कर्मचारीको सेवा सुविधामा कुन बैंकको कति खर्च ?



काठमाडौं । सेवा सुविधाका हिसाबले बैंकको जागिर आकर्षक मानिन्छ । बैंकको जागिरलाई ‘ग्ल्यामर जब’को रुपमा पनि लिने गरिन्छ । बैंकको जागिर खाने र बैंकर बन्ने चाहना धेरैमा हुन्छ ।

यसको मुख्य कारण हो- आकर्षक तलब सुविधा । पारिश्रमिक राम्रो भएकै कारण अधिकांशको रोजाइमा बैंकको जागिर पर्ने गरेको छ ।

लगानीकर्ता तथा सेयरधनीलाई धेरै प्रतिफल दिने बैंकहरुको ध्येय हुने गर्छ । त्यसका लागि कर्मचारीलाई बैंकहरुले दैनिक १२ घन्टा वा सोभन्दा बढी नै समय पनि काममा लगाउँछन् । त्यसबापत आकर्षक पारिश्रमिक पनि भुक्तानी गर्छन् ।

पारिश्रमिकमात्रै नभएर बैंकहरुले कर्मचारीलाई उनीहरुको क्षमता बढाउने, अध्ययन अध्यापन गराउने र भ्रमण गराउन पनि राम्रो खर्च गरेका हुन्छ ।

कर्मचारीले पाउने बोनस पनि राम्रो नै हुन्छ । घर कर्जा, सवारी कर्जा, अन्य सापटीलगायत सुविधा निकै राम्रो मानिन्छ । जसले गर्दा बैंकको जागिरलाई निकै आकर्षक मानिन्छ ।

तर, अर्थतन्त्रमा देखिएको संकटको प्रभाव बैंकिङ क्षेत्रमा पनि देखिएको छ । चालु आवको पहिलो त्रैमासको वित्तीय अवस्था हेर्दा यसअघि बैंकहरुलाई ‘नाफामा मात्रै ध्यान दिए’ भनेर लाग्ने गरेको आरोप कमजोर बन्दै गएको छ ।

असोज मसान्तसम्म बैंकहरुको नाफा २८ प्रतिशतभन्दा बढीले नै घटेको छ । नाफा घट्दा कर्मचारीले पाउने बोनस घटेको छ । बैंकहरुले कर्मचारीलाई गर्ने खर्चसमेत घटाएका छन् ।

गत आवको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डू, सेञ्चुरी, मेगा, सनराइज, एनसीसी र सिभिलबाहेकका वाणिज्य बैंकहरुले कर्मचारीका लागि १२ अर्ब २४ करोड २३ लाख रुपैयाँ खर्च गरेका थिए । चालु आवको सोही अवधिमा बैंकहरुले कर्मचारीका लागि ११ अर्ब ४ करोड ९३ लाख रुपैयाँ खर्च गरेका छन् ।

चालु आवको पहिलो त्रैमासमा कर्मचारीलाई बढी खर्च गर्ने बैंकमा ग्लोबल आइएमई रहेको छ । गत आवको पहिलो त्रैमासमा बैंकले कर्मचारीलाई गरेको खर्च ९४ करोड थियो । चालु आवको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ छ ।

यो वर्ष भने बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक मर्ज भएर ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भएको छ । दुवै बैंक मर्जर हुँदा बैंकले कर्मचारीका लागि गरेको खर्च बढी देखिएको छ ।

गत आवमा २८ वटा वाणिज्य बैंकबाट मर्जर भएर २० वटा रहेका छन् । जसमा ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्ज भएर ग्लोबल आइएमई बैंक, सेञ्चुरी र प्रभु मर्जर भएर प्रभु बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज भएर इन्भेष्टमेन्ट मेगा बैंक, सिभिल र हिमालयन मर्ज भएर हिमालयन बैंक, एनसीसी र कुमारी बैंक मर्ज भएर कुमारी बैंक, नबिल र नेपाल बंगलादेश बैंक मर्ज भएर नबिल, लक्ष्मी र सनराइज मर्ज भएर लक्ष्मी सनराइज बैंक बनेका छन् ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कर्मचारीको खर्च घटाउने बैंकमा सिटिजन्स, एनआईसी एशिया, कृषि विकास, एभरेष्ट र सिद्धार्थ बैंक रहेका छन् । सिटिजन्स बैंकको ४.१६, एनआई एशिया बैंकको २२.७६, कृषि विकास बैंकको १.१३, एभरेष्ट बैंकको ६.६६ र सिद्धार्थ बैंकको ११.७६ प्रतिशतले घटेको छ ।

यस्तै असोज मसान्तसम्म कर्मचारीलाई गर्ने खर्च धेरै बढाउने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९२ प्रतिशत, हिमालयन बैंकको ८८.०९, लक्ष्मी सनराइज बैंकको ८३.३३, नबिल बैंकको ७०.७१, ग्लोबल आइएमई बैंकको ५१.०६, प्रभु बैंकको २८.५७ प्रतिशतले बढेको छ ।

तथ्यांकमा मर्ज भएर आएका बैंक अफ काठमाण्डू, सेञ्चुरी, मेगा, सनराइज, नेपाल बंगलादेश बैंक, एनसीसी र सिभिल बैंकको गत वर्षको पहिलो त्रैमासको तथ्यांक समावेश गरिएको छैन । जसका कारण ग्लोबल आईएमई, नबिल, प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, हिमालयन, कुमारी र लक्ष्मी सनराइजले कर्मचारीमा गरेको खर्च बढी देखिएको छ ।


क्लिकमान्डु