तुलसी बहुमुखी सहकारीका बचतकर्तालाई ३५ दिनभित्र बचत रकम मागदाबी गर्न आग्रह



काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तुलसी बहुमुखी सहकारीका बचतकर्तालाई अनलाइनमार्फत ३५ दिनभित्र बचत रकम मागदाबी पेस गर्न आग्रह गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ २५ गते गरेको निर्णयअनुसार उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरिसकेको छ ।

विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीलाई सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिमा आएको जनाइएको छ ।

संस्थाका अध्यक्ष तथा शिखर अर्गनाइजेसनका सञ्चालक शर्माले बचतकर्ताको १२ अर्ब २३ करोड ५१ लाख ८३ हजार ५७७ रुपैयाँ रकम अपचलन गरेका छन् । त्यसमध्ये ६ अर्ब रुपैयाँभन्दा बढी भारतमा लगेको सीआईबीले जानकारी गराएको छ ।

शर्माले सहकारीको पैसामध्ये केही ऋणको रुपमा र केही सापटीका रुपमा लैजाने गरेको पाइएको छ । बचतकर्ताको रकम हिनामिना गरेर शर्माले निजी व्यापारिक साम्राज्य विस्तार गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीका अनुसार सहकारीमा जम्मा भएको बचत हिनामिना गरी शर्माले ४३ वटा निजी कम्पनीमा लगानी गरेका छन् । प्रहरीले ती कम्पनीको मूल्यांकन २२ अर्ब रुपैयाँबराबर भएको जनाएको छ ।

शर्माले पहिला भारतबाट विभिन्न प्रकारका खाद्यवस्तु आयात गरी बिक्री गर्दै आएका थिए । पछिल्ला वर्षहरुमा शर्माले भारतमा राजनीतिक र कर्मचारीतन्त्रसँग सम्बन्ध स्थापित गरी भारतीय नागरिकसँगको साझेदारीमा कम्पनी दर्ता गरी नेपालबाट पुँजी पलायन गर्दै आएका थिए ।

तथापि, पैसा कसरी भारत पुर्‍याए भन्ने खुलिसकेको छैन । शर्माले भारतीय साझेदारीसहित शिवशिखर अर्गनाइजेसनको नाममा भारतमा कम्पनी खोलेको र बचतकर्ताबाट उठाएको रकम लगानी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको सीआईबीले जनाएको छ ।

शर्माले बचतकर्ताको रकमले नातेदारका नाममा २८९ वटा सवारी साधन खरिद गरेको समेत अनुसन्धानबाट खुलेको छ । शर्माले भारतमा रहेका कम्पनीमा ६ हजारभन्दा बढीले रोजगारी पाएको दाबी गरेका छन् ।

शर्माले बचतकर्ताको रकमबाट नजिकका व्यक्तिको नाममा जग्गाजमिनसमेत किनेको पाइएको छ । केही जग्गा भने निजी कम्पनीको नाममा विभिन्न नाममा उद्योग खोल्न भनेर किनेको पाइएको सीआईबीले जनाएको छ ।

शर्माले चार वर्षअघि अध्यक्ष छोडेर शुशील बानियाँलाई डमी अध्यक्ष बनाएका छन् । चार वर्षअघि सहकारीको अध्यक्षबाट शर्मा हटेपछि सहकारीको वित्तीय विवरणको लेखापरीक्षणसमेत हुने गरेको छैन । जसले गर्दा सहकारीले के-कति कर्जा प्रवाह गरेको छ भन्ने यकिन तथ्यांक संकलन गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

शर्माले श्रीमती गीता शर्मालाई शिवशिखर अर्गनाइजेसनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाएका छन् । गीतालाई पनि ब्युरोले पक्राउ गरिसकेको छ ।

शर्माले भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुद्देश्यीय सहकारीका १ लाख ६८ हजार ७२५ बचतकर्ताको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५८६ रुपैयाँ र तुलसी बहुमुखी सहकारीका २१ हजार १५४ बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय भक्तपुरको कौशलटारमा रहेको र नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको पाइएको छ ।

२०६० सालतिर सामान्य किराना पसल गर्ने ४७ वर्षीय शर्मा अहिले २२ अर्बको मालिक बने र अहिलेको अवस्थामा आए भन्ने अध्ययनको विषय भएको सीआईबीले जनाएको छ ।


क्लिकमान्डु