अर्थतन्त्रबारे बुझ्न हेर्नुस् यी ७ फिल्म



काठमाडौं । अर्थतन्त्र कुनै पनि देशका प्रमुख कुरा हो । तर, अर्थतन्त्रका विषयवस्तुहरु प्राविधिक भएका कारण यसलाई बुझ्न सहज नहुने पनि धेरैको बुझाइ छ ।

यस्तोमा ठेलीका ठेली पुस्तक पढेर पनि त्यसलाई बुझ्न सकिन्छ । वा सिनेमाका माध्यमबाट पनि अर्थतन्त्रका विभिन्न पक्षहरुलाई बुझ्न सकिन्छ ।

विश्वमा आर्थिक विषयलाई लिएर थुप्रै सिनेमाहरु बनेका छन् । यीमध्ये कतिपयले भने विषयको गाम्भिर्यतामाथि मजाक नै गरेका हुन कि जस्तो पनि लाग्छ । कतिपयले सम्बन्धित आर्थिक विषयलाई उत्कृष्ट रुपमा बुझाएका देखिन्छन् । सेयर बजार, आर्थिक मन्दी, आर्थिक अपराधजस्ता विषयहरुलाई कतिपय सिनेमाहरुले राम्रोसँग प्रस्तुत गरेका छन् ।

अर्थतन्त्रबारे चासो राख्नेले अर्थतन्त्रका यस्तै विविध पक्षहरुको बारेमा रहेका यी पाँच फिल्महरु हेर्न सकिन्छ । यी फिल्महरुले सम्बन्धित विषयलाई राम्रोसँग बुझाउनुका साथै मनोरञ्जनसमेत दिने रुपमा दर्शकलाई बाँध्ने सामर्थ राख्छन् ।

१. द वुल्फ अफ वाल स्ट्रिट

सेयर बजार के हो भन्ने विषयमा फरक फरक व्यक्तिका आआफ्नै तर्क र परिभाषाहरु छन् । कसैले यसलाई जुवा भन्दै परिभाषित गरेका छन् भने कतिपयले यसलाई लगानी गर्ने एउटा राम्रो बजार । समग्रतामा भन्ने हो भने सेयर बजार भनेको छरिएर रहेको पुँजी संकलन गर्ने उत्कृष्ट माध्यम हो ।

तर भनिन्छ, सेयर बजारमा प्रवेश गर्ने हो भने थुप्रै कुराहरु बुझ्नुपर्ने वा जान्नुपर्छ । यो क्षेत्रमा हुने कारोबारको प्रक्रियादेखि विभिन्न शब्दालवीकै कुरामा पनि नयाँ मान्छेलाई असहजता महसुस हुन सक्छ ।

यस्तो अवस्थामा सेयर बजार बारे बुझ्ने र त्यो पनि लोओनार्डो डिकार्पिओको अभिनयबाट बुझ्ने माध्यम यो फिल्म हो।

सेयर बजारको कुरा गर्ने र मार्टिन स्करसेजीको फिल्म द वुल्फ अफ वाल स्ट्रिटको कुरा नगर्ने भन्ने हुँदैन । पूर्व सेयर खेलाडी तथा वित्त अपराधी र हालका उद्यमी जोर्डन बेलफर्टको जीवनमाथि आधारित रहेको यो फिल्म सेयर बजारको विषयमा बनेको उत्कृष्ठ फिल्म हो ।

फिल्मका कथा केन्द्रित पात्र बेलफर्डको वास्तविक जीवनको कुरा गर्ने हो भने बाल्यकालमा नै व्यापार गरेर २० हजार अमेरिकी डलर कमाएका उनी सपत्ति शुद्धिकरणदेखि सेयर बजारमा छल गरेको आरोपमा २२ महिना जेल र ११ करोड अमेरिकी डलरको जरिवाना तिर्ने अवस्थामा पुगेका थिए । स्करसेजीको फिल्म द वुल्फ अफ वाल स्ट्रिट बेलफर्डको आत्मकथामाथि आधारित भएर बनेको फिल्म हो ।

यो फिल्ममा कलाकारहरुको कुरा गर्दा लिओनार्डो डिकाप्रियो, मार्गट रवि, जोनाह हिललगायतले अभिनय गरेका छन् ।

अब कुरा गरौं फिल्मले लगानी र सेयर बजारको बारेमा के सिकाउँछ भन्ने विषयमा । फिल्म मुख्य गरि अमेरिकी सेयर बजारको एक ठूलो वित्त अपराधीको विषयमा भएकाले यसले सेयर कारोबारको प्रक्रियाबारे धेरै कुरा सिकाउँछ । फिल्ममा बेलफर्डको भूमिकामा लिओनार्डोले अभिनय गरेका छन् ।

व्यक्तिगत जीवनका उतारचढाव र पछि उनले सेयर बजारमा प्रवेश गरेको कथा त रोमाञ्चक छ नै । सँगै कसरी स्ट्राट्टन ओकमोन्ट नामक कम्पनी खोलेर पेन्नी स्टकको कारोबारबाट उनी अर्बपति बन्छन् भन्ने कुरा फिल्मले सिकाउँछ । पेन्नी स्टक भनेको अमेरिकी बजारमा साना कम्पनीहरुको सेयर हो, जसको मूल्य १ अमेरिकी डलरभन्दा कम हुन्छ । यसलाई आईपिओ भन्न मिल्दैन । तर, साना कम्पनीहरुले लगानी उठाउने यो एक किसिमको माध्यम हो ।

पेन्नी स्टकबाट सुरु भएर १ हजारभन्दा धेरै स्टक ब्रोकरलाई रोजगार दिन सफल भएको कम्पनीका मालिक बेलफर्डको लक्जरियस जीवन र उनको लागुऔषधतर्फको कुलत पनि फिल्मले देखाएको छ । जसले सेयर बजारका ठूला खेलाडीहरुको जीवन कस्तो हुन सक्छ भन्ने अनुमान लगाउन दर्शकलाई खुल्ला छाडिदिन्छ । सँगै बेलफर्डकै कम्पनीले अमेरिकी जुत्ता कम्पनी स्टिभ मेड्डनको आईपिओको लागि गरेको काम र कसरी आम जनमानिसलाई छलेर लगानी जुटाइएको थियो भन्ने कुरा फिल्मले प्रष्ट पारेको छ । यसले सेयर बजारमा हुन सक्ने यस्ता घटनाहरुको आकंलन वा कल्पना गर्न दर्शकलाई पर्याप्त प्रसंगहरु दिन्छ । सँगै सम्पत्ति शुद्धिकरणका लागि कस्तो उपायसम्म अपनाइन्छ भन्ने कुरा पनि फिल्ममा देखाइएको छ ।

प्रमुख कुरा स्टक ब्रोकरलाई आर्थिक सल्लाहकारका रुपमा लिने कतिपय साना लगानीकर्ताहरु हुन्छन् । तर, फिल्ममा एक पात्र मार्क हन्नाले भनेका छन्, ‘कुन सेयर कति बढ्छ वा कति कम हुन्छ कसैले थाहा हुँदैन ।’ र उनको यो उक्ति वास्तवमा सत्यता पनि हो भन्ने फिल्मले प्रमाणित गर्छ ।

२.स्क्याम १९९२ र द बिग बुल

स्क्याम १९९२ र द बिग बुल दुवै एकै व्यक्तिमाथि आधारित भएर बनेका सिरिज र फिल्म हुन् । यी दुवै फिल्महरु भारतीय स्टकब्रोकर हर्सद मेहताको जीवनमाथि आधारित रहेर बनेका हुन् । सुरुवातमा कुरा गरौं स्क्याम १९९२: द हर्सद मेहताको बारेमा ।

हन्सल मेहता तथा जय मेहता निर्देशित यो सिरिज सन् १९९२ भारतीय सेयर बजारमा भएको घटनामा आधारित छ, जुन घटनामा नक्कली फर्महरुमार्फत झण्डै ९० कम्पनीहरुको २८ लाख सेयरहरु दुरुपयोग गरेको भन्दै सिबिआईले हन्सल मेहता र अन्यलाई गिरफ्तार गरेको थियो । यो घटनामा त्यो बेलाको २५० करोड भारतीय रुपैयाँ (हालको १९ बिलियन भारतीय रुपैयाँ) बराबरको यो ठगी रहेको बताइन्छ ।

यो सिरिजमा १० वटा एपिसोडहरु रहेका छन् । सिरिज हर्सद मेहता मध्यम परिवारबाट कसरी भारतीय अर्थतन्त्रलाई नै प्रभाव पार्ने किसिमा सेयरका खेलाडी भए र अन्त्यमा उनको कसरी पतन भयो भन्ने कुरालाई प्रस्तुत गरिएको छ । रमाईलो कुरा त के छ भने पत्रकारिताको माध्यमबाट कसरी ठूलो ठगीलाई पनि बाहिर ल्याउन सकिन्छ भन्ने कुरा पनि यो सिरिजिमा पाउन सकिन्छ।

तर, यदि कसैलाई १० एपिसोड भएको र घण्टौं लामो यो सिरिज हेर्न मन नभएमा द बिग बुल फिल्म त्यसको बिकल्प बन्न सक्छ । यो फिल्म पनि हर्सद मेहताकै जीवनमा आधारित फिल्म हो, जसमा १९८० देखि १९९० बीच उनले गरेका आर्थिक अपराधका विषयहरुलाई समेटिएको छ ।

भारत आर्थिक रुपमा ठूला परिवर्तनहरुबाट गुज्रिरहेको बेलामा हन्सल मुम्बई आएर कसरी बम्बई स्टक एक्स्चेन्जमा सबैभन्दा ठूला मध्येका एक खेलाडी बने भन्ने कुरालाई यो फिल्ममा प्रस्तुत गरिएको छ ।

कोकि गुलाटीको निर्देशन रहेको यो फिल्ममा अभिसेक बच्चन, इलियाना डि क्रुज र निकिता दत्त लगायतको अभिनय रहेको छ।

३. द बिग सर्ट र टु बिग टु फेल

सन् २००७–२००८ को आर्थिक मन्दीलाई बुझ्न द बिग सर्ट र टु बिग टु फेल फिल्म निकै उत्कृष्ट हुन् ।

एकेडेमी अवार्डमा उत्कृष्ट एडप्टेड पटकथा विद्यामा अवार्ड जितेको सन् २०१५ को द बिग सर्ट फिल्म फिल्म माईकल लेविसको सोही नामको पुस्तकमा आधारित भएर बनेको फिल्म हो ।

क्रिष्टियन बेल, स्टिभ कारेल, रायन गस्लिंग, ब्राड पिटजस्ता हलिउडका उत्कृष्ट अभिनेताहरुले यो फिल्ममा काम गरेका छन् । फिल्मको निर्देशन भने एडम म्याकिले गरेका हुन् ।

फिल्मले सन् २००७–२००८ को अमेरिकी आर्थिक मन्दी कसरी अमेरिकाको घरजग्गाको कारोबारका कारण सुरु भएको थियो भन्ने कुरालाई प्रस्तुत गरेको छ । फिल्ममा तीन फरक फरक कथाहरु प्रस्तुत गरिएका छन्, जसलाई आर्थिक रुपमा एकअर्कासँग जोड्न सकिन्छ । २००७ को घरजग्गाको कारोबारमा आएको दुर्घटनाको पछाडिका कारणहरु यी कथाहरुले प्रस्तुत गरेका छन् । फरक फरक क्षेत्रका फरक पात्रहरुले यो घटनाबाट निकालेको फाइदाको कुरालाई फिल्ममा समेटिएको छ।

द बिग सर्ट फिल्म हेर्दा विभिन्न आर्थिक विषयहरु पनि बुझ्न सकिन्छ । फिल्ममा अभिनेत्री मार्गो रबि, गायिका सेलेना गोमेज, अर्थशास्त्री रिचर्ड थालेरलगायतले क्यामियो गरेर विभिन्न आर्थिक विषयहरुलाई परिभाषित गरेका छन् ।

गैरआख्याम पुस्तकमा आधारित भएतापनि फिल्म भने बोरिंग वा अल्छि लाग्ने छैन । विश्व भरकै अर्थतन्त्रलाई प्रभाव पार्ने गरि अमेरिकाबाट सुरु भएको त्यो घटनाको यथार्थलाई जानिरहँदा फिल्मबाट वैश्विक आर्थिक मन्दी हुने अवस्था सिर्जना गर्ने मानिसहरु कुन अवस्था र पदका हुन्छन् भन्ने पनि बुझ्न सिक्न सकिन्छ ।

त्यस्तै, सन् २०११ को टु बिग टु फेल अमेरिकी बायोग्राफिक फिल्म हो । आन्ड्रिउ रोस सर्किनको पुस्तक टु बिग टु फेलमाथि आधारित रहेको यो फिल्मलाई कर्टिस हेनसनले निर्देशन गरेका छन् । यो फिल्म टेलिभिजन फिल्म हो, जुन एचबिओबाट प्रसारण भएको थियो ।

यो फिल्म देशको अर्थव्यवस्थाका लागि वित्तिय संस्थाको स्थायित्व र स्थिरता किन आवश्यक छ र वित्तिय संस्थामा समस्या आएमा त्यसले कसरी देशभरकै आर्थिक अवस्थालाई पनि प्रभाव पार्न सक्छ भन्ने फिल्मले देखाएको छ ।

फिल्ममा अमेरिकी बैंक बियर स्ट्रन्र्सलाई जेपि मोर्गन चेसले किनेपछिका घटनाहरुलाई प्रस्तुत गरिएको छ । फाइनेन्सियल थ्रिलर फिल्म भएकाले पनि यो फिल्मले दर्शकलाई मजाले तान्छ ।

सर्वसाधारणले आफूले पैसा बैंकमा बचत गरेतापनि त्यो पैसा बैंकले कहाँ लगानी गरेको छ भन्ने बारेमा पनि जानकारी राख्नुपर्नेजस्ता कुराहरु फिल्मले सिकाउँछ । बैंकिंग प्रणालीमा हुने लोभ र बैंकिंग प्रणालीमा आउने समस्याले समग्र अर्थतन्त्रलाई समस्या पार्छ भन्ने आधारमा बनेको फिल्मले सँगै एक सर्वसाधारणले बचत गर्ने पैसाको के हुन्छ भन्ने कुराबारे पनि सोच्न बाध्य बनाउँछ ।

४. द मनि पिट

आर्थिक विषयबारेको सिनेमाको कुरा गर्दा लगानी कस्तो अवस्थामा गर्ने भन्ने विषयको कुरा नगरि बस्न सकिदैंन । र यो कुरालाई बुझाउन द मनि पिटभन्दा अर्को उत्कृष्ट फिल्म नै छैन भन्न सकिन्छ ।

रोम्यान्स र कमेडी विधाको यो फिल्ममा टम ह्यांक्सजस्ता वरिष्ठ अभिनेताको अभिनय रहेको छ । उनीसँगै सेल्ली लंग, एलेक्जेन्डर गोडुनोभलगायतको अभिनय फिल्ममा छ । फिल्मलाई रिचार्ड बेन्जामिनले निर्देशन गरेका हुन् ।

सन् १९८६ मा प्रदर्शनमा आएको यो फिल्मले एक युवा जोडीको कथा भनेको छ । वाल्टर फिल्डिंग र उनकी प्रेमिका एन्ना कोरवेले आफू बसिरहेको अपार्टमेन्ट छाड्नुपरेपछि किनेको घरसँगै उनीहरुको खराब दिन पनि आउँछ । २ लाख अमेरिकी डलरमा किनेको घर आफ्नो स्वामित्वमा आएकै दिनबाट भत्किन र अन्य समस्याहरु आउन थाल्छ । उनीहरुको जीवनभरको लगानी नै लागेको भएपनि घरको मर्मतका लागि थप पैसा आवश्यक पर्छ ।

फिल्मले लगानी गर्दा कस्तो अवस्थामा गर्ने वा कस्तो कुरामा गर्ने भन्ने कुरालाई सिकाएको छ । मुख्यतः फिल्ममा प्रमुख पात्र फिल्डिंग र कोरवेले घर बेच्ने महिलाको दुःखको कथा सुनेर हतारमा घर खरिद गरेका हुन्छन् । तर, जीवनभरको लगानी लगाएको घर अन्त्यमा उनीहरुले सोचेको जस्तो निस्किदैंन र थप लगानी गर्नुपर्ने अवस्था आउँछ ।

आर्थिक वा वित्तिय व्यवस्थापनको योजना बिना नै काम गर्दा हुन सक्ने खतराबारे यो फिल्मले राम्रो पाठ सिकाउँछ । कर्जा लिँदा वा आफूले कुनै पनि कुरा किन्दा आफूसँग भएको आर्थिक अवस्थाको व्यवस्थापन किन आवश्यक छ भन्ने जान्न यो फिल्म हेर्न सकिन्छ ।

५. द एसेन्ट अफ मनि

अर्थतन्त्रलाई बुझाउन अर्थशास्त्रीभन्दा धेरै कसले सक्ला? अर्थशास्त्र तथा इतिहासकार निअल्ल फेर्गुसनको यहि नामको पुस्तकमा आधारित डकुमेन्ट्री फिल्म हो द एसेन्ट अफ मनि ।

पुस्तकलाई डकुमेन्ट्रीमा रुपान्तरण गरेर सन् २००९ मा प्रसारण गरिएको थियो । ६ एपिसोडको पुरा डकुमेन्ट्री तथा ४ घण्टाको छोट्याईएको डकुमेन्ट्रीका रुपमा यसलाई हेर्न सकिन्छ ।

अर्थतन्त्र, पैसा, कर्जा, बैंकिंगजस्ता विभिन्न आर्थिक पक्षहरुको बारेमा जान्नका लागि यो डकुमेन्ट्री उत्कृष्ट छ । कारोबार वा व्यापारको सुरुवात कसरी भयो र कसरी पैसा अहिलेको अवस्थासम्म आईपुग्योदेखि हालका वित्तिय संस्था तथा संगठनहरुको अवस्था र उनीहरुको महत्वसम्मका कुराहरुलाई फिल्ममा समेटिएको छ ।

कर्जादेखि बैंकिंग प्रणाली, सेयर बजार तथा घरजग्गा कारोबार र त्यसमा हुने दुर्घटनाजस्ता कैयौं कुराहरुलाई यो डकुमेन्ट्रीले समेटेको छ । सँगै विश्वव्यापीकरण र पश्चिमा देशको मुद्राको बाहुल्यताजस्ता कुराहरुदेखि हाल चीन र अमेरिकाजस्ता देशका कारण हुन सक्ने आर्थिक जोखिमलाई पनि डकुमेन्ट्रीमा समेटिएको छ ।

००००

फरक फरक विषय तथा फरक फरक शैलीका यी फिल्महरुबाहेक अर्थतन्त्र, सेयर बजारलगायतको विषयमा बुझ्न अन्य फिल्महरु पनि हेर्न सकिन्छ । यस्ता फिल्महरुमा सन् १९९७ को मनमोहन निर्देशित फिल्म सेयर बजार, १९८३ को जोन लेन्डिस निर्देशित ट्रेडिंग प्लेस, २०१२ को डकुमेन्ट्री फिल्म गोल्डमेन स्याक्सः द बैंक द्याट रुल्स द वल्र्ड, सन् १९८७ को आलिभर स्टन्स निर्देशित वाल स्ट्रिट तथा यसको सिक्वेल सन् २०१० को वाल स्ट्रिटः मनि नेभर स्लिप्सजस्ता फिल्महरु पनि यो क्षेत्रसँग सम्बन्धित फिल्महरु हुन्, जसले धेरै विषयहरुबारे बुझ्न सघाउँछन् ।


क्लिकमान्डु