद आगोको रापमा जल्न सकेनन् । बरु बहिनी होलिकाको जलेर मृत्यु भएको थियो । अधर्ममाथि धर्मको जित भएको प्रतीकको रूपमा यसै समयदेखि होली मनाउन थालिएको हो । आगोको रापमा होलिकाको दहन भएकाले यो दिनलाई होलिकादहन पनि भन्ने गरिन्छ ।

संस्कृतिविद् डा. दयालका अनुसार यो पर्वलाई राधा र कृष्णको रासलीलासँग पनि जोड्ने गरिएको छ । शृंगार रसकी धनी राधा र कृष्णले रंग र अबिर प्रयोग गरी यो पर्व मनाएका थिए । कृष्णले एउटा साधारण मायावी मानिससरह राधा र उनका सखीहरूसँग यो दिन सहवास एवं सुख सयलको आनन्द अनुभव गरेका थिए । यमुनाको तटमा कृष्णले राधा र गोपिनी समूहसँग होरी खेलेका थिए । हिमालयमा शिव र पार्वतीले होरी खेलेका थिए ।

यस्तो हुन्छ मिथिलाञ्चलको
‘होरी’ मिथिलाञ्चलका हरेक गाउँमा एक महिना पहिलेदेखि नै गाउँभरीको फोहोर संकलन गरी एक स्थानमा जम्मा गर्ने चलन छ । फागु पूर्णिमा अन्तिम रातको अन्तिम प्रहरमा संकलन गरिएको फोहोरको थुप्रोमा आगो लगाइन्छ ।

यसलाई स्थानीय भाषामा ‘सम्मत’ भनिन्छ । यसलाई पनि समभाव र सद्भावको सूचक नै मान्न सकिन्छ । सम्मतको प्रदक्षिणा गरेर त्यसको खरानी शरीरमा दलि गायक दल बाजागाजाका साथ गाउँका घरदैलोमा विभिन्न प्रकारका लोकगीत गाउँदै घुम्छन् ।
घरदैलोमा आइपुगेका यस्तो दलमाथि रंग र अबिर हालेर पकाइएको माल्पुआ, गाजरको हलुवा, चामलको पुरी, खसीको मासु, दहिवाडा, दही, अचार, विभिन्न प्रकारका मिठाई, पान र सुपाडी खुवाएर स्वागत गर्ने चलन छ ।

‘तर, अचेल गाउँघरमा राजनीतिक मतमतान्तर र मतभेदका कारण यो परम्परा लोपोन्मुख छ,’ डा.राकेश भन्छन् । मिथिलाञ्चलमा होलीपर्वका दिन आफूभन्दा ठूलाबडाको खुट्टामा अबिर चढाएर सानोले आशीर्वाद लिने यसका सकारात्मक पक्ष हुन् । घरमा आएका पाहुनालाई आदर सत्कार गरी परिवारका सबै सदस्य मिष्ठान्न परिकार सेवन गरी विभिन्न प्रकारको भाँडोमा तयारी गरी राखिएको रंग छ्यापेर र अबिर दलेर होली मनाइन्छ ।

नकारात्मक पक्ष

अचेल मादक पदार्थ सेवन गरी वर्षभरिको रिसराग निकाल्न पनि यो पर्वलाई लिन थालिएको छ । ‘वर्षभरीको रिसराग मेटाउने यो पर्वको अहिले व्यापक दुरुपयोग भएको छ,’ अर्का संस्कृतिविद् धिरेन्द्र प्रेमर्षिले भने, ‘समय फेरिँदै गएको छ । अहिले यो पर्वको मौलिक विशेषता र महत्व नै धरापमा परेको छ । वर्षभरिको रिसराग निकाल्न, कुटपिट गर्न र हत्या गर्न यो दिनलाई अहिले बढ्दो प्रयोग गर्न लागिएको छ ।’

उनका अनुसार नयाँ पुस्ताले होली मनाउने नाममा भाङ, गाँजा, धतुरो र मादक पदार्थ सेवनलाई प्राथमिकता दिन थालेका छन् । छालालाई नकारात्मक असर पु¥याउने उद्देश्यले नयाँ पुस्ताले रंगमा विभिन्न प्रकारका रासायनिक पदार्थ मिसाएर अश्लिलतापूर्वक यो पर्व मनाउने कार्यलाई तीव्रता दिएका छन् ।

पछिल्ला वर्षहरूमा अबिर र रंग लगाउने बहानामा महिलाको संवेदनशील अंग स्पर्श गर्न खोज्नुजस्ता नकारात्मक पक्ष पनि यदाकदा नसुनिएको होइन । यस्ता विकृति समयमै रोक्न समाजमा जनचेतना फैलाउउनुपर्ने संस्कृतिविद्को भनाइ छ ।


राजेश बर्मा