विश्वभरकै वितरण प्रणालीमा प्रभाव पार्ने रेड सीमा किन भिडे इरान-पाकिस्तान ?



एजेन्सी । यसै हप्ता इरानले पाकिस्तानमा मिसाइल आक्रमण गर्‍यो । त्यसको जवाफमा पाकिस्तानले पनि इरानमा मिसाइल आक्रमण गर्‍यो ।

केही समययता लाल सागर(रेड सी)मा भारतीय जहाजमाथि भएको आक्रमणपछि इरान र पाकिस्तानले एक अर्कामाथि आक्रमणले यस उपमहाद्वीप र खाडीको सुरक्षा आपसमा जोडिएको विषय बाहिरिएको छ ।

इण्डियन एक्सप्रेसले अन्तर्राष्ट्रिय मामलाका जानकार सी राजा मोहनको एक विश्लेषण प्रकाशन गरेको छ जसमा उनी भन्छन्- कि लामो समयददेखि भारतीय उपमहाद्वीप र खाडीका बीचको भूराजनीति आपसमा जोडिएको छ तर इरान र पाकिस्तानको यो आक्रमणपछि अब यो दुइ क्षेत्रीय सुरक्षाका लागि एक अर्काका लागि अधिक महत्वपूर्ण हुने छन् । मोहनले नचाहे पनि भारत, पाकिस्तान र अफगानिस्तान मध्यपूर्वमा आएको यो अस्थिरताको भूमरीको गहिराईमा फस्न सक्छन् ।

मध्यपूर्वमा एकपछि अर्को गरी विभिन्न स्थानमा द्वन्द्व उत्पन्न भइरहेकै बेला इरानमाथि पाकिस्तानले प्रत्याक्रमण गरेको हो ।इजरायल गाजामा प्यालेस्टिनी समूह हमासँग लडिरहेको छ भने लेबननस्थित इरान समर्थित हिजबुल्लाहसँग पनि उसको द्वन्द्व जारी छ ।

पहिला इरानले पाकिस्तानको बलूचिस्तान क्षेकोको सीमा नजिक रहने बलोच समुदायका मानिसलाई निशाना बनाया थियो । जवाफमा पाकिस्तानले इरानको सिस्तान-बलुचिस्तान प्रान्तमा यही समुदायका मानिसलाई निशाना बनाएको छ ।

इरानले पाकिस्तानी-इरानी सीमा क्षेत्रमा सक्रिय सुन्नी लडाकु समूह जैश अल-अदललाई संयुक्त राज्य अमेरिका र इजरेलको समर्थन रहेको दाबी गरेको छ । उक्त समूहले विगतमा इरानी सुरक्षा फौजहरूमाथि भएका कैयौँ आक्रमणको जिम्मेवारी दाबी गरेको छ ।

जैश अल-अदलको अर्थ न्याय र समानताको सेना हुन्छ । उक्त लडाकु समूहले इरानी सरकारको विरोध गर्दै आएको छ । उसले इरानको सिस्तान-बलोचिस्तान प्रान्तमा ‘सुन्नी अधिकारको रक्षक’ का रूपमा आफूलाई चिनाउँदै आएको छ । उक्त समूह पहिला जुन्दुल्लाह अर्थात्‌ ईश्वरका सेना नामले चिनिन्थ्यो ।

इरानले सन् २००९ मा सो लडाकु समूहका प्रमुख अब्दुलमलिक रिगीलाई इरानी सुरक्षा फौजहरूमाथि बम हमला गराएको र बेलायत तथा अमेरिकाको जासुस भएका आरोपमा गिरफ्तार गर्‍यो । सन् २०१० मा झुन्ड्याएर उनलाई मृत्युदण्ड दिइयो ।

त्यस बेला पूर्वपाकिस्तानी कूटनीतिज्ञले रिगीको गिरफ्तारीमा पाकिस्तानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।

अमेरिकी गुप्तचरीका अनुसार सन् २००५ मा पूर्वराष्ट्रपति महमुद अहमदीनेजादमाथि भएका आक्रमणसहित इरानमा गराइएका थुप्रै विस्फोटका घटनामा जैश अल-अदलको संलग्नता छ । जैश अल-अदलले दाबी गरेका अधिकांश हमलाहरू सिस्तान-बलुचिस्तान प्रान्तमा भएका छन् ।

इरानी रिभोल्युश्नरी गार्ड्स कोर (आईआरजीसी) ले इराक र सिरियामा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको भोलिपल्ट तेहरानले पाकिस्तानमा हमला गरेको हो । पूर्वमन्त्री तथा विदेश नीतिविज्ञ मुशाहिद हुसैनका अनुसार इरानी कदम पाकिस्तानका लागि अचम्मित तुल्याउने खालको थियो । ‘मेरो विश्लेषणमा यो उनीहरूले निकै गोप्य योजना बनाएर चालेको कदम जस्तो देखिन्छ। आईआरजीसीले कारबाही गरेको हुनुपर्छ र यसलाई बृहत्‌ रूपमा हेर्नुपर्छ,’ हुसेनले भने ।

उक्त हमलाबाट द्विपक्षीय सम्झौता र अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन भएको र गाजामा नरसंहार भइरहेका बेला झन् इस्लामिक एकता हुनुपर्ने मर्मलाई बेवास्ता भएको उनी बताउँछन् । इजरायलप्रति रिस पोख्नुको सट्टा तेहरानले २४ घण्टाको अवधिमा तीनवटा मुस्लिम मुलुकमा हमला गरेको उनले बताए ।

मध्यपूर्वको द्वन्द्वमा इरान

इरानबाट समर्थन प्राप्त समूहहरूले इराक र सिरियामा अमेरिकी सेनालाई निसाना बनाइरहेका छन् । बेलायत र अमेरिकाले यमनमा इरान समर्थित हूथी विद्रोहीहरूमाथि आक्रमण गरेका छन् ।

हूथी लडाकुहरूले रेड सीमा कार्गो पानीजहाजहरूमा आक्रमण गरिरहेका छन् । पाकिस्तान र इरानले लामो समयदेखि एकअर्कालाई आतङ्ककारी समूहहरूलाई शरण दिएको आरोप लगाउँदै आएका छन् । ती समूहहरूले एउटा देशबाट अर्को देशतर्फ आक्रमण गर्ने गरेका छन् ।

चीनले पाकिस्तान र इरानलाई संयमित हुन र तनाव बढ्ने गतिविधि नगर्न आह्वान गरेको छ । विश्लेषकहरू मध्यपूर्वमा अहिले देखिएको अस्थिरताका कारण आक्रमण गर्न इरान प्रेरित हुन सक्ने ठानेको बताउँछन् ।

रड सीमा तनाव

ग्रीक स्वामित्वको माल्टाको झण्डावाहक एउटा पानीजहाजमाथि रेड सीमा यमनको तटभन्दा पर क्षेप्यास्त्र हमला गरिएको जलसुरक्षा कम्पनी अम्ब्रेले जनाएको बीबीसीले उल्लेख गरेको छ । चौबीस घण्टाभित्रै यो उक्त विशाल मालवाहक पानीजहाजसँग सम्बन्धित तेस्रो घटना हो । जोग्राफिया नाम भएको उक्त पानीजहाजमा सामान्य क्षति पुगेको बताइएको छ । हूथी लडाकुहरूले सोमवार सोही प्रकृतिको पानीजहाजमाथि हमला गरेको बताएका थिए ।

मङ्गलवार अमेरिकी सेनाले एक कारबाहीका क्रममा गत साता हूथी विद्रोहीहरूतर्फ पठाइँदै गरेका इरानमा निर्मित हतियारहरू जफत गरिएको भनेर घोषणा गर्दैगर्दा थप क्षेप्यास्त्र हमला भएका हुन् । अमेरिकी सेनाका अनुसार बलिस्टिक र क्रूज क्षेप्यास्त्रका पार्टपुजा लगायतका उपकरण बरामद गरिएको हो । उक्त कारबाहीमा पाँच दिन लागेको थियो । हवाई प्रतिरक्षासम्बन्धी उपकरणहरू पनि बरामद गरिएको अमेरिकाले जनाएको छ।

अमेरिकाले हूथी नियन्त्रित यमनी भूभागमा थप प्रहारहरू गरेको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई एक अधिकारीले बताएअनुसार अमेरिकाले सोमवार राति हूथी आधारहरूमा थप हमला गरेको थियो । इरानको साथ रहेको उक्त विद्रोही समूहले रेड सीमा पानीजहाजहरूमाथि प्रहार गर्न थालेपछि ११ ज्यानुअरीमा अमेरिका र यूकेले हुथिहरूविरुद्ध कैयौँ हमलाहरू गरेका थिए । तर पछिल्लो अमेरिकी कारबाहीमा कहाँकहाँ प्रहार गरियो भन्ने चाहिँ अहिलेसम्म खुलाइएको छैन । हूथीहरूले बदला लिइने बताइरहेका छन् ।

अमेरिकाले भने आइतवार यमनको हूथी क्षेत्रबाट आफ्नो एक युद्धपोततर्फ प्रहार गरिएको क्षेप्यास्त्र खसालिदिएको जनाएको छ।

इजरायल-हमास युद्ध सुरु भएपछि त्यसको विरोधस्वरूप भन्दै नोभेम्बरयता हूथी समूहले कैयौँ पानीजहाजलाई निशाना बनाएको छ ।

हूथीहरूले भने आफूले इजरायली स्वामित्वको, उसको झण्डावाहक वा उसद्वारा सञ्चालित वा इजरायली बन्दरगाहतर्फ गइरहेका पानीजहाजलाई निशाना बनाएको बताएका छन् ।

हुथी विद्रोहीहरुले केही समयअघिबाट रेड सी (लाल सागर)मा रहेका मालबाहक जहाजमाथि हमला गरिरहेका छन् । मुख्यतः इजरायलतर्फ जाने जहाजमा आक्रमण गरेको दाबी गरे पनि हुथीहरुको यो कदमले विश्वभरकै वितरण प्रणालीमा असर पर्ने अवस्था सिर्जना भएको छ । यसैको प्रतिकारमा अमेरिका र बेलायतले यस्तो कदम चालेको दाबी गरेका छन् ।

इरानको समर्थनमा रहेको हुथी विद्रोही समूहले प्यालेस्टाइन र हमासको समर्थनमा भन्दै लाल सागरमा चल्ने मालबहाक जहाज र उक्त रुटमा केही समयबाट आक्रमण गरिरहेको छ । रेड सि विश्वभर जहाजबाट हुने वितरणको १५ प्रतिशत हिस्सा ओगटेको क्षेत्र हो ।

बाल एल मान्डाब, २० माइल लामो क्यानल हो, जुन अफ्रिकी भागमा इरिट्रा, डिजिबुटी र अरबियन भागमा यमनसँग जोडिएको छ । प्रमुखतः दक्षिणी क्षेत्रबाट यात्रा गर्ने जहाजहरुले इजिष्टको सुइज क्यानल(नहर) मार्फत थप उत्तरतर्फ यात्रा गर्न यो मार्ग लिने गर्छन् ।

तर, यो क्षेत्रमा हुथी विद्रोहीहरुले गरिरहेको आक्रमणका कारण विश्व व्यापारको वितरण प्रणाली प्रभावित हुने भएको छ । लाल सागर र सुइज क्यानलको बाटो प्रयोग गर्दा ठूला जहाजलाई यात्रा गर्न २५.५ दिन लाग्छ, जुन केप अफ गुड होपको बाटो प्रयोग गर्नुभन्दा झण्डै १० दिन कम हो । हाल विश्व व्यापार र वितरण प्रणालीमा यो मार्गको उच्च भूमिका छ ।

सुइज क्यानल वा भारतीय महासागरको बाटो भएर चल्ने जहाज लालसागर र बाब अल मान्डाबको बाटो भएर हिँड्नुपर्छ । सुइज क्यानल एसिया र युरोपबीचको सबैभन्दा छोटो समुन्द्री बाटो हो । मुख्यतः प्राकृतिक ग्यास र तेलको वितरण यो बाटोबाट हुने गर्छ ।

तथ्यांक संकलन तथा विश्लेषण गर्ने संस्था भोर्टेक्साको सन् २०२३ को तथ्यांकअनुसार दैनिक यो बाटोबाट ९० हजार ब्यारल तेलको वितरण हुने गरेको छ । वर्षेनी १७ हजार जहाज र वैश्विक व्यापारको १२ प्रतिशत हिस्सा यहि मार्गबाट हुने गरेको छ ।

मध्यपूर्व, उत्तर अफ्रिका र युरोपमा खाडी र एसियालगायतका देशबाट आयात हुने १५ प्रतिशत सामग्रीहरु समुन्द्री बाटोबाट हुने गरेका छन् । तेलको मात्रै नभएर उपभोग्य वस्तुदेखि विद्युतीय सामग्रीहरु समेत यही रुटमा भर पर्छन् । तर, हुथी विद्रोहीहरुले अचानक यो मार्गबाट यात्रारत जहाजमाथि गरेको हमलाले भने अवस्था नाजुक बनाउने देखिएको छ । हुथी विद्रोहीहरुले झण्डै १ सय ड्रोन र मिसाइलबाट लाल सागरमा रहेका जहाजमाथि हमला गर्दा १० जहाजहरुले आफ्नो बाटो परिवर्तन गर्नु परेको बीबीसीले जनाएको छ ।

लाल सागरबाट जहाजहरुको रुट परिवर्तन गर्नुपर्ने अवस्था निम्तिँदा विश्व व्यापारमा प्रभाव त पर्छ नै । यसले मुख्य गरि उपभोग्य वस्तुहरुमाथि बढी प्रभाव पार्ने सी एण्ड पी ग्लोबल मार्केट इन्टिलिजेन्समा वितरण प्रणाली अनुसन्धान विभागका प्रमुख क्रिस रोजर्स बताउँछन् ।


क्लिकमान्डु