तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा कन्ट्याक्टरहरु भाग्न थालेः कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति बढेको बताएका छन् ।

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने व्यक्ति कम हुँदै गएको बताए ।

देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अप्पर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको घिसिङले बताए । एक वर्षसम्म अनुमति नदिइ काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने बताए ।

‘नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढ्यो । सबैले नेगेटिभ मात्रै कुरा गर्ने हो भने काम कसले गर्ने ? पोजेटिभ कुरा त कतै पनि नआउने भयो । यो स्थिति आउनु दुर्भाग्यपूर्ण हो । मैले पीडा बोलेको हो । जता पनि समस्या छ । तराईमा गयो ट्रान्समिसन लाइनको समस्या, यी नजिकै ट्रान्समिसन लाइनको समस्या, लप्सीफेदीमा मेरो बिरुद्धमा नारा लगाइरहेको छ । कसरी काम गर्ने । वनले काम नै गर्न दिँदैन, एउटा रुख काट्न नसकेर एक वर्षसम्म एउटा रुख काट्न नदिएर राष्ट्रिय महत्वको ठूलो योजना अप्पर अरुण १ हजार ६१ मेगावाटको बाटोको काम एक वर्षसम्म रोकेर बसेको छ । यस्तो स्थितिले देश बन्छ ? बन्दैन’ उनले भने ।

निर्देशक घिसिङले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको बताए ।

अण्डरग्राउण्ड गर्ने ठूलो योजना सडक विभागले सात महिना भइसक्दासमेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो उनले गरे । उनले नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको बताए ।

उनले सडक विभागले तार भूमिगत गर्न नदिँदा ठूला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको उल्लेख गरे । उनले मेरो क्षेत्राधिकार भित्र दिन्न भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको बताए ।

कुलमानले यसो भने

अण्डरग्राउण्ड केवलको कुरा छ । म आफैँ यसो घरबाट निस्किँदा पोलको शहर जस्तो लाग्छ । नरमाइलो लाग्छ । वास्तवमा यो तारहरु कम्युनिकेसनका, फाइबर अप्टिकल केवलहरु जञ्जालले गर्दा यो सेक्युरिटीको हिसावले पनि र सेफ्टीको हिसावले पनि एकदमै अफ्ठ्यारो पारेको छ । केही गरौँ भनेर हामीले यसको महशुलमा पनि संशोधन गरेका थियौँ । त्यो त्यत्ति इफेक्टिभ भएको छैन ।

अण्डरग्राउण्ड मेजर शहरहरुमा, मेजर रोडहरुमा गरौँ भनेर ठूलो प्रोजेक्ट ल्यायौँ । काठमाडौं, ललितिपुर र भक्तपुरमा टेण्डर पनि भयो । तर धेरै ठाउँमा काम गर्न सकिएको छैन । यो दुर्भाग्यपूर्ण अवस्था हो हाम्रो । कोर्डिनेशन छैन । हाम्रो नेपालमा धेरै ठाउँमा कोर्डिनेशन भएको छैन । रोड डिपार्टमेण्टबाट हामीले सहमति लिनुपर्ने धेरै ठाउँमा रोड डिपार्टमेण्टबाट सहमति नपाउँदा, मेरो ठूला ठूला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको छ ।

उहाँहरुले ७ महिना भयो आजसम्म एक ठाउँ पनि दिनुभएको छैन । मेन रोडमा हामीले मागेको अहिलेसम्म कतै पनि पाएको छैन । केही ठाउँमा समस्या होला, काम गर्दा भविष्यको राम्रोका लागि केही क्षण बुझ्नुपर्दथ्यो ।

सहमति नै नदिने, सबै मेरो क्षेत्राधिकार भित्र दिन्न भनेपछि कसरी देश विकास हुन्छ, यो देश विकास हुन धेरै गाह्रो छ । धेरै कोर्डिनेशनको इस्यु धेरै नै ठूलो छ । त्यस्तो महंगो प्रोजेक्ट ल्याइरहेको छ, कहीँ काम गर्न दिइएको छैन । त्यो विषयमा महानगरपालिकाले रोड विभागसँग समन्वय गर्दा काम हुनसक्छ । यति ठूलो प्रोजेक्टलाई बेवारिसेको रुपमा परिणत गर्नलाई हामीबीचको कोर्डिनेशनको कारणले बेवारिसे हुँदैछ, यो दुर्भाग्यपूर्ण हो । वनमा गयो, वनै राज्य, सडकमा गयो सडकै राज्य । कहाँ काम गर्ने ?’


क्लिकमान्डु