एनजीओको जागिर छोडेर इन्स्टाग्रामबाट बिजनेस, घिरौलाको जालो डलरमा बिक्री



काठमाडौं । आजभन्दा तीन वर्षअघि अञ्जना मल्लसँग न कार्यालय थियो न त काम गर्ने कर्मचारी नै । थियो त इन्स्टाग्राममा दिगो नेपाल नामको फगत एउटा पेज । जहाँ मानिसको पहुँच पनि खासै थिएन ।

आम पेजभन्दा फरक किसिमको उनको पेजमा कुनै मिम वा भाइरल कन्टेन्ट भने भेटिँदैन थियो । सामाजिक सञ्जालको भााँडोमा उनी कहिले गाउँघरका तरकारी हाल्थिन् त कहिले घरमा बुनेका गुन्द्री र घिरौलाको जालोहरु । घिरौलाबाट बनेका आकर्षक स्क्रबर, पिर्का, डस्टबिन, स्ट्रे जस्ता सामान पेजका कन्टेन्ट बन्थे ।

अञ्जनाले सहरियालाई गाउँले उत्पादन चिनाउन खोज्दा ग्राहक उति सहज देखिँदैन थिए । उनी ग्राहकको रोजाइ देखेर खिस्रिक्क हुन्थिन । एक्जिबिसनमा उनले बिक्रीका लागि राखेका बायोडिग्रेबल प्रोडक्टलाई लिएर अधिकांशले नाक खुम्च्यिाउने गर्थे । कति पटकसम्म एउटा सामान बिक्री नगरी रित्तै हात फर्कनुपरेको सम्झना अञ्जनाको मानसपटलमा ताजै छ । साथी रोशिका गुरुङ र महालक्ष्मी श्रेष्ठसँग पनि यस्ता कयौँ अनुभव छन् ।

समय बदलियो । सहरियालाई गाउँ चिनाउने उनको प्रयासले पनि तीन वर्षको खुट्किलो चढ्यो । अञ्जना अब इन्स्टाग्राममा होइन, ७५ कर्मचारीसहित ललितपुरमा आफ्नै कार्यालयमा छिन् । जहाँ ३० भन्दा बढी प्रकारका हस्तकलाका सामग्री आकर्षक र नयाँ डिजाइनमा कोठैभरि सजिएका छन् । गाउँको सीपलाई सहरमा निर्यात गर्ने अञ्जना अब विदेशमा पनि निर्यात गर्न सक्ने भएकी छन् ।

घिरौलाको जालो डलरमा बिक्री

बर्दियाकी अञ्जनालाई गाउँका आमाहरुसँग भेट्दा उनीहरुले बनाउने घरलु उत्पादनले लोभ्याउँथ्यो । विदेशमा साथीहरुले जिस्किँदै घिरौलाको जालो डलरमा किनेर ल्याएको कुरा सुनाउँथे ।

‘हामीले त बारीमा, आँगनमा र बाटोमा जताततै फालिरहेको देख्थ्यौँ, डलरमा पनि किन्ने रहेछन,’ अञ्जना छक्क पर्थिन् ।

विदेशमा डलरमा बिक्री हुने यी उत्पादन नेपालका बारीमा यत्तिकै लडिरहेका, कुहिरहेका भेटिँदा कतै पैसा नै पो चिन्न नसकेर गरिब भयौँ कि भन्ने लाग्थ्यो उनलाई ।

उनले गुगल गरेर थाह पाइन् हामीकहाँ पाइने घिरौलाको जालो त सुपरमार्केटमा लुफाप्रोडक्ट भनेर बिक्रीमा राखिने रहेछ । बजार पनि राम्रो रहेछ । लुफाको बजार र गाउँमा भेटिएका लोभलाग्दा सीपले अञ्जना र रोशिका दुवैलाई तानेको थियो ।

दुवैले सोचे गाउँले उत्पादनलाई व्यवसायीकरण किन नगर्ने ?

तर कसरी ?

दुवै व्यावसायिक परिवेशबाट आएका थिएनन् । अञ्जना स्नातक गर्दै थिइन् । एनजीओको जागिरले भविष्य सुरक्षित बनाउँछ भन्ने भाष्य समाजमा दह्रो बनिरहँदा उनी जागिर छोडेरै जालो संकलनमा लाग्न थालिन् । पारिवारिक दबाबसँगै साथीभाइ पनि जिस्क्याउन आइपुग्थे उनलाई ।

‘यस्तो बेचेर के कमाउँछौ भनेर आफन्त र साथीभाइले सधैँ बिल्ला हान्ने तर मलाई अबको बजार वातावरणमैत्री उत्पादनको छ भन्नेमा ढुक्क थियो,’ उनी सुनाउँछिन् ।

परिवारको असहमतिमै पनि दुवैले एनजीओको जागिर छाडे । जागिर छाड्दा हातमा थियो, जम्मा ३१ हजार रुपैयाँ ।

उनीहरुलाई गाउँका महिलाले फुर्सदमा बनाउने पिर्का, गुन्द्री जस्ता उत्पादनलाई सहरमा नयाँ आकारमा पुर्‍याउनु थियो । अञ्जनालाई तिनै पुराना शैलीबाट नयाँ डिजाइनका वस्तु उत्पादन गर्ने आइडिया फुर्‍यो ।

‘उहाँहरुलाई सिकाउने हो भने वातावरणमैत्री उत्पादनहरु जस्तोसुकै डिजाइनमा पनि बनाउन सक्नुहुन्छ भन्ने भएपछि मैले जागिर छोडेँ,’ उनले भनिन् । साथी रोशिकालाई पनि उनको आइडिया चित्त बुझ्यो । दुवै मिलेर गाउँका महिलालाई विभिन्न डिजाइनमा भाँडा, ब्याग जस्ता समान बनाउन लगाए ।

‘बारीमा कुहिरहेको वा आँगनमा त्यत्तिकै फालिएको घिरौलाको जालो किन्छु भन्दै जाँदा कतिपटक हाँसेर फ्रि मै दिनुहुन्थ्यो,’ रोशिका भन्छिन् । उनी घिरौलाका जालो संकलन गर्न बर्दिया र कपिलवस्तुका गाउँ-गाउँमा पुग्दा अधिकांशले हाँसेर उडाउँथे । रोशिका र अञ्जना गाउँबाट ल्याएका ती जालोलाई फरक-फरक आकृतिमा ढालेर बडी स्क्रबरको रुपमा उत्पादन गर्न काठमाडौँ ल्याउँथे ।

काठमाडौंका ग्राहकलाई उत्पादन मन पर्न थाल्यो । सुनसान बन्ने इन्स्टाग्रामको पेजमा ग्राहकको उपस्थितिमात्रै बढेन, अर्डर पनि बाक्लियो ।

रोशिका गुरुङ

उनीहरु पुनः गाउँ फर्किने र महिलाले बुनेका सामान र बोराभरि घिरौलाको जालो लिएर फर्कने क्रम पनि बाक्लिन थाल्यो । हिजो नि:शुल्क दिने गाउँलेहरु आज बोरामा प्याक गरेर पैसामा बिक्री गर्न थाले ।

अञ्जना सुरुका दिनहरुमा काठमाडौँमै सामान बनाए पनि पछि गाउँमै पुगेर तालिम दिन थालेको बताउँछिन् । उनले सुरुमा आफ्नै गृहजिल्ला बर्दियामा महिलालाई तालिम दिइन् । सीप उनीहरुकै हुन्थ्यो भने उत्पादनको डिजाइन अञ्जना र रोशिकाको ।

उनीहरुले गाउँमै स्थानीय उत्पादनबाट स्ट्र, सक्रबर, भास, डाली, डस्टबिन जस्ता सामान बनाउन थाले ।

सन् २०२० मा ३१ हजार रुपैयाँबाट सुरु गरेको अञ्जनाको दिगो नेपालले तीन वर्ष पूरा गरिसक्यो । ३१ हजारबाट उनको वार्षिक कारोबार ३७ लाख हाराहारी पुगेको छ । समस्याका चाङ पन्छाउँदै उनी जागिर छोडेर नेपाल र नेपालीले प्रयोग गर्ने सामानलाई दिगो बनाउन क्रियाशील छिन् ।

अञ्जनाले उपत्यकाको भक्तपुर र बाहिरका तीनवटा जिल्लामा ७५ जना कर्मचारी राखेर बायोडिग्रेबल प्रोडक्ट उत्पादन गरिरहेकी छन् ।

अञ्जनालाई लाग्छ, गाउँको सीप सहरमा चिनाउने हो भने विदेश जानुपर्ने बाध्यता न गाउँमा रहन्छ न त सहरमा नै । गृहिणीमा भएको सीपलाई बजारीकरण गर्ने हो भने यहीँ वार्षिक लाखौँ कमाइ गर्न सकिने रोशिकाको तर्क छ । ‘ट्रेन्ड सेटरको रुपमा आउन केही नवीनतम आइडिया हामीलाई आवश्यक पर्छ, हामी आफ्नै उत्पादनमा नवीनता भर्न सक्षम छौँ भने किन बाहिर जाने ?’ उनी प्रश्न गर्छिन् ।

अञ्जना मल्ल

उनले भनेजस्तै वातावरणमैत्री उत्पादनले बजारको आयातन थप फराकिलो बनाउँदै छ । हिजो विदेशबाट भित्रिने प्लास्टिकका वस्तु किन्ने युवापुस्ताले आज मौलिक उत्पादन किन्न थालेका छन् । तीन वर्षअघि सपिङ मलहरुले उनीहरुका उत्पादन लिन नाक खुम्च्याउने गर्थे । आज तारे होटलहरु यस्ता मौलिक वस्तुहरु किन्न कार्यालयसम्म आइपुग्छन् ।

अञ्जनालाई लाग्छ, अब बजारीकरणका लागि सामाजिक सञ्जालको मात्रै भर पर्नुपर्ने छैन । उनी व्यवस्थित रुपमा कार्यालयसहित बजारमा आफ्नो बलियो उपस्थिति देखाउँदै छिन् । पढाइ सकिँदै गर्दा व्यवसाय पनि थप विस्तार हुँदैछ । कर्मचारी वृद्धि गर्दै बर्दिया र कपिलवस्तुमात्रै नभएर अन्य जिल्लामा पनि उत्पादन गर्ने योजनामा छिन् उनी । विभिन्न सांस्कृतिक कलाहरुलाई व्यावसायिक शैलीमा ढाल्ने उनको योजनाअनुरुप नै दिगो नेपाल अघि बढिरहेको छ ।

दिगो नेपालले उपत्यकाभित्र र बाहिर घिरौलाको जालो, कांस, बाँसलगायतका कच्चापदार्थ घरमै पुगेर खरिद गर्दै आएको छ । अञ्जना बारीमा कुहिने घिरौलालाई जालो बनाएर बिक्री गर्न चाहनेहरुको घरमै पुगेर उचित मूल्यमा किन्ने गरेको बताउँछिन् । महिला, गृहिणी तथा घरमै बसेर काम गर्न सक्नेहरुका लागि सीपमूलक तालिमसहित कच्चापदार्थ उपलब्ध गराउँदै आएकी उनले उनीहरुबाटै उत्पादन खरिद गरेर बजारीकरण गरिरहेकी छन् ।

(तस्बिरहरु रवि धिताल)


सम्झना घिमिरे