११ बैंकले लाभांश दिँदा एनएमबिले बनायो हात खाली, ७ वटाले घोषणा गर्न बाँकी



काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म ११ वटा बैंकले लाभांश घोषणा गरेका छन् भने एउटा बैंकले लाभांश नदिने भएको छ । बाँकी बैंकले लाभांश घोषणा गर्नै बाँकी छ ।

लाभांश घोषणा गरेका केही बैंकले भने वार्षिक साधारणसभा नै गरिसकेका छन् । केही बैंकले सभा बोलाएका छन् भने कतिपय बैंकले सभा बोलाउन बाँकी छ ।

अहिलेसम्म सिद्धार्थ, एभरेष्ट, एनआईसी एशिया, माछापुच्छ्रे, सानिमा, सिटिजन्स, नबिल, लक्ष्मी सनराइज, नेपाल एसबिआई, स्ट्यान्डर्ड चार्टर्ड र ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेका छन् ।

सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश सेयरधनीलाई दिइसकेको छ । असोज २८ गते बसेको बैंकको वार्षिक साधारणसभाले बैंकले घोषणा गरेको लाभांश पारित गरेको छ ।

यस्तै माछापुच्छ्रे बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश दिएको छ । जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश छ । असोज १८ गते बसेको बैंकको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको छ ।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको असोज २६ गतेको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकले गत आवको नाफाबाट १९ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाले पारित गरिसकेको छ ।

नेपाल एसबिआई बैंकले बोनस ३.७५ प्रतिशत र नगद ६.८० प्रतिशत सहित १०.५५ प्रतिशत लाभांश दिएको बैंकले साधारणसभाको मिति तय गरेको छ ।

बैंकले पुस १३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ । मंसिर २८ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमा सेयरधनीलाई उच्च लाभांश दिने दोस्रोमा एभरेष्ट बैंक रहेको छ । बैंकले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १० र करसहित १०.५३ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको सम्पन्न साधारणसभाले उक्त लाभांश पारित गरेको छ ।

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले बोनस ९ प्रतिशत र करसहित ५.७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । कात्तिक २ गते बसेको बैंकको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको छ ।

सिद्धार्थ बैंकले गत आवको नाफाबाट ४.२१ नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले मंसिर ५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० सम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

ग्लोबल आइएमई बैंकले गत आवको नाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १ प्रतिशत र कर सहित ८ प्रतिशत नगद रहेको छ ।

बैंकले मंसिर २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि भन्दै मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १२ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउन सक्नेछन् ।

गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश घोषणा गरेको नबिल बैंकले पुस १२ गतेका लाग बार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा प्रयोजनका लागि मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ । मंसिर २८ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

यो पटक एनएमबि बैंकले लाभांश नदिने भएको छ । बैंकले गत आवको वितरणयोग्य नाफा संचित गर्ने भन्दै यो पटक लाभांश नदिने भएको जनाएको छ ।

अझै ७ वटा बैंकले लाभांश घोषणा गर्न बाँकी छ । गत आवको नाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, नेपाल, कुमारी, कृषि विकास, प्राइम, हिमालयन बैंक रहेका छन् । अहिलेसम्म लाभांश घोषणा नगरेको भए पनि गत आवको नाफाबाट कृषि विकास बैंकको १०.०६ प्रतिशत लाभांश दिने क्षमता छ ।

नेपाल बैंक ६.६२ प्रतिशत, प्राइम बैंकले १ प्रतिशत, प्रभु बैंकले ०.६४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.४६ प्रतिशत लाभांश दिने क्षमता राख्छन् । हिमालयन र कुमारी बैंकको लाभांश दिने क्षमता ऋणात्मक छ ।


क्लिकमान्डु