यी हुन् गत वर्ष ५ अर्ब रुपैयाँभन्दा बढी व्यापार गर्ने ८ कम्पनी, सवा १ खर्बको कारोबार
काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनका कारण माग घट्दा अधिकांश क्षेत्रको व्यापारमा असर देखिएको छ । तर, केही उद्योगहरुको व्यापार भने बढेको छ ।
हालसम्म कम्पनीहरुले रेटिङ एजेन्सीमार्फत् सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अर्थतन्त्रमा देखिएको समस्याले बजारमा माग घट्दा व्यापारमा असर देखिएको उल्लेख छ । संकलित तथ्याङ्कहरु हालसम्म रेटिङ गरेका उद्योगहरुमध्ये गत आर्थिक वर्ष ५ अर्ब रुपैयाँभन्दा बढी व्यापार गर्ने ८ कम्पनीहरु छन् । त्यसमा कतिपय कम्पनीहरुको ६ महिनामा गरेको व्यापार पनि समावेश गरिएको छ ।
गत आवमा जगदम्बा स्टिल, युनाइटेड डिस्ट्रिब्यूटर, लक्ष्मी स्टिल, सफ्ट इन्टरनेसनल कम्पनी, जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) डिस्ट्रिब्युसन प्रालि, एनसेल एक्जियटा, मैनावती स्टिल, शौर्य सिमेन्टले ५ अर्बभन्दा बढी व्यापार गरेका छन् । उक्त कम्पनीहरुले गत आवमा सवा १ खर्बको कारोबार गरेको छ । जसमा गत वर्ष ७ वटा कम्पनीले १ खर्ब २६ अर्ब ९७ करोड ६८ लाख रुपैयाँको व्यापार गरेको छ । गत आवमा तथ्याङ्क सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी जगदम्बा स्टिल र एनसेलले व्यापार गरेको छ ।
कुन कम्पनीको व्यापार कति ?
जगदम्बा स्टिलः देशमा आर्थिक क्रियाकलापहरुमा सुस्तता आइरहदा पनि शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा स्टिलले एकै वर्ष सवा ४० अर्ब रुपैयाँको डण्डीको व्यापार गरेको छ ।
सन् २०२२ मा यो समूहले वार्षिक १ अर्ब अमेरिकी डलर बढीको कारोबार गरेको थियो । जगदम्बा स्टिलले सन् २०२३ मा ४० अर्ब १७ करोड २० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । उक्त तथ्यांक हेर्दा सन् २०२२ को तुलनामा सन् २०२३ मा करिब १० अर्ब कम व्यापार गरेको हो। जुन १९ प्रतिशतले कम हो ।
समग्रमा अन्य उद्योगहरुको तुलनामा आर्थिक संकुचनका बाबजुद उल्लेख्य व्यापार गर्न सफल भएको छ । त्यस्तै, कम्पनीले सन् २०२१ मा २९ अर्ब ५५ करोड ७० लाख रुपैयाँ र सन् २०२० मा २१ अर्ब ९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले जगदम्बा इ, राइनो ५०० डी, जगदम्बा सुपर शाइन, जगदम्बा गाल्भा प्लस, जगदम्बा वायर ब्रान्डमा आफ्ना सामग्री बिक्री गर्दै आएको छ । त्यसैगरी, कम्पनीले भारतमा पनि उत्पादित वस्तु निर्यात गर्दै आएको छ । सन् २०२२ मा उत्पादनको ०.०८ प्रतिशत हिस्सा निर्यात गरेको कम्पनीले सन् २०२३ मा ५.६३ प्रतिशत हिस्सा निर्यात गरेको उल्लेख छ ।
सरकारले निर्यात प्रोत्साहन गर्ने नीतिसहित निर्यातकर्ताको लागि ८ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । जसले गर्दा निर्यातमा पनि वृद्धि हुँदै गएको देखिन्छ । कम्पनीले एमएस विलेट, स्पञ्ज आइरन र पिग आइरन आयात गरी स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले डण्डी, एंगल, सेक्सन, पाइप, शटर प्रोफाइल, कोयल, सिट, विभिन्न प्रकारका तार उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
त्यस्तै, कम्पनीले सन् २०२३ मा ८.२१ प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा कम्पनीले ८.७० प्रतिशतले नाफा कमाएको थियो ।
सन् १९९३ मा स्थापना भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरेको छ । कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य वस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।
वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन क्षमता भएको कम्पनीले कोल्ड रोल्ड प्रोडक्ट, रोलिङ मिल प्रोडक्ट, वायर प्रोडक्ट र मेल्टिङ प्रोडक्ट उत्पादन गर्दै आएको छ । तीन दशकदेखि स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको ग्रुपको अध्यक्ष शाहिल अग्रवाल हुन् ।
एनसेल एक्जियटाः निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल एक्जियटाले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को आम्दानी गरेको छ । तर, कम्पनीको आम्दानी सन् २०२२ को तुलनामा सन् २०२३ मा घटेको छ ।
कम्पनीले सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२३ मा कम्पनीले सन् २०२३ मा २ अर्ब २८ करोड ३० लाख रुपैयाँ कम हो । कम्पनीले सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ४६ अर्ब ८७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सन् २००१ मा स्पाइस नेपाल प्रालिको रुपमा स्थापित कम्पनीले सन् २००५ मा व्यवसाय सुरु गरेको थियो । कम्पनीले सुरुमा मेरो मोबाइल ब्रान्डमा दूरसञ्चारको सेवा दिँदै आएको थियो ।
युरोपियन टेलिकम जाइन्ट टेलियासोनेराले स्वामित्व लिएपछि कम्पनीले ‘एनसेल’ ब्रान्डको नाममा सेवा दिँदै आएको छ । साथै, कम्पनीले सन् २०१६ मा एनसेल प्रालिको रुपमा कम्पनीको नाम परिणत गरेको थियो ।
एक्जियटा ग्रुप बेर्हदले प्राप्ति गरेको गरी रेनल्ड होल्डिङ लिमिटेड अफ इन्डिजको नाममा ८० प्रतिशत र सुभिनेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्व छ ।
कम्पनीको आम्दानी पछिल्ला दिनहरुमा निरन्तर घटेको छ । नेपालको ५० प्रतिशत भ्वाइस क्षेत्रको हिस्सा रहेको एनसेलले सन् २०२२ मा ५७ प्रतिशत आम्दानी डाटाबाट गरेको थियो ।
युनाइटेड डिस्ट्रिब्यूटरः काठमाडौं । विशाल ग्रुपद्वारा सञ्चालित युनाइटेड डिस्ट्रिब्यूटरले एकै वर्ष पौने १४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।
कम्पनीले सन् २०२२ मा १३ अर्ब ८१ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ४ करोड ३० लाख रुपैयाँ कम व्यापार गरेको छ ।
त्यस्तै, कम्पनीको सन् २०२१ मा १२ अर्ब ११ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा ९ अर्ब ७० करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ९ अर्ब २६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले विभिन्न एफएमसीजी वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले पी एण्ड जी, ब्रिटानीया, अमुल, एण्ड एससी जोनसन र अन्य विभिन्न प्रकारका वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ। कम्पनीले देशभरका ३५ हजार हाराहारीमा रहेका आटलेटमा वस्तु वितरण गर्दै आएको छ ।
अनुज अग्रवाल, विवेक अग्रवाल, निकुञ्ज अग्रवाल, विशाल अग्रवालको ५० प्रतिशत हिस्सा र बाँकी हिस्सा अन्य १० जना सेयरहोल्डर छन्।
शौर्य सिमेन्टः नेपालको तीन ठूला व्यवसायिक घरानाद्वारा सञ्चालित शौर्य सिमेन्टको व्यापार घटेको छ । शंकर ग्रुप, अम्बे ग्रुप, हुलास ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले सन् २०२३ मा ७ अर्ब ४० करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२२ मा ७ अर्ब ४२ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको थियो। आर्थिक संकुचनले बजारमा माग नहुँदा अधिकांश उद्योगहरुको व्यापारमा कमी आउँदा शौर्य सिमेन्टका व्यापारमा भने सामान्य मात्रै प्रभाव परेको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा करिब २ अर्बले मात्रै कम व्यापार भएको छ ।
त्यस्तै, कम्पनीले सन् २०२१ मा २ अर्ब ६३ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।
दैनिक ३ हजार टन उत्पादन क्षमता भएको कम्पनीमा शंकर ग्रुप, अम्बे ग्रुप, हुलास ग्रुपको संयुक्त लगानी छ । दैनिक ३ हजार टन उत्पादन क्षमता भएको कम्पनीको अध्यक्ष सुलभ अग्रवाल हुन् ।
कम्पनीले विशेषगरी क्लिङ्करको उच्च व्यापार गर्दै आएको छ । उच्च गुणस्तरको क्लिङ्कर उत्पादन गरी बिक्री गर्दै आएको कम्पनीको उद्योग सिराहा जिल्लामा अवस्थित छ ।
देशभर ८० वटा वितरक र १८ सयभन्दा बढी डिलर रहेको कम्पनीले विभिन्न ग्रेडको सिमेन्ट र क्लिङ्कर ‘शौर्य’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
लक्ष्मी स्टिलः आर्थिक संकुचनले अधिकांश क्षेत्रको व्यापार घटे पनि लक्ष्मी स्टिलको कारोबारमा भने उछाल आएको छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण विकास निर्माणले गति लिन नसकेको निर्माण व्यवसायीहरुले बताउँदै आएका छन् । त्यस्तै, विकास निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्ने उद्योगीहरुले पनि अर्थतन्त्रमा देखिएको समस्याले व्यापार निकै खस्किएको बताउँदै आएका छन् ।
तर, लक्ष्मी स्टिलको व्यापारमा भने आर्थिक संकुचनका बाबजुद उच्च व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ९ अर्ब ४५ करोड ६९ लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब ५५ करोड ६५ लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीअनुसार सन् २०२३ मा सन् २०२२ को तुलनामा करिब १ अर्ब बढी व्यापार गरेको छ ।
कम्पनीले कोरोना अघि गरेको व्यापारभन्दा पनि २०२३ मा बढी गरेको जनाएको छ । जसमा कम्पनीले सन् २०२२ को तुलनामा सन् २०२३ मा ११ प्रतिशतले बढी व्यापार गरेको छ ।
त्यस्तै, कम्पनीले सन् २०२१ मा ६ अर्ब ९ करोड ५६ लाख रुपैयाँ, सन् २०२० मा ३ अर्ब ८० करोड ७१ लाख रुपैयाँ र सन् २०१९ मा ६ अर्ब ७६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले गरेको व्यापार गरेकोमा ९४ प्रतिशत आम्दानी टीएमटी बारबाट गरेको छ । सन् २०२२ मा डण्डीको व्यापारको हिस्सा ८८ प्रतिशत थियो । त्यसबाहेक बाँकी रिब्ड वायर, वाइन्डिङ वायर र अन्यबाट गरेको कम्पनीको भनाइ छ ।
सन् २००८ मा स्थापना भएको कम्पनीले आइरन तथा स्टिल उत्पादन गर्दै आएको छ । नेपालको स्टिल उद्योगमा क्षेत्रमा स्थापित कम्पनीमा न्यौपाने र अग्रवाल परिवारको लागानी रहेको छ । कम्पनी शौरभ ग्रुपको नामबाट सञ्चालित छ ।
कम्पनीले टीएमटी बार, रिब्ड वायर र वाइन्डिङ वायर लक्ष्मी स्टिल ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग स्पन्ज आइरन र आइरन स्क्र्याब प्रयोग गरेर बिलेट उत्पादन गर्ने क्षमता पनि छ । कम्पनीले वार्षिक २ लाख मेट्रिक टन टीएमटी बार र रिब्बड वायर उत्पादन गर्दै आएको छ ।
कम्पनीमा न्यौपाने परिवारको ९ जना सदस्यसँग ५२ प्रतिशत र अग्रवाल परिवारको ५ जना सदस्यसँग ४५ प्रतिशत हिस्सा छ ।
सफ्ट इन्टरनेसनल कम्पनीः इसेवा, फोनपेलगायत डिजिटल वालेटको सेवा दिँदै आएको सफ्ट इन्टरनेसनल कम्पनीले ६ महिनाको अवधिमा ६ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको हो ।
कम्पनीले सन् २०२२ मा १५ अर्ब ६४ करोड, २०२१ मा ११ अर्ब ७८ करोड ७० लाख, २०२० मा ८ अर्ब ५ करोड १० लाख र २०१९ मा ५ अर्ब ६३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले विशेषगरी डिजिटल टपअप अफ मोबाइल फोन ब्यालेन्स र बल्क एसएमएस सर्भिस दिँदै आएको छ ।
कम्पनीअन्तर्गत फिनटेक स्पेक्ट्रम, डिजिटल वालेट कम्पनी (इसेवा प्रालि), पेमेन्ट गेटवे कम्पनी (फोनपे पेमेन्ट सर्भिस लिमिटेड) लगायत अन्य सुविधा र टेक बेस्ड कम्पनीको रुपमा काम गर्दै आएको छ ।
विश्वास ढकालको ३५ प्रतिशत हिस्सा रहेको कम्पनी सन् २००४ मा स्थापना भएको हो । सन् २०२३ सम्ममा १२० बैंक तथा वित्तीय (५५ वटा लघुवित्तमध्ये ९ वटाबाहेक)ले कम्पनीले निर्माण गरेको मोबाइल तथा इन्टरनेट बैंकिङ सफ्टवेयर प्रयोग गर्दै आएका छन् । एफवान सफ्ट ग्रुपले बल्क ट्रेडिङ अफ डिजिटल टप अप र एसएसमएस सर्भिसका साथै इन्टरनेटको पनि सेवा दिँदै आएको छ ।
जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) डिस्ट्रिब्युसन प्रालिः गोल्डेन ओकसहित अन्य विभिन्न प्रकारका मदिरा बेच्दै आएको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) डिस्ट्रिब्युसन प्रालिको व्यापार १७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ६ महिनाको तुलनामा सन् २०२३ को सोही अवधिमा १७ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा ५ अर्ब ४० करोड ३९ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा १४ अर्ब ५० करोड २७ लाख रुपैयाँ, सन् २०२० मा ११ अर्ब ३८ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा १३ अर्ब ३१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीका अनुसार सन् २०२३ मा सरकारले आयातमा लागू गरिएको शतप्रतिशत मार्जिनले गर्दा व्यापारमा उच्च प्रभाव परेको उल्लेख छ।
जेजीआई ४ वटा डिस्टिलरिज विजय, एसियन, हिमालय र रोल्वालिङ रिभरको एक मात्र वितरक हो । त्यस्तै, कम्पनीले अ ब्रुअरी र राज ब्रुअरी पनि यही ग्रुपअन्तर्गत सञ्चालन गर्दै आएको छ ।
कम्पनीले केही वाइन र बियरको पनि आधिकारिक विक्रेता पनि हो । कम्पनीमा विजयकुमार शाहको ५५ प्रतिशत र उनका छोराको ४५ प्रतिशत हिस्सा छ । देशभर ५ वटा वायर हाउस र २३७ वटा डिलर छन् ।
कम्पनीले ४०अप ब्राउन सेग्मेन्टमा गोल्डेन ओक बिक्री गर्दै आएको छ । उक्त मदिराको ग्राहक पनि उच्च रहेको कम्पनीको भनाइ छ ।
त्यसैगरी, कम्पनीले सन् २०२२ मा गरेको व्यापारमा मिश्रित ब्रान्डको हिस्सा ६२ प्रतिशत ब्राउन स्पिरिटको छ । जसमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजरर, हिमालय ब्रान्डी र अन्य मदिराको हिस्सा छ ।
त्यसबाहेक २४ प्रतिशत ह्वाइट स्पिरिटमा भोड्का, जिन र आइलाको र १४ प्रतिशत बियरको हिस्सा छ ।
कम्पनीले प्रमुख ब्रान्डको मदिरा रुस्लान भोड्काको भने बजारमा हिस्सा गुमाउँदै गएको छ । कम्पनीका अनुसार अहिले ४०अप गोल्डेन ओक र ४०अपको ब्लु डाइमन्ड जिन ब्रान्डको मदिराले व्यापार धानेको छ । जसमा उक्त दुई ब्रान्ड मदिराको हिस्सा मात्रै ६८ प्रतिशत छ।
मैनावती स्टिलः विशाल ग्रुपको लगानी रहेको मैनावती स्टिल इन्डष्ट्री प्रालिले १० महिनाको अवधिमै करिब ५ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को १० महिनाको अवधिमा ४ अर्ब ९२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२२ मा ४ अर्ब २९ करोड ८० लाख, सन् २०२१ मा ४ अर्ब ६५ करोड ८० लाख र सन् २०२० मा ५ अर्ब २४ करोड रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९९५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य वस्तु उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले वार्षिक १ लाख ११ हजार ९ सय मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीमा अध्यक्ष त्रिलोक अग्रवालको १७ प्रतिशत हिस्सा छ ।
कम्पनीले सन् २०२२ मा १० देखि १२ प्रतिशतसम्म नाफा कमाएको छ । कम्पनीका अनुसार सन् २०२३ को १० महिनाको अवधिमा सन् २०२२ को तुलनामा १४ प्रतिशतले व्यापार बढेको हो ।
कम्पनीले एमएस ब्ल्याक पाइप, एमएस सिट्स, टुबुलार/टेलिस्कोप पोल्स, जीआई पाइप, स्ट्रक्चर, सटर प्रोफाइल र अन्य विभिन्न प्रकारका स्टिलजन्य वस्तु बजारको मागअनुसार बिक्री गर्दै आएको छ ।
कम्पनीले एमएसआई ब्रान्डमा आफ्ना उत्पादन बिक्री गर्ने गर्छ । कम्पनीले विभिन्न कच्चा पदार्थ आयात गरी बजारको मागअनुसार वस्तु उत्पादन गरिरहेको छ । कम्पनीले एचआर/सीआर/जीपी कोइला, जिन्क इन्गोट, रोड र एन्जल आदि कच्चा पदार्थ भारतबाट आयात गरी स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ ।