बिजुली नदिएपछि कुलमानसँग रुपन्देहीका उद्योगी आक्रोसित, अघोषित लोडसेडिङले उद्योग बन्द



काठमाडौं । दैनिकरुपमा अघोषित लोडसेडिङ हुन थालेपछि रुपन्देहीका उद्योगीहरु आक्रोसित भएका छन् ।

अघोषित लोडसेडिङका कारण उद्योगी मर्कामा परेको भन्दै रुपन्देहिका उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणको बुटबल र भैरहवा वितरण केन्द्रमार्फत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगसँग लोडसेडिङको स्पष्ट तालिका प्रकाशित गर्न माग गरेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका उध्यक्ष ठाकुर कुमार श्रेष्ठका अनुसार प्राधिकरणको केन्द्रबाट मौखिक आदेश दिएका कारण रुपन्देहिका उद्योगमा बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजेसम्म उद्योग नचलाउन भनेर लाइन काट्न थालियो ।

‘त्यसैले घोषितरुपमा नै लोडसेडिङको तालिका प्रकाशित गर्न माग गरिएको हो,’ श्रेष्ठले भने, ‘एकातिर लोडसेडिङमुक्त भन्ने अनि अर्कोतिर अघोषितरुपमा विजुली काट्ने गर्न थालेपछि हाल समस्या रहेका उद्योगीहरु झन् मर्कामा पर्न थालेका छन्, त्यसैले हामीले लोडसेडिङको तालिका नै माग गरेका छौं ।’

यसरी दैनिक घन्टौ बिजुली बन्द हुँदा उद्योगमा रहेका कच्चा पदार्थ बिग्रेको, उत्पादन सुचारु नहुँदा वस्तुको अभाव सिर्जना भएको र वस्तुको अभाव हुँदा बजारमा मूल्यवृद्धि हुने भएका कारण पनि उद्योगी निराश भएको उनको भनाइ छ ।

हाल ३३ केभिए तथा ११ केभिए औद्योगिक कोरिडोरका उद्योगहरुमा केही दिनदेखि दैनिक अघोषित विद्युत कटौती भइरहेको छ । उद्योगमा विद्युत कटौती भएका कारण उद्योग सञ्चालन ठप्प रहेको भन्दै उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको पनि उनले बताए ।

‘उद्योगमा केही समययता दैनिक १२ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ रहेको छ,’ श्रेष्ठले भने, ‘पहिले हामीलाई तर्साउन प्रयोग नै नगरेको ट्रंकलाइनको शुल्क लगाइयो, अब अघोषित लोडसेडिङ गरेपछि हामीले डिजेल किन्न पनि छुट पाउँदैनौ ।’

आधा उद्योग पनि नचलेको बेला जुनसुकैबेला कटौती गरेपपछि कतिबेला चलाउने उनले प्रश्न गरे । लोडसेडिङको तालिका दिए त्यहि अनुसार उद्योग सञ्चालन हुने उनको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेशका अनुसार आपूर्तिमा समस्या भएको कारण उद्योगमा बिजुली अनियमित भएको हो । तर, उद्योगीहरु भने अघोषित लोडसेडिङ नै भएको बताउँछन् ।

पानी नपरेका कारण हाल विजुली उत्पादन घटेको छ । प्राधिकरणको पनि नगद प्रवाहमा समस्या भएका कारण भारतबाट चाहेजति किन्न पनि सकेको छैन ।

‘त्यसोभए किन लाज मान्ने, सत्यतथ्य बताएर घोषित लोडसेडिङ गरे भइहाल्यो नि,’ सिद्धार्थ उद्योग वाणिज्य संघका उध्यक्ष श्रेष्ठ भन्छन्, ‘हामी पनि यति त बु्झ्छौं । तर, विना सुचना लोड म्यानेज गर्ने नाममा उद्योग बन्द गराउने कार्य तुरुन्त बन्द गर्नु पर्छ।’

वास्तवमा तराइका धेरेजसाे जिल्लामा हाल अघोषित लोडसेडिङ नै छ । तर प्राधिकरण भने यसलाइ स्विकार गर्न तयार छैन ।


क्लिकमान्डु