ब्राण्ड बन्दै यी मिठाईः जो बाहिरबाट आए, उपत्यकामा रमाए
काठमाडौं । बाहिरबाट सुरु भएर काठामाडौंबासीको जिब्रोमा झुन्डिएका रैथाने मिठाईको संख्या बढ्दो छ । बिजनेस हबको रुपमा फस्टाउँदै गएको काठमाडौंमा नेपालका विभिन्न स्थानका रैथाने मिठाईले राज गर्न थालेका हुन् ।
विदेशी चकलेटको प्रतिस्पर्धामा एक दशकयता नेपाली रैथाने ब्राण्डको उपस्थिति बलियो देखिन थालेको छ । सप्तकोशीनजिकै पर्ने सप्तरीको बरमझियामा रहेको बुढो बाजेको पेडा होस् वा भैरहवामा पवन हलुवाइले खोलेको पवन मिठाई वा इलाममा खुवा रोल गरेर बनाइएको ललिपप नै किन नहोस्, स्वाद र गुणस्तर दुवैमा अब्बल हुनुका साथै नेपालभर नै ब्राण्डको रुपमा उदाइरहका छन् ।
संगम स्विटः मिठाईसँगै लन्च बक्स पनि
झापाका संगम शर्माले सुरु गरेको संगम स्विट अब झापाको मात्र रहेन । झापामा दुईवटा शाखा खोलेर आफ्नै नामबाट मिठाईको ब्राण्डिङ गरिरहेका शर्माले काठमाडौँमा पाँचवटा शाखा खोलिसकेका छन् ।
नुनिलो र गुलियो स्वादमा रहेका विभिन्न परिकार पस्कँदै आएको संगम स्विटले काठमाडौँमा उपस्थिति जनाएको १३ वर्ष भइसक्यो । कोइला आयात गर्ने काम यथावत् राखेर काठमाडौँमा शाखा खोलेको शर्माले बताए । ‘सन् २०१० मा काठमाडौँको कमलादी खोलेका थियौँ, अहिले ६ स्थानमा खोलिसकेका छौँ,’ उनले भने ।
दुई दशकअघि भारतबाट कोइला झापामा ल्याएर बिक्री गर्ने उनी भारत र नेपालको ओहोरदोहोरमा मिठाईतर्फ लोभिएका थिए। नेपालमा मारबाडी समुदायको वर्चस्व रहेको मिठाईको व्यापारले शर्माको पनि ध्यान खिचेको थियो ।
झापामा विराटनगरजस्तै उति धेरै मिठाई पसल थिएनन् । उनले बजारको माग आकलन गरेर सन् १९९५ मा आफ्नै नामबाट सुरु गरेको मिठाईले अहिले विस्तारित रुप लिएको हो ।
सन् २०१० मा पहिलो पटक काठमाडौंको कमलादीमा पहिलो शाखा खुल्यो । काठमाडौँमा पाँच र झापामा दुई वटा शाखा छन् । मिठाईसहित संगम स्विटले लन्च बक्सको समेत व्यवस्था गर्दै आएको शर्मा बताउँछन् ।
कोशीको कोशेलीः बरमझियाको पेडा
दसैंतिहार होस् या अन्य कुनै समय, उपत्यका छोडेर पूर्वतिर लाग्नेहरुका लागि पेडा कोशेली अनिवार्य जस्तै हुन्छ । यो काठमाडौंका लागि मात्रै कोशेली बनेको छैन, पूर्व-पश्चिम राजमार्ग हुँदै बरमझिया पुग्ने हरेक मिठाई पारखीहरुको पहिलो रोजाइ पनि हुने गर्छ ।
खुवाबाट बनेको पेडाले बरमझियालाई नै पेडाका लागि प्रसिद्ध बनाएको छ । कुनै समय यो क्षेत्र राजमार्गको एक साइडमा चिया बेच्ने टहरामात्रै हुने गर्थे । तर, बुढो बाजेको पेडाको उदय भएसँगै यो स्थानले रुप नै फेरेको छ ।
ठ्याक्कै कहिलेबाट यो व्यवसायको सुरु भयो भन्ने यकिन नभए पनि करिब चार पुस्तादेखि पेडा व्यवसाय सुरु भएको जानकारहरु ठान्छन् । त्यसयता चियाका टहरा लस्करै पेडा पसलमा परिणत भएका छन् ।
बुढेबाजेको पेडा पसलबाट सुरु भएको पेडा पसल अहिले २३ वटामा फैलिसकेको छ । त्यतिमात्र नभएर काठमाडौंमै किन्ने व्यवस्था पनि छ । काठमाडौँमा भने सप्तरीकै आनन्द प्रसादले बजारीकरण गर्दै आएका छन् । सामाजिक सञ्जालको प्रयोग गरेर सप्तरीकै बरमझियाको पेडा उनले काठमाडौँमा डेलिभर गर्दै आएका हुन् ।
‘बुबाले पेडा बनाउनुहुन्थ्यो, हामीले छोडेर काठमाडौँ सरेपछि पेडा खान सप्तरी नै पुग्नुपथ्र्यो,’ उनले भने, ‘बरमझियाको पेडा किन्न त्यहीँ पुग्नुपर्ने बाध्यता हटाउन यहाँ डेलिभरीको काम सुरु गरेको हुँ,’ उनले भने ।
उनले बरमझियाको पेडालाई सामाजिक सञ्जालबाट ब्राण्डिङ गर्दै आएका छन् । ब्राण्डको रुपमा स्थापित हुँदै गर्दा गर्जो टार्नका लागि खुवा बनाउने स्थानीयहरु बुडो बाजेको पेडालाई ब्राण्ड बनाउन लागिपरेका छन् ।
इलामे ललिपप
तपाईं-हामीले देखेको विभिन्न स्वादको ललिपपभन्दा पोषिलो र स्वादिलो हुने इलामको रैथाने परिकार हो- इलामे ललिपप । नाम सुन्दा पसलमा पाइने चकलेट प्रकृतिका ललिपप लागे पनि यो पूर्ण प्रांगारिक र रैथाने परिकार हो ।
ललिपप इलाममा स्थानीय बासिन्दाले खुवाबाट बनाउने एक प्रकारको मिठाइ हो । इलामका खुवा व्यवसायीहरुले खुवालाई रोल गरेर ललिपपको आकृति दिएपछि यसको नाम नै इलामे ललिपप रहन पुगेको स्थानीय बताउँछन् ।
सुरुमा इलाम घुम्न जोन आन्तरिक पर्यटकलाई मात्रै बेच्न भनेर सुरु गरिएको ललिपप अहिले नेपालमात्रै होइन, विदेश पनि पुग्ने गरेको छ । इलामे ललिपप प्रतिगोटा २० रुपैयाँ वा प्रतिप्याकेट १ सय ५० रुपैयाँमा पाइन्छ ।
यसबाहेक भैरहवामा एकछत्र राज गरिरहेको पवन मिष्ठान्न, आँगन र रामभण्डार पनि काठमाडौँका बासिन्दाको मनमष्तिस्कमा बस्न सफल मिठाइ हुन् । काठमाडौँका रैथाने मिठाई गुँदपाक, असनको मिठाइ कर्नरलगायत पनि छन्, जसले वर्षौंदेखि उपत्यकाबासीलाई स्थानीय स्वाद पस्कँदै आएका छन् ।