खेलकुद बीमालेख जारी, नेपाली खेलकुदमा नयाँ अध्याय सुरु भएको टिप्पणी, के फरक पर्छ ?



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा खेलकुद बीमालेख जारी भएको छ । नेपाली खेलकुदको संस्थागत विकास सुरु भएको करिब आठ दशक पुग्न लाग्दा पहिलोपटक खेलकुद बीमालेख जारी भएको हो ।

विश्वभर धेरै राष्ट्रमा खेलाडीहरुको मनोबल बढाउन मद्दत गर्ने खेलकुद बीमालेख भए पनि नेपालमा भने सुरुवात हुन सकेको थिएन । त्यसका कारण कयौं खेलाडी घाइते भएपछि आफ्नो खेल करियर बिट मार्न बाध्य हुँदै आएका घटना पनि नेपाली खेलकुदमा छन् ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले २०७८ सालमा मंसिर १४ गते पदाभार समालेकै दिन खेलकुद बीमालेखको सुरुवात गर्ने घोषणा गरेका थिए । राखेपको प्रस्तावमा नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको हो ।

त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरी शुक्रबार राखेपले खेलकुद बीमालेख जारी भएको जनाएको हो । यससँगै राखेपले नेपाली खेलकुद क्षेत्रका लागि नयाँ अध्याय सुरु भएको राखेप सदस्यसचिव टंकलाल घिसिङले विश्वास व्यक्त गरेका छन् ।

खेल्ने क्रममा हुने चोटपटकदेखि ठूला दुर्घटनासमेतको जोखिम न्यूनीकरणका लागि बीमासम्बन्धी नीति आवश्यक हुन्छ । खेलाडी तथा खेलकर्मीको पूर्णरूपमा सुरक्षा गर्ने उद्देश्यका साथ खेलकुद बीमालेख जारी भएको छ । राखेप सदस्यसचिव घिसिङले बीमालेखले खेलाडीहरूमा आत्माविश्वासका साथ खेल्नसक्ने वातावरण बढाउने धारणा राखेका छन् ।

केही ठूला प्रतियोगितामा खेलाडीहरुको बीमा गर्न सुरु भए पनि बीमालेखसम्बन्धी स्पष्ट नीतिको अभाव थियो । बीमालेख जारी भएपछि सबै प्रतियोगितामा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाई खेलाडीलाई आत्मविश्वासका साथ खेल्ने वातावरण सिर्जना गर्ने घिसिङको भनाइ छ । त्यसका लागि सबै संघलाई यसको कार्यान्वयन अघि बढ्न निर्देशन दिने उनले बताए ।

बीमालेखको खेलहरूको वर्गीकरण मुख्य तीन प्रकारमा गरेको छ । पहिलो न्यून जोखिम (टेबलटेनिस, सफ्ट टेनिस, टेनिस, सुटिङ, गल्फ, बडीविल्डिङ, स्क्वास), सामान्य जोखिम (ब्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ, जुडो, जिम्न्यास्टिक, ह्यान्डबल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी, खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती साइक्लिङ) र तेस्रो जोखिमयुक्त (मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्स, र्‍याफ्टिङ एन्ड क्यानोई, क्वालाइविङ, पेन्टथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउन्टेन रनिङ, आइस हक्की एण्ड अल्पाइन स्पोटर्स वाटर स्पोर्टस, रग्बी, प्याराग्लाइडिङ र फुटबल) छन् ।

साथै दुर्घटनाका कारण तत्काल वा १८३ दिनभित्र निधन भएमा क्षतिपूर्तिको व्यवस्थापनि गरिएको छ । राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा पनि बीमालेखअन्तर्गत समावेश हुने राखेप सदस्य सचिव घिसिङको भनाइ छ । राखेपले घटना भएको ३० दिनभित्र जानकारी गराउने पर्ने बीमालेखमा उल्लेख रहेको जनाएको छ ।


क्लिकमान्डु