वर्षमा ३ अर्ब ३६ करोडको इनर्जी ड्रिङ्क पिउँछन् नेपाली, कुन ब्राण्डको हिस्सा कति ?



तस्बिर: एआई

काठमाडौं । सरकारले आयातमा रोक लगाएको साढे चार वर्षपछि इनर्जी ड्रिङ्क (रेडबुल)को नेपालमा उत्पादन सुरु भएको छ । सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिङ्कको आयात रोकेको थियो । सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिङ्क), फ्लेभरड सिन्थेटिक ड्रिङ्क र यस्तै प्रकारका पेय पदार्थमा पूर्ण बन्देज लगाएको थियो ।

सरकारले आयात प्रतिबन्ध लगाए पनि इनर्जी ड्रिङ्कहरु बजारमा पर्याप्त मात्रामा बिक्री वितरण भइरहेको पाइन्छ । साथै, नेपाली बजारमा थाइल्याडमा उत्पादन भएको रेडबुल जस्तै देखिने रेडबुल छ्यापछ्याप्ती पाइरहिएको छ ।

खेतान समूहले २ अर्ब लगानीमा १० हजार किलोलिटर जुस, २० हजार किलोलिटर कार्बोनेटेड सफ्ट ड्रिङ्क, ३० हजार किलोलिटर इनर्जी ड्रिङ्क उत्पादन गर्ने प्रतिबद्धतासहित उद्योग दर्ता गरेको थियो । प्रतिबद्धताअनुसार कम्पनीले उद्योग स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

आयातमा प्रतिबन्धपछि रेडबुल नेपालमै उत्पादन सुरु भएको हो । खेतान समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नाममा उद्योग दर्ता गरी सञ्चालनमा ल्याएको हो । गत मंसिर १९ गते रेडबुल उत्पादन फ्याक्ट्रीको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि फ्याक्ट्री नै नेपाल आएको उनले बताए ।

‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, मागअनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ । आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगै राजस्व पनि तीन गुणा बढ्छ,’ उनले भने ।

राजस्वबारे आफू एकदमै चिन्तित रहेको महतले बताए । ‘परिवारमा जति धेरै आम्दानी भयो, त्यति बढी खर्च गर्ने क्षमता हुन्छ । परिवारको आवश्यकता पूर्ति गर्न सक्छ । देश भनेको पनि ठूलो परिवार हो,’ महतले भने, ‘देशलाई पनि आम्दानी हुने स्रोतको आवश्यकता छ । सरकारले जति धेरै आम्दानी गर्छ, त्यति नै पूर्वाधारमा लगानी गर्न सक्छ । यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ ।’

सरकारले फ्याक्ट्री चलाएर नहुने उनको भनाइ छ । निजी क्षेत्र र उद्यमशील नागरिकले नै फ्याक्ट्री चलाउनुपर्ने उनले बताए । ‘सरकारले प्रतिस्पर्धा सुनिश्चित गर्छ, गुणस्तर जाँच गर्छ । एउटैले आधिपत्य जमाएको छ भने सरकारले हेर्छ । यस्तो परिवेशमा धेरै लगानी आउँछ, लगानी आएपछि रोजगारी बढ्छ । रोजगारी बढेपछि आम्दानी बढ्छ, आम्दानी बढेपछि राज्यको राजस्व बढ्छ । राजस्व बढ्यो भने शिक्षा, स्वास्थ्यलगायत हाम्रा आवश्यकताअनुसारको पूर्वाधार विकासमा सरकारले बढी लगानी गर्न सक्छ,’ उनले भने ।

सरकारले आयातमा प्रतिबन्ध गरेसँगै अन्य विभिन्न ब्राण्डको इनर्जी ड्रिङ्क बिक्री वितरण भइरहेको छ । नेपालमा चौधरी ग्रुपले ‘स्पिड’ र ‘मुस्ताङ’ ब्राण्डको इनर्जी ड्रिङ्क उत्पादन गर्दै आएको छ । त्यसबाहेक अन्य ब्राण्डका इनर्जी ड्रिङ्क बजारमा देख्न सकिन्छ । तर, इनर्जी ड्रिङ्कको बजार कति हो भन्ने यकिन तथ्याङ्क भने छैन ।

विश्वका १३ वटा स्थानबाट १७० भन्दा बढी उद्योगको तथ्याङ्क संकलन गरेर प्रतिवेदन तयार गर्ने जर्मनीको स्टाटिस्टाले नेपालमा वार्षिक २ करोड ५२ लाख अमेरिकी डलर ( ३ अर्ब ३६ करोड ७८ लाख नेपाली रुपैयाँ)को इनर्जी ड्रिङ्कको व्यापार हुने उल्लेख गरेको छ । नेपाली बजारमा वार्षिक ८९ लाख लिटर इनर्जी ड्रिङ्क बिक्री वितरण भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०२३ मा इनर्जी र स्पोर्टस् ड्रिङ्क करिब साढे ३ अर्ब रुपैयाँको कारोबार भएको रिपोर्टमा जनाइएको छ । रिपोर्टमा नेपालमा इनर्जी ड्रिङ्कको माग बढ्दै गएको उल्लेख गरिएको छ । सन् २०२३ देखि २०२७ सम्ममा वार्षिक इनर्जी ड्रिङ्कको व्यापार ८.७१ प्रतिशतले बढ्दै जाने अनुमान रिपोर्टमा गरिएको छ ।

नेपालीले इनर्जी ड्रिङ्कमा प्रतिव्यक्ति ०.८२ अमेरिकी डलर अर्थात् ११० रुपैयाँ खर्चिने गरेको पाइएको छ । अहिले प्रतिव्यक्तिले ०.२९ लिटर इनर्जी ड्रिङ्क उपभोग गरेको रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार नेपालमा पछिल्लो समय साहासिक खेल र हिमाल पवर्तरोहण बढ्दै गएकाले इनर्जी ड्रिङ्कको माग बढ्दै गएको हो।

त्यस्तै, नेपालमा अहिले वार्षिक २ करोड ५२ लाख अमेरिकी डलरको कारोबार हुँदै आएकोमा सन् २०२४ मा बढेर २ करोड ९१ लाख अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । त्यस्तै, सन् २०२५ मा ३ करोड ३५ लाख अमेरिकी डलर, २०२६ मा ३ करोड ६९ लाख अमेरिकी डलर र सन् २०२७ मा ३ करोड ५३ लाख अमेरिकी डलरको इनर्जी ड्रिङ्कको कारोबार हुने सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी, सन् २०२७ सम्ममा वार्षिक १ करोड १२ लाख लिटर इनर्जी ड्रिङ्कको कारोबार हुने अनुमान गरेको छ ।

नेपालमा कुन ब्राण्डको हिस्सा कति ?

नेपालमा आधा दर्जनभन्दा बढी इनर्जी ड्रिङ्क उत्पादन गर्ने उद्योगहरु छन् । ति उद्योगहरुले विभिन्न ब्राण्डमा इनर्जी ड्रिङ्क उत्पादन गर्दै आएएका छन् । बजारमा विभिन्न प्रकारका इनर्जी ड्रिङ्क उपलब्ध भए पनि रेडबुलको सबैभन्दा बढी हिस्सा रहेको जनाइएको छ ।

नेपालमा २७ प्रतिशत रेडबुलको छ भने एक्सएसको २० प्रतिशत, स्टिङको १९ प्रतिशत, पावररेडको ३ प्रतिशत, कुरको २ प्रतिशत, प्रफिटको २ प्रतिशत, जोयको २ प्रतिशत, मसल मोन्स्टरको १ प्रतिशत र अन्य ब्राण्डको इनर्जी ड्रिङ्कले २४ प्रतिशत हिस्सा ओगटेको प्रतिवेदनमा दाबी गरिएको छ ।

त्यसैगरी, सीजीले उत्पादन गरी बिक्री वितरण गर्दै आएको मुस्ताङ, स्पिड र एक्सट्रिमको बजार हिस्सा कति छ भन्ने यकिन तथ्याङ्क छैन । जसले गर्दा स्वदेशी उत्पादित इनर्जी ड्रिङ्कको तथ्याङ्क नहुँदा बजारमा कतिको कारोबार हुन्छ भन्ने एकिन गर्न सकिने अवस्था छैन ।


अरिष्मा मोक्तान