उत्तर-दक्षिण व्यापारिक राजमार्ग करिडोरः बक्यौता करिब १५ अर्ब, बिनियोजन ४ अर्ब मात्रै



काठमाडौं । रणनीतिक व्यापारिक र सामरीक महत्त्व बोकेको उत्तर-दक्षिण व्यापारिक राजमार्ग पनि अन्य आयोजनाजस्तै वन क्षेत्र र जग्गा अधिग्रहणमा लाग्ने क्षतिपूर्तिकै जालोमा फसेर थला परेको छ ।

काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) र हुलाकी राजमार्ग समयमै निर्माण सम्पन्न हुन नसक्नुमा घरटहरा र जग्गा अधिग्रहण, क्षतिपूर्ति विवाद तथा वन क्षेत्र प्रमुख समस्याको रुपमा देखा परेजस्तै उत्तर-दक्षिण व्यापारिक राजमार्ग निर्माणमा पनि सोही समस्या भेटिएका छन् ।

उत्तर दक्षिण ब्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका आयोजना निर्देशक प्रेमप्रकाश खत्रीकाअनुसार उत्तरमा चीनको सीमा र दक्षिणमा भारतको सीमासँग जोडेर ति दुवै मुलुकसँग आर्थिक र व्यापारिक गतिविधि बढाउने उद्देश्यले सुरु भएको उत्तर-दक्षिण व्यापारिक राजमार्ग म्याद थप भएर पनि निर्धारित समयमा सम्पन्न हुनेमा स्वयं निर्देशनालयसमेत आशंका व्यक्त गर्छ ।

‘आयोजनाहरु समयमा सम्पन्न हुन नसक्नुमा मुख्यतः जग्गा अधिग्रहण र मुआब्जा विवाद, वन क्षेत्रको रुख कटानी, अपर्याप्त बजेट, निर्माण सामग्रीको अभाव र केहि मौसमजन्य समस्याहरु छन्,’ निर्देशनालयका निर्देशक प्रेमप्रकाश खत्रीले भने,‘हाम्रो आयोजनामा पनि त्यहि समस्याहरु भेटिएकाले जुन गतिमा काम हुनुपर्ने थियो, हुन सकेको छैन । हाम्रो आयोजनामा केही भगौलिक विकटताजस्ता समस्या पनि ठूलो चुनौतीको रुपमा देखा परेको छ ।’

उत्तरी छिमेकी मुलुक चीन र दक्षिणी छिमेकी मुलुक भारतसँग व्यापार विस्तार गर्ने उद्देश्य राखेर सुरु भएको यो आयोजनाअन्तर्गत सरकारले १५ वटा सडक खण्ड निर्माण गर्ने लक्ष्य तोकेको छ ।

यसमध्ये ३ वटा उत्तर-दक्षिण व्यापारिक राजमार्ग करिडोर कोशी करिडोर, कालिगण्डकी करिडोर (२ आयोजना) र कर्णाली करिडोर (२ आयोजना) लाई सरकारले २०६६ सालदेखि राष्ट्रिय गौरबको आयोजनामा समावेश गरि निर्माण कार्य अघि बढारहेको छ ।

यसबाहेक यो आयोजनाअन्तर्गत तमोर करिडोर, रानी-बिराटनगर-इटहरी-धरान करिडोर, जटही- जनकपुर-ढल्केवर, बीरगञ्ज-पथलैया, कान्तिपथ, बेलहिया-बुटबल, सालझण्डी-सन्धीखर्क, सहिदमार्ग -घोराही, मोहना पुल- अत्तरिया-धनगढी र भेरी करिडोर सडक योजनलाई पनि अघि बढाइएको छ ।

राष्ट्रिय गौरब आयोजनामा समावेश गरेर काम अघि बढाइए पनि अन्य आयोजनाको जस्तै समस्या यो आयोजनामा पनि निम्तिएकाले द्रुतगतिमा निर्माण कार्य अघि बढ्न नसकेको बताइएको छ ।

निर्देशनालयअन्तर्गत राष्ट्रिय गौरब आयोजनामा समावेश गरिएका र समावेश नभएका आयोजनाको चालु आर्थिक बर्षमा भुक्तानी गर्न नै १४ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ बक्यौता छ ।

तर सरकारले चालु आर्थिक बर्षका लागि ४ अर्ब ६ करोड ५३ लाख रुपैयाँ मात्रै बिनियोजन गरेको छ । वजेट अभाका कारण चाहेर पनि काम अघि बढाउन नसकेको र ठेक्केदारले समेत चासो नदेखाएको निर्देशनालयले जनाएको छ ।

यस्तो छ राष्ट्रिय गौरब आयोजनामा समावेश भएका उत्तर दक्षिण ब्यापारिक मार्गको अवस्था:

कोशी करिडोर

कोशी राजमार्ग विराटनगरको रानी भन्सारदेखि संखुवासभाको किमाथाङ्का सीमासम्म पुग्ने राजमार्ग आर्थिक विकासको दृष्टिले अत्यन्त महत्वपूर्ण सडक हो । अरुण नदीको किनारै किनार चीनको तिब्बती शहर रियुमा जोडिने उत्तर दक्षिण यो राजमार्गको निर्माण सम्पन्न हुँदा नेपाल चीन र भारतबीच ब्यापार बढ्ने अपेक्षा गरिएको छ । यो राजमार्गको उत्तरी सीमा विन्दु किमाथाङ्काबाट तिब्बतको दोश्रो ठूलो व्यापारिक शहर सिगात्से ३०० किलोमिटर दूरीमा पर्छ ।

अर्कोतर्फ दक्षिणी सीमा विराटनगरबाट भारतको कोलकात्ताबाट सामान ओसारपसार हुने धेरै पुरानो नाका हो । किमाथाँकाहुँदै सिगात्से जोडिने सडक अरुण नदीको तिरैतिर पर्ने भएकलो उच्च हिमाली क्षेत्र भएपनि हिंउ वाधक नपर्ने बताइएको छ ।
यो सडक सम्पन्न भएपछि विराटनगर हुँदै वंगलादेश, भारत, चीन, भुटानको समेत ब्यापारिक साझेदारी केन्द्रको रुपमा विकास हुन सक्ने अवस्था छ ।

दक्षिणी नाका मोरङ्गको रानीदेखि संखुवासभाको किमाथाङ्का जोड्ने यो राजमार्ग ३८५ किलोमिटर लामो छ । आर्थिक बर्ष २०६५/६६ मा सुरु भएको यो आयोजनाको नाम उत्तर-दक्षिण कोशी सडक योजना खाँदवारी किमाथाङ्का राखिएको छ ।
यो सडकको पुनः म्याद थपेर निर्माण सम्पन्न हुने अवधी आगामी आर्थिक बर्ष २०८३/८४ तोकिएको छ । यो योजनाको कूल लागत ११ अर्ब ९३ करोड रुपैयाँ छ ।

हालसम्म यो सडक खण्डमा ७ अर्ब १५ करोड ४२ लाख रुपैयाँको ठेक्का लागेर ५ अर्ब ६ करोड रुपैयाँ खर्च भइसकेको छ । समग्रमा यो सडकको ४२ प्रतिशत भौतिक र वित्तिय प्रगति भएको छ ।

खाँदबारी किमाथाङ्का १६२ किलोमिटरमध्ये १४ किलोमिटर खण्डमा नेपाली सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ । रानीदेखि संखुवासभाको सदरमुकाम खाँदवारीसम्म कालोपत्रे भइसकेको छ । खाँदवारीदेखि नमुसम्मको ४० किलोमिटर खण्डमा स्तरोन्नती काम हाल भइरहेको निर्देशनालयले जनाएको छ ।

संखुभासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको छुङसुरसम्म सडक निर्माणको कार्य सुरु भएको छ । अहिले ८ वटा प्याकेजमा ठेक्का व्यवस्थापन भएर निर्माण कार्यलाई अघि बढाइएको बताइएको छ ।

समस्या

अत्याधिक वर्षा र हिमपातले गर्दा निर्माण अवधि कम हुनाले ठेक्काहरु समयमै सम्पन्न गर्न समस्या आएको छ । प्रतिकूल मौसमका कारण निर्माण सामाग्री ढुवानीमा समस्या आउनुका साथै बरुण खोला पारी सडक स्तोरउन्नती तथा विभिन्न खोलामा पक्की पुल निर्माण नहुँदा निर्माण सामग्री तथा खाद्य सामाग्री ढुवानीमा समस्या भएको छ ।

कालिगण्डकी करिडोर

नेपालको मध्यभागबाट उत्तर सीमा कोरोलादेखि दक्षिण सीमा ठोरीसम्म जोड्ने यो सडक ४४७ किलोमिटर लामो छ । यो करिडोरअन्तर्गत दुई खण्ड छन् । पहिलो खण्डअन्तर्गत २४५ किलोमिटर सडक पर्छ । यस्तै दोश्रो खण्डअन्तर्गत २०२ किलोमिटर सडक पर्छ ।

मुस्ताङ्गको उपल्लो भाग जोमसोमबाट कोरोला ११० किलोमिटर सडकमा पानी कम पर्ने भएकाले बाढी पहिरोका कारण बाटो वन्द हुने सम्भावना न्यून छ । १६ गाबिसमध्ये छोसेर छोनुप सुर्खानन धमी चाराङ्गसहित ६ वटा गाबिसको दैनिक जीवनयापन तिब्बती सीमासँग जोडिएको छ ।

तिब्बतको सागा शहरबाट कोरोला नाकाहुँदै चिनियाँ ट्रकमा सामान आयात हुन्छ । सागा तिब्बतको दक्षिणी राजमार्गले छोएको शहर हो । यो हिसाबले ४४७ किलोमिटर लामो यो सडक स्थायी नाकाको रुपमा विकास गर्न सकिन्छ ।

कालिगण्डकी पहिलो खण्ड

पहिलो आयोजना अन्तर्गतको सडक आर्थिक बर्ष २०६६/६७ देखि सुरु भएको थियो । पटक पटक म्याद थपेर यसको निर्माण सम्पन्न हुने अवधी आगामी आर्थिक बर्ष २०८३/८४ तोकिएको छ । यसको संशोधितसहितको लागत २५ अर्ब २२ करोड रुपैयाँ तोकिएको छ ।

अहिलेसम्म यो खण्डमा १६ अर्ब ४ करोड रुपैयाँबराबरको ठेक्का लागेकोमा ७ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । यो सडकको भौतिकतर्फ ४० प्रतिशत र वित्तियतर्फ ३५ प्रगतिमात्रै भएको छ ।

आयोजनाका अनुसार कूल २४५ किलोमिटर सडकमध्ये १३१.७ किलोमिटरको गैडाकोट-पिपलडाँडा-राम्दी सडक खण्ड र ११३.७ किलोमिटरको उत्तर दक्षिण सडक खण्ड पर्छ ।

चालु आर्थिक बर्षमा यो सडकअन्तर्गत कालोपत्रे गर्न १० वटा ठेक्का भएको थियो । जसअनुसार १७९ किलोमिटर खण्डमा कालोपत्रे सम्पन्न भएको छ । यस्तै १४ किलोमिटरको अर्मादी फलेवास सडक खण्ड र १८ किलोमिटरको राम्दी रानी महल सडकको कालोपत्रे गर्न ठेक्का लगाउन बाँकी छ ।

यस्तै पुलतर्फ चालु आर्थिक बर्षमा १४ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म ७ वटाको मात्रै सम्पन्न भएको छ । बाँकी पुलहरुको निर्माण भइरहेको छ । यस्तै १७ वटा पुल निर्माण गर्न ठेक्का लगाउन बाँकी छ ।

यो सडकको कूल खण्डमध्ये पहिलो खण्ड गैडाकोट राम्दी मालढुङ्गा सडक २४५ किलोमिटर स्तरोउन्नती सडक सुधार तथा विकास योजना अन्तर्गत गैडाकोट राम्दी मालढुङ्गा सडक योजना कार्यालय पाल्पाबाट कार्यान्वयन भइरहेको छ ।

समस्या

भौगर्भिक समस्याका कारण मनसुन तथा अन्य समयमा पहिरो गएर सडक अवरुद्ध भइरहने समस्याका कारण निर्माण कार्य प्रभावित भएको निर्देशनालयका निर्देशक खत्रीले बताए । यो सडक योजना अन्तर्गत रिड्प मातहत निर्माणाधिन गैडाकोट-रामपुर-पिपरडाँडा सडक खण्ड १३१.७ किलोमिटरमध्ये ७ किलोमिटरमा वन क्षेत्रको रुख काट्ने बिषयमा हालसम्म अनुमति नपाइंदा निर्माण कार्य प्रभावित भएको छ ।

कालिगण्डकी दोश्रो खण्ड

राष्ट्रिय गौरबको आयोजनामा परेको कालिगण्डकी ब्यापारिक राजमार्ग अन्तर्गत दोश्रो खण्ड मालढुङ्गा-बेनी-जोमसोम-कोरोला पर्छ । यसको कूल लम्बाई २०२ किलोमिटर छ ।

आयोजनाका अनुसार २०२ किलोमिटरमध्ये १३ किलोमिटरको मालढुंगा-बेनी, ७४ किलोमिटरको बेनी-जोमसोम र ११५ किलोमिटरको जोमसोम-कोरोला सडक पर्छ ।

आर्थिक बर्ष २०७३/७४ देखि सुरु भएको यो सडक खण्डको म्याद थपेर २०८१/८२ मा सम्पन्न हुने लक्ष्य तोकिएको छ ।

यसको लागत खर्च १० अर्ब ५७ करोड रुपैयाँ तोकिएको छ । जसमध्ये हालसम्म ७ अर्ब ८३ करोड रुपैयाँको ठेक्का लागेकोमा ५ अर्ब ८४ करोड रुपैयाँ खर्च भइसकेको छ । यो योजनातर्फ हालसम्म भौतिक प्रगति ७७ र वित्तियतर्फ ७४ प्रतिशत प्रगति भएको छ ।

यो सडक खण्डअन्तर्गत कालोपत्रेतर्फ ८ ठेक्कामध्ये १ वटा ठेक्का हालसम्म सम्पन्न भएको छ । ग्राभेलतर्फ ७ मध्ये ६ वटा सम्पन्न भएको छ । यस्तै २५ किलोमिटर ग्राभेल सडक ८५ प्रतिशतसम्म सम्पन्न भएको छ ।

११५ किलोमिटरको जोमसोम कोरोला सडक खण्डअन्तर्गत २५ किलोमिटर खण्डमा ग्राभेल गर्न बाँकी छ । ७४ किलोमिटरको बेनी जोमसोम सडक खण्डमा २८ किलोमिटरमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

यस्तै भिरकाटेमा ३ सय मिटर टनेल निर्माणको कार्यको लागि विस्तृत अध्ययन गर्ने काम भइरहेको छ । त्यस्तै कागबेनी लोमान्थांग कोराला खण्ड कालोपत्रे गर्नका लागि स्रोत सुनिश्चितता तथा बहुबर्षीय ठेक्का लगाउने प्रक्रिया अघि बढाइएको छ ।

पुलतर्फ ३८ वटामध्ये १५ वटा निर्माणाधिन अवस्थामा छ भने १९ वटाको डिजाइन गर्ने काम भइरहेको छ । ५ वटा पुलको निर्माण सम्पन्न भएको छ । रुप्सेमा आएको बाढी पहिरोका कारण निर्माणाधीन पुल पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

समस्या

तातोपानी कुण्डमा सडक विस्तार कार्यमा सडकको सीमा परिवर्तनको माग आएका कारण समस्या परेको छ । भौगोलिक धरातल कमजोरका कारण अत्यधिक नदी कटान र पहिरो जाने समस्याले निर्धारित समयमा काम गर्न समस्या भएको निर्देशनालयका निर्देशक खत्रीले बताए ।

सडक सीमाभित्रको रुख कटान र स्थानीय निर्माण सामग्री उत्खननमा वन तथा स्थानीय निकायको समन्वय नहुँदा निर्माण कार्य प्रभावित भएको छ ।

घरटहराको क्षतिपूर्ति रकम अपुग र समयमा घरटहरा नहटाइएका कारण पनि यो खण्डमा निर्माण कार्यले गति लिन नसकेको औल्याइएको छ ।

कर्णाली करिडोर

कर्णाली राजमार्ग उत्तर दक्षिण जोड्ने सडकमध्ये यो योजना महत्वकाँक्षी हो । यो सबैभन्दा कठिन भूगोल भएको स्थानमा निर्माण भइरहेको छ ।

हिल्सा-सिमिकोट सडक नामाकरण भएको यो आयोजना आर्थिक बर्ष २०६६/६७ देखि सुरु भएको हो । म्याद थप भएर यो आयोजना आगामी आर्थिक बर्ष २०८३/८४ मा सक्ने लक्ष्य निर्धारण गरिएको छ ।

यसको कूल लागत ६ अर्ब ६६ करोड १९ लाख रुपैयाँ छ । अहिलेसम्म २ अर्ब ३० करोड ९२ रुपैयाँबराबरको ठेक्का लागेकोमा १ अर्ब ३६ करोड रुपैयाँ खर्च भइसकेको छ । हालसम्म भौतिकतर्फ २४ र वित्तियतर्फ २०.४१ प्रतिशत प्रगति भएको छ ।

कूल सडकको लम्बाईमध्ये २६८.६५ किलोमिटर(४० किलोमिटर कालिकोट-खुलालु-लैफु), बाजुरा-लैफु-कवाडी(४४ किलोमिटर) र हुम्ला-कवाडी-सिमिकोट-हिल्सा(१९४.६५ किलोमिटर) सडक खण्डहरु पर्छन् ।

यो राजमार्गको नेपालगञ्जको जमुनाह नाकादेखि हुम्लाको सीमा हिल्सासम्म जोड्ने लक्ष्य राखिएको छ । यो राजमार्ग उत्तर दक्षिण जोड्ने राजमार्गमध्ये सबैभन्दा लामो ६८२ किलोमिटरको सडक हुने बताइएको छ ।

हालसम्म सडकतर्फ २० वटा ठेक्का लागेको छ । जसमध्ये ३ वटा ठेक्का चालु आर्थिक बर्षमा सम्पन्न भएको छ । १ वटाको निर्माण कार्य सम्पन्न भएको र बाँकी १ ठेक्का सुस्त गतिमा चलिरहेको छ ।

यस्तै ५ वटा पुलको ठेक्काअन्तर्गत ११ वटा पुल चालु आर्थिक बर्षमा सम्पन्न हुनुपर्नेमा ५ वटा मात्रै सम्पन्न भएको छ । बाँकी पुलहरुको निर्माण कार्य ९५ प्रतिशत सकिएको छ ।

हिल्सा सिमिकोट सडक अन्तर्गत ९५ किलोमिटरमध्ये सम्पूर्णको ट्रयाक खोलिएको छ । ५० किलोमिटरको सिमिकोट सल्लिसल्ला सडक खण्डमध्ये ३८ किलोमिटरमा ट्रयाक खोलिएको छ र सल्ली सल्ला सडक खण्डको ५० किलोमिटरमध्ये लालि बगरदेखि छारे सडक खण्डको ८.५ किलोमिटर खण्ड नेपाली सेनालाई ट्रयाक खोल्न जिम्मा दिइएको छ ।

बाँकी ४ किलोमिटरको सिमिकोटदेखि स्याम्ने सडक खण्डमा स्थानीय बासिन्दाले मुआब्जासम्वन्धी विवाद सिर्जना गरेका कारण अवरुद्ध छ ।

१२२.७५ किलोमिटरको खुलालु सल्ली सल्ला खडक खण्डमध्ये ३५ किलोमिटर खण्ड चौडा पार्ने काम भइरहेको छ । यो योजनाअन्तर्गत ४ वटा सल्ली खोला, तागु्र खोला, हेप्का खोल र खार्पु खोलमा पुलहरु निर्माणाधिन अवस्थामा छन् ।

खुलालु सल्लीसल्ला सडक खण्डमा ९ वटा पुलको निर्माणका लागि २०७९ असारमा ठेक्का लागेर डिजाइन गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

समस्या

हिमपात तथा जाडोका कारण अत्यधिक चिसो भएर काम गर्ने समय कम भएर ठेक्काहरु निर्धारित समयमा सम्पन्न हुन सकेको छैन् । सम्पूर्ण लम्बाईमा हालसम्म ट्रयाक खुलेको छैन । यस्तै ट्रयाक खुलेको लम्बाईमा पनि कच्ची सडक भएकाले निर्माण सामग्री ढुवानी गर्न अर्को समस्या सिर्जना भएको छ ।

४ किलोमिटरको सिमिकोट स्यामने खण्डमा स्थानीयले जग्गाको मुआब्जासम्वन्धी विवाद झिकेर निर्माण कार्य ठप्प पारेको आयोजनाको भनाई छ ।

निर्धारित समयमा आयोजना सम्पन्न गर्न अर्को समस्या बिस्फोट्क पदार्थको अभाव पनि हो ।

चीनको नाका हिल्सासम्म ट्रयाक खोलिएपनि चिनको नाका वन्द भएकाले निर्माण सामग्री ल्याउन नसकिदा निर्माण कार्यमा ढिलाई भएको बताइएको छ ।


राजेश बर्मा