काठमाडौंमा ३ वर्षयताकै सस्तो तरकारी, किसानको लागत खर्च पनि उठेन
काठमाडौं । पछिल्लो ३ वर्षमा तरकारीको मूल्य सबैभन्दा सस्तो भएको छ । दसैं अघिसम्म महँगो रहेको तरकारीको मूल्य मंसिरमा आएर घटेको छ ।
२०७८ र २०७९ मंसिरको तुलनामा अहिले तरकारी सस्तो भएको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । समितिको तथ्यांकअनुसार ठूलो गोलभेँडा र प्याजबाहेक प्राय सबै प्रकारका तरकारीको मूल्य उल्लेख्य परिमाणमा घटेको छ ।
आलु, बन्दा, काउली, भान्टा, तने बोडी, मटरकोशा, घिउ सिमी, करेला, लौका, परवर, घिरौला, फर्सी, भिण्डीलगायतका हरियो तरकारीको मूल्य निक्कै घटेको हो । नेपालमा प्याज भारतबाट ९५ प्रतिशत आयात हुन्छ । भारतमै प्याजको मूल्य प्रतिकिलो ५० भारु (८० रुपैयाँ नेपाली) सम्म पुगेकाले नेपालमा पनि त्यसको असर देखिएको व्यापारीहरुले बताएका छन् ।
थोक बजारमा तरकारीको मूल्य घटे पनि खुद्रा व्यापारीले भने हरेक प्रकारका तरकारी ६० रुपैयाँ घटीमा बिक्री गरेका छैनन् ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले अहिले प्रत्येक तरकारीमा २० देखि २५ प्रतिशत मूल्य घटेको जानकारी दिए । घिमिरेकाअनुसार अहिले बजारमा तराई, पहाडमा उत्पादन भएका तरकारीका साथै भारतबाट आयात भएको तरकारीको चाप निक्कै बढेको छ ।
बजारमा आएको तरकारीको परिमाणको तुलनामा बिक्री दर निक्कै कम भएकाले मूल्य घटेको घिमिरेको भनाइ छ । आपूर्ति अत्यधिक र माग निक्कै कम हुँदा बस्तुको मूल्य सस्तो हुने नीति अहिले तरकारीमा देखिएको छ ।
उनका अनुसार सर्वसाधारणको क्रयशक्ति कमजोर भएका कारण तरकारीको कारोबारमा समेत २० प्रतिशतले कमी आएको छ । बजारमा भित्रिएको तरकारीमध्ये बिक्री नभएर हरेक व्यवसायीले दैनिक २५ प्रतिशतसम्म फाल्नु परेको घिमिरेले जानकारी दिए ।
‘तरकारीको मूल्य सस्तो हुनुमा पहिलो त यो समयमा अत्यधिक बढी परिमाणमा उत्पादन हुनु नै हो, अहिले बजारमा सबैतिरबाट तरकारीको चाप अत्यधिक बढेको छ, आएको तरकारीमध्ये झण्डै ७५ प्रतिशतको हाराहारीमा मात्रै बिक्री भएका छन्,’ घिमिरेले भने, ‘बाँकी फाल्नु पर्ने अवस्था छ । फाल्नुभन्दा घाटै लगाएर सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ । बाध्यताले पछिल्लो ३ वर्षयता तरकारीको मूल्य सस्तो देखिएको हो ।’
यस्तै आम उपभोक्ताले पनि पहिलेको तुलनामा अहिले निक्कै कम परिमाणमा तरकारी उपभोग गर्न थालेकाले तरकारीको मूल्य घटेको उनको भनाइ छ । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटीमा सोमबार १५ रुपैयाँ प्रतिकिलोमा काउलीले कारोबार भएको छ।
यो मूल्य पछिल्लो ३ वर्ष यता कै सबैभन्दा सस्तो हो । २०७८ मंसिर ११ गते काउली थोकमा ३५ र २०७९ मंसिर ११ मा ३६ रुपैयाँमा कारोबार भएको थियो ।
‘अहिले बिहान ३ बजेदेखि ५ बजेसम्म ९ रुपैयाँ प्रतिकिलोमा काउली किनबेच हुन्छ, त्यही तरकारी अन्य व्यापारीले खरिद गरी ६ बजेपछि १२ रुपैयाँमा बिक्री गर्दैआएका छन्,’ घिमिरेले भने,‘यो मूल्यको कारण किसान कति मारमा परेका छन्, आफैं सोच्नुस् ।’
घिमिरेका अनुसार आम उपभोक्तालाई तरकारीको मूल्य निक्कै सस्तो लागे पनि किसानलाई भने बिक्री नभएर लागत मूल्यभन्दा पनि कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले पनि पछिल्लो केही वर्षको तुलनामा यो वर्ष हरियो तरकारीको मूल्य निक्कै घटेको जानकारी दिए ।
‘तरकारी उत्पादन हुने मुख्य सिजन भएकाले आपूर्ति धेरै ठूलो परिमाणमा छ,’ श्रेष्ठले भने,‘तर खपत निक्कै कम छ । किसानहरुले फाल्नुभन्दा घाटा लगाएर भएपनि लागत मूल्यभन्दा सस्तो मूल्यमा बिक्री गरेकाले बजारमा तरकारीको मूल्य सस्तो भएको व्यापारीहरुले जानकारी दिएका छन् ।’
कालीमाटीमा बिहान ३ बजेदेखि ५ बजेसम्म ९ रुपैयाँमा काउलीले कारोबार गर्दा किसानले उक्त काउली प्रतिकिलो ५ देखि ६ रुपैयाँसम्ममा बिक्री गरेको हुन सक्ने महासंघका अध्यक्ष घिमिरेले बताए ।
यस्तै मुला अधिकतम १५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । गत वर्ष र अघिल्लो वर्षको यहि दिन मुला ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो । कालिमाटीमा पछिल्लो दुई वर्षको मंसिर ११ गते प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको घिउ सिमी अहिले ३० मा बिक्री भइरहेको छ ।
तरकारीमा किसानदेखि कालीमाटी बजारसम्म ३ देखि ४ वटासम्म व्यापारीको तह हुन्छ । किसानले बिक्री गरेको तरकारी यस्ता तह हुँदै कालीमाटी बजारसम्म आइपुग्छ ।
किसानको लागत मूल्य पनि उठ्दैन
कालिमाटी तरकारी बजारमा थोकमा तरकारीको मूल्य अत्यधिक घटिरहँदा किसानले भने लागत मूल्य उठाउन पनि धौ धौ परेको छ । मकवानपुर पालुङका किसान राजेन्द्र बिडारीले देशकै मुख्य बजारमा तरकारी मूल्य निक्कै सस्तो हुँदा किसानले भने उत्पादन लागत पनि उठाउन नसकेको जानकारी दिए ।
भारतबाट ठूलो परिमाणमा काउलीलगायतका हरियो तरकारी भित्रिदा नेपाली तरकारीले उचित मूल्य नपाएको बिडारीको भनाइ छ । उनका अनुसार अहिले किसानले प्रतिकिलो काउली र मुलामा लागत खर्चअनुसार ५ रुपैयाँ घाटा सहेर बिक्री गर्नु परेको छ।
‘भारतबाट सस्तो मूल्यको टन्नै तरकारी आयात भएको छ, भारतले किसानलाई बिउ, मल, सिंचाई र बजारीकरणसम्ममा अनुदान दिएको छ, यसले गर्दा उताको तरकारीको लागत खर्च निक्कै कम भएर हाम्रोभन्दा सस्तो छ,’ बिडारीले भने,‘हाम्रोमा कुनै अनुदान छैन । यसले गर्दा लागत खर्च बढी भएर तुलनात्मक रुपमा भारतको तरकारीभन्दा हामीले फलाएको तरकारीको लागत खर्च बढी पर्छ ।’
बिडारीका अनुसार प्रतिकिलो काउली र मुला उत्पादन गर्न झण्डै १० रुपैयाँ लागत खर्च पर्छ ।
‘तर हामीले मुला र काउलीमा प्रतिकिलो ५ रुपैयाँ घाटा खाएर ५ रुपैयाँ किलोका दरले व्यापारीलाई बिक्री गर्दैआएका छौं,’ विडारीले भने,‘त्यसमा ढुवानी, लोड अनलोड, प्याकेजिङ र व्यापारीको नाफा ७ देखि ८ रुपैयाँ जोडेर कालिमाटी बजारमा बिक्री गर्दैआएका छन् ।’
धादिङका किसान मच्छे श्रेष्ठले पनि माग र बजार कम भएर काउली र मुलाको लागत खर्चमा ५ रुपैयाँसम्म घाटा सहेर व्यापारीलाई बिक्री गर्दैआएको गुनासो गरे ।
‘व्यापारीले मूल्य नै दिएनन्,’ श्रेष्ठले भने,‘भारतबाट हाम्रोभन्दा सस्तो मूल्यमा तरकारी आएको भन्दै व्यापारीले ४ देखि ५ रुपैयाँ किलोमा काउली र मुला खरिद गरे । यो मूल्यले हाम्रो लागत खर्च पनि उठेन । घाटा सहेर अर्को वर्ष तरकारी उत्पादन गर्दिन ।’
११ अर्ब ८७ करोड २३ लाखको तरकारी आयात
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा झण्डै १२ अर्ब रुपैयाँबराबरको तरकारी आयात भएको छ । भन्सार कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि कात्तिकसम्म ११ अर्ब ८७ करोड २३ लाख रुपैयाँको तरकारी आयात भएको छ ।
गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि कात्तिकसम्मको तुलनामा चालु आर्थिक वर्षको यहि अवधिमा ५१ करोड ४४ लाख रुपैयाँ बढीको तरकारी आयात भएको छ । गत आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिमा ११ अर्ब ३५ करोड ७८ लाख रुपैयाँको तरकारी आयात भएको थियो ।