क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जीत



काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ ।

मूलपानीस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले दिएको २४१ रनको चुनौती नेपालले पाँच बल बाँकी हुँदा आठ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपाल ‘ए’ का लागि कप्तान सन्दीप जोराले सर्वाधिक ६६ रन बनाए । उनले ७४ बलमा सात चौका र एक छक्का हाने । यस्तै बसिर अहमदले अविजित ५२ रन जोडे । उनले ७३ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

यस्तै रासिद खानले ४७, अर्जुन कुमाले ४० र किरण ठगुन्नाले १३ रन जोडे । बलिङमा क्यानडाका अमोर खालिद, शाहिद अहमदजाई र निखिल दत्तले दुई दुई तथा कप्तान सादबिन जफर र हर्ष ठेकरले एक एक विकेट लिए ।

यसअघि क्यानडाले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोम्भाले सर्वाधिक ६८ रन जोडे । यस्तै नवनीत धलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, ओरोन जोनसनले ३६ र डिलोन हेलिगरले १६ रन जोडे ।

बलिङमा नेपाल ‘ए’ का साहब आलम र रासिद खानले तीन/तीन विकेट हात पारे । शेर मल्लले दुई तथा सागर ढकाल र बसिर अहमद एक एक विकेट लिए ।

तीन खेलको सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा क्यानडासँग चार विकेटले पराजित भएको थियो । नेपालको आजको जितले सिरिजमा १–१ को बराबरी भएको छ ।


क्लिकमान्डु