हड्डीको साइज नहेर्ने अनि घाँटीमा अड्कियो भनेर रोइलो गर्ने पनि व्यवसायी हुन्छ र ?: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै ऋण लिने र बेलैमा नतिर्ने ब्याबसायीप्रती कडा टिप्पणी गरेका छ्न् । ‘हड्डीको साइज नहेर्ने अनि घाँटीमा अड्कियो भन्ने पनि ब्याबसायी हुन्छ ?’ गभर्नर अधिकारीले प्रश्न गरे ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले राजधानीमा आयोजना गरेको एक कार्यक्रमना अधिकारीले व्यवसायीले ऋण लिँदा आफ्नो हैसियत पनि हेर्नुपर्ने बताएका छन् । ‘व्यवसायी साथीहरुलाई मेरो आग्रह छ, ऋण लिएपछि तिर्नुपर्छ’ उनले भने, ‘त्यसैले ऋण लिनेबेलामा आफ्नो क्षमता पनि हेर्नुस् ।’

कुनै बैंकले ब्याज धेरै लिएको भए त्यस्तो ब्याज फिर्ता गराउने उनले बताए । ‘बैंकले ७ प्रतिशतमा पनि ऋण दिएको छ भने कसैलाई पनि १८ प्रतिशत ब्याज लिन दिएको छैन,’ उनले भने, ‘ कसैले १६/१८ प्रतिशत ब्याज लिएको छ भने गुनासो लिएर आउनुस् त्यो बैंकबाट तपाईबाट लिएको बढी ब्याज फर्ता गराउँछु ।’

अघिल्लो वर्षमा लिइएको बढी ब्याज गत वर्षमात्रै ४ अर्ब ७६ करोड रुपैयाँ फिर्ता गराएको उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘बैंकले बढी ब्याज लिए भनेर बाहिर बहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्नुस्, हामी फिर्ता गराइदिन्छौं ।’

व्यवसायीका नेताहरु भेट्दा बैंकले १६/१८ प्रतिशत ब्याज लियो भनेर भन्दै हिड्ने गरेको भन्दै उनले तथ्य बाहिर गएर गुनासो गर्दै नहिँड्न आग्रहसमेत गरे ।

ब्याजदर गणना गर्ने र प्रकाशन गर्ने प्रणाली बनाएको उनले बताए ।

सरकारलाई राष्ट्र बैंकले असहयोग गरेको भनेर टिप्पणी गर्नेहरुप्रति पनि गभर्नरले प्रश्न उठाएका छन् ।

‘बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? बजेटको कुन बुँदा मौद्रिक नितिले पालना गरेको छैन ?’ गभर्नर अधिकारीले प्रश्न गरे, ‘सबै समन्वय भएको छ । रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नू गलत छ। हामीबीच समन्वयमै काम भइरहेको छ ।’

अर्थतन्त्रका चारवटै क्षेत्रमा समस्या नभएको उनले दाबी गरे ।

‘हाम्रो वित्तीय प्रणालीमा पनि समस्या छैन, किनभने हामीले कसिलो नीति अपनाएका छौं,’ उनले भने, ‘राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रको बाह्य क्षेत्र एतिहासिकरुपमा बलियो छ । विदेशी मुद्रा सञ्चिति १० महिनाको धान्न सक्ने अवस्थामा छ ।’

आर्थिक सिथिलताका कारण बैंकमा खराब कर्जा बढेकाले यो बेला प्रोभिजन बढाउनु पर्ने, लाभांश दिन दिँदा संस्थामा समस्या हुने भएकाले राष्ट्र बैकले कडाइ गरेको बताए ।

‘बैंकको खराब कर्जा थप नबढोस् भनेर नै हामीले कडाइ गरेका हौं,’ उनले भने ।


क्लिकमान्डु