नेपाली कागजको माग बढी, उत्पादन कम



गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ ।

स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ । तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले उद्योगले मागअनुसारको कागज उत्पादन गर्न सकिएको छैन । उद्योगका सञ्चालक मोतिराज गौतमले कागजको बजारमा अत्यधिक माग हुँदा पनि मागअनुसारको उत्पादन गर्न नसकिरहेको जानकारी दिए ।

उनका अनुसार बजारमा जापानिज प्रविधिबाट उत्पादित कागज स्थानीय हाते प्रविधिबाट बनाइएको कागजभन्दा सस्तो छ । गुणस्तरमा स्थानीय कागज, जापानिज प्रविधिको भन्दा ७५–८० प्रतिशत सुरक्षित र बलियो हुने भए पनि जापानिज प्रविधिको कागजसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताको सङ्कलन गर्न कानुनी प्रक्रिया पूरा गर्न पनि झन्झटिलो हुन्छ । लोक्ता सङ्कलन गर्न वनमा जाने र उद्योगमा काम गर्ने जनशक्ति नपाइनु अर्को समस्या हुने गरेको उनले बताए ।

यस उद्योगमा समयानुसार विभिन्न साइजका कागजको माग हुने गर्छ । कार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धुप निर्माण गर्ने छ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजको माग बढी हुने गरेको उद्योग सञ्चालक गौतमले बताए ।

‘मागका आधारमा हालको उत्पादनले पूर्ति गर्न सकिएको छैन । विशेषगरी १८–२० ग्राम र छ–सात ग्रामको कागज माग बढी छ । त्योमाग पूरा गर्न सकिएको छैन’, उनले भने ।

उद्योगमा चुनौती धेरै रहेका गौतमले सुनाए । ‘नियमित कच्चा पदार्थ लोक्ता अभाव हुन्छ । बाह्रै महिना उत्पादन गर्न सकिँदैन । वर्षात्को समय र हिउँदमा पनि घाम नलाग्दा, पानी पर्दा उत्पादन गर्न सकिँदैन । जसका कारण कामदार टिकाउन समस्या हुन्छ’, उनले भने ।

कामदारको अभाव, विद्युत्को अनियमितता, उपकरण फ्रेम मर्मतसम्भार, विद्युत्बाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उनको भनाइ छ । उद्योगको दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय ताउसम्म कागज उत्पादन गर्नसक्ने क्षमता छ ।

स्थानीय प्रविधिबाट नेपाली कागज उत्पादन गर्दा उत्पादन खर्च अत्यन्त महँगो भए पनि जिल्लाको पहिचान र स्थानीय उत्पादनको संरक्षणका लागि आफूले यो उद्योगलाई निरन्तरता दिइरहेको उनले बताए ।

स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ लोक्ताको सङ्कलन गर्न सरल नीति बनाइदिने हो भने म्याग्दीमा नेपाली कागज उद्योगको राम्रो सम्भावना रहेको उनले बताए ।

‘अहिले उत्पादन खर्च नै बढी छ, तर पनि उद्योगलाई निरन्तरता दिइरहेको छ’, उनले भने । उद्योगमा अहिले प्रत्यक्ष चारजना र अप्रत्यक्ष १० जनाले रोजगारी पाइरहेका छन् ।

म्याग्दीको माथिल्लो पहाडी भेग (तीन हजारदेखि तीन हजार दुई सय मिटरको उचाइ)मा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बरुवा (लोक्ता)का बोट छन् । तर त्यसबाट लोक्ता (पुवा) निकाल्ने कामदारको अभाव छ । उद्योग, कामदार र खेर जाने यस्ता वन पैदावारलाई प्रोत्साहन गर्न कतैबाट पहल नभएको उनको गुनासो छ ।

जङ्गलमा बरुवा जातको (लोक्ता) बुट्यान वनस्पति खेर गइरहेको छ । तर वन डिभिजन कार्यालयले सङ्कलनका लागि अनुमति दिँदैन । अनुमति दिएपछि पनि बरुवा जातको वनस्पतिबाट लोक्ता (बोक्रा) निकाल्ने, त्यसलाई सफा गर्ने, सुकाउने काम अत्यन्त झन्झटिलो हुँदा कामदार पाउन मुस्किल हुने गरेको उनले बताए ।

विसं २०७५ मा स्थापना भएको यस उद्योगले अहिले कार्यालयमा चाहिने ‘एफोर’ साइजको कागज उत्पादन गर्न थालेको छ । कागजको माग बेनी, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका सहरबाट आउने गरेको र एउटा मात्र उद्योग भएका कारण माग भएजति उत्पादन गर्न नसकेको गौतम बताउनुहुन्छ । उद्योगमा नेपाली कागजका अतिरिक्त नोटबुक, फाइल, हलुका र रङ्गीन वस्तु पनि निर्माण गर्ने गरिएको छ ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमसुङ, रघुगङ्गाको पाखापानीमा रहेका नेपाली कागज उद्योग अहिले बन्द अवस्थामा छन् । तर ती उद्योग सञ्चालनका लागि स्थानीय सरकार र सम्बन्धित निकायले सहयोग नगरेको सञ्चालक गौतमको भनाइ छ ।


क्लिकमान्डु