कात्तिकमा १ खर्ब ५ अर्बको आयात, औसतमा प्रतिमहिना १ खर्ब बढीको व्यापारघाटा



काठमाडौं । चार वर्षपछि कात्तिकमा नेपालले सबैभन्दा कम वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार मासिकरुपमा आयात हुने तथ्यांकमा चार वर्षपछि सबैभन्दा कम आयात भएको हो । तर, कात्तिकमा करिब आधा महिना बिदा परेको र दसैं तिहारका लागी असोजमा नै आयात भइसकेका कारण पनि कात्तिकमा आयात घटेको हो ।

नेपालले आर्थिक वर्ष २०७७/७८ को कात्तिकमा ९३ अर्ब ३ करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । त्यसपछि निरन्तर बढेर मासिक डेढ खर्ब हाराहारीमा आयात हुँदै आएको थियो ।

उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै सरकारले विभिन्न समयमा वस्तुको आयातमा कडाइ गरेको थियो । उक्त कडाइ गर्दासमेत नेपालले कात्तिकमा १ खर्ब ३० अर्बभन्दा बढीको वस्तु आयात गर्दै आएको थियो ।

अर्थतन्त्रमा देखिएको विविध समस्याले पनि आयातमा खासै प्रभाव नपरेको अवस्थामा चार वर्षपछि चालु आर्थिक वर्षको कात्तिक महिनामा सबैभन्दा कम वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । तर, कात्तिकमा बिदाका कारण आयात घटेको देखिन्छ ।

पछिल्ला समय आर्थिक सूचकहरु विस्तारै सुधार हुँदै गएको छ । गत असोज महिनामा मात्रै पनि १ खर्ब ४८ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो । कात्तिकमा भने उक्त आयात ह्वात्तै घटेको छ । कात्तिक महिनामा १ खर्ब ४ अर्ब ७४ करोड ४५ लाख रुपैयाँको मात्रै वस्तु आयात भएको छ । जुन ५० महिनापछि सबैभन्दा कम आयात भएको हो ।

नेपालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जसमा गत वर्षको सोही अवधिमा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । जुन ३.७९ प्रतिशतले कम हो ।

त्यस्तै, चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालले ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको निर्यात गरेको थियो । जसमा नेपालले गत वर्षको तुलनामा ७.६८ प्रतिशतले कम निर्यात गरेको छ ।

नेपालले सो अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । साथै, नेपालले चार महिनामा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।


क्लिकमान्डु