नेपाल र भारतबीचको अन्तरदेशीय डिजिटल भुक्तानी अर्को महिनादेखि



काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी २०२४ को जनवरीबाट सुरु गर्ने तयारी भएको छ ।

काठमाडौंमा मंगलबार आयोजित डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डीपीआई) विषयक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच सम्झौता भइसकेको अन्तरदेशीय डिजिटल भुक्तानी प्रणाली जनवरीबाट सुरु हुने जानकारी दिएका हुन् ।

श्रीवास्तवले कार्यक्रममा नेपाल र भारतबीच आवश्यक डिजिटल पूर्वाधार तथा कामहरुका लागि समन्वय भइरहेकाले अन्तरदेशीय भुक्तानी जनवरीबाट सञ्चालनमा आउने बताए ।

गत जेठमा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी हुने सम्झौता भएको थियो ।

सम्झौतापश्चात आवश्यक पूर्वाधार निर्माणमा लागेको सरकारले जनवरीबाट अन्तरदेशीय डिजिटल भुक्तानी सुरु गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंक स्रोतले पनि जनवरीबाट सेवा सञ्चालनमा ल्याउने गरी काम भइरहेको पुष्टि गरेको छ । स्रोतले भन्यो, ‘हामीले जनवरीबाट सेवा सञ्चालनमा ल्याउन आवश्यक काम गरिरहेका छौं ।’

जनवरीबाट सेवा सञ्चालन गर्न आवश्यक पूर्वाधार स्थापनादेखि नीतिगत पक्षमा पनि काम भइरहेको छ ।

गत जेठमा नेपाल र भारतबीच हुने कारोबारमा डिजिटल भुक्तानीको बाटो खुलेको थियो । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान र भारतका नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)का प्रमुख कार्यकारी रितेश शुक्लाले दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

दुई देशबीचको सम्झौताले साना भुक्तानीका लागि पनि सहज वातावरण बन्ने अपेक्षा गरिएको छ । अन्तरदेशीय डिजिटल भुक्तानी सुरु भएपछि राष्ट्र बैंकले क्षेत्रगत कारोबारका लागि अनुमति दिनेछ । पढ्न जाँदा वा मेडिकल इमर्जेन्सीका लागि भारत जाँदा छुट्टाछुट्टै सुविधा हुनेछ ।

तर, क्यूआर वा मोबाइल पेमेन्टमा सीमा तोकिनेछ । स्वदेशमा कारोबार हुँदा विदेशी मुद्रा बाहिर नजाने भएकाले नेपालभित्र भएजस्तो कारोबारको ठूलो सीमा नभएर भारतमा खर्च गर्ने सीमा कम हुन्छ ।

अन्तरदेशीय डिजिटल भुक्तानीले नेपाल आउने भारतीय तथा भारत जाने नेपाली पर्यटकदेखि अन्य प्रयोजनका लागि जानेहरुले पनि सहजै भुक्तानी गर्न सक्नेछन् ।


क्लिकमान्डु