एनसेल प्रकरणमा एमाले मौन, अर्थ समितिमा पनि भएन सहभागी
काठमाडौं । एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा देशभर चासो व्यक्त भइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने पूर्णत: मौन देखिएको छ ।
एनसेलको सेयर किनबेचपछि सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्रदेखि विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले समेत चर्को स्वरमा प्रश्न गरिरहँदा एमाले भने आश्चर्यजनक रुपमा मौन देखिएको हो ।
मिनि संसद भनिने अर्थसमितिको बुधबारको बैठकमा पनि एमाले सांसदहरु अनुपस्थित रहे । २४ सदस्यीय अर्थसमितिमा एमालेका अम्मरबहादुर रायमाझी, पूर्वमन्त्री जुलीकुमारी महतो, नारायणप्रसाद आचार्य, पदम गिरी, भगवती चौधरी, रणकुमारी बलम्पाकी मगर, पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल र सूर्य थापा सदस्य छन् ।
बैठकमा रास्वपा, कांग्रेस, माओवादीलगायत दलका सांसदहरुले एनसेलको सेयर खरिद-बिक्रीमाथि प्रश्न उठाउँदै छानबिनको माग गरेका छन् ।
रास्वपा सांसद डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले एनसेलको सेयर किनबेचमा ठूलो भ्रष्टाचार भएको र प्रभावशाली व्यक्तिलाई सिंगापुर घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए ।
कांग्रेस सांसद दिपक खड्काले पनि एनसेलजस्तो ठूलो कम्पनीले कानुनी छिद्रता खोजेर सेयर बिक्री गर्नु गलत भएको धारणा राखे ।
नेपाली कांग्रेसका ओखलढुंगा जिल्ला सम्मेलनमा मंगलबार कांग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापाले एनसेल बिक्रीमा घोटाला भएको सहजै आशंका गर्न सकिने बताएका थिए ।
यस्तै ओखलढुंगाकै कार्यक्रममा डा. शेखर कोइरालाले पनि एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीको मिलेमतो भएको बताएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार महोत्तरीको गौशालामा मधेस प्रदेशको प्रशिक्षण कार्यक्रममा एनसेल प्रकरणबारे छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताएका थिए ।
सोमबार नै उनले नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए/नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
मंगलबार साँझ नै उनले एनसेलको सेयर किनबेचका विषयमा सत्तारुढ दलका नेताहरुसँग छलफल गरे ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र मन्त्रीहरु सहभागी थिए ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङका साथै नेपाल दूरसञ्चार प्राधिकरण र कर कार्यालयका प्रमुखहरु पनि थिए ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद-बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सर्वसाधारणले पनि एनसेलको सेयर किनबेचका विषयमा विभिन्न सार्वजनिक फोरमदेखि सामाजिक सञ्जालसम्ममा विरोध र टिप्पणी गरिरहेका छन् ।
तर, एमालेका नेता र सांसदहरु यो प्रकरणमा पूणर्तः मौन छन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले लैनचौरस्थित एनसेलको कार्यालयअगाडि विरोध प्रदर्शन गर्नबाहेक कुनै नेताले यस विषयमा प्रश्न गरेका छैनन् ।
यतिबेला एमाले ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानमा छ । अभियानका क्रममा विभिन्न ‘स्पट’मा कार्यक्रम र भाषण गर्दै हिँड्ने अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरु एनसेलको सेयर किनबेचका विषयमा चुइँक्क बोलेका छैनन् ।