विकास निर्माणले गति लिन नसक्दा कुन स्टिल उद्योगले कतिको गरे व्यापार ?



काठमाडौं । विकास निर्माणले गति लिन नसक्दा निर्माण सामग्री उत्पादन गर्ने उद्योगको व्यापारमा असर देखिएको छ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र सरकारले सयममै आयोजना सम्पन्न भएको रकम भुक्तानी गर्न नसक्दा गत वर्ष विकास निर्माणले गति लिन सकेको थिएन ।

पूर्वाधार निर्माणले गति नलिँदा स्टिल उद्योगमा प्रत्यक्ष असर देखिएको छ । संकलित तथ्याङ्कअनुसार बजारमा स्टिलको माग नहुँदा व्यापारमा कमी आएको कम्पनीहरुले जनाएको छ । त्यस्तै, रेटिङमार्फत् वित्तीय विवरण सार्वजनिक गरेको तथ्याङ्कमा सिमित कम्पनीबाहेक अधिकांशक स्टिल कम्पनीको व्यापारमा कमी आएको देखाउँछ ।

देशभर भएका उद्योगहरुमा रियल स्टिल्स प्रालि, मैनावती स्टिल इन्डष्ट्री प्रालि, श्री स्टिल प्रालि, विजयश्री स्टिल प्रालि, सर्वोत्तम स्टिल, लक्ष्मी स्टिल, सिद्धि लक्ष्मी स्टिल्स प्रालि, जगदम्बा स्टिलले सार्वजनिक गरेको वित्तीय विवरणमा केही उद्योगको व्यापारमा मात्रै उछाल आएको छ ।

कुन स्टिल उद्योगले कति व्यापार गरे ?

रियल स्टिल प्रालिः रियल स्टिल्स प्रालिले सन् २०२३ मा १ अर्ब २३ करोड बढीको व्यापार गरेको छ । विगत दुई वर्षमा निरन्तर उकालो लागेको रियल स्टिलको व्यापार २०२३ मा आएर भने केही कम भएको हो भने मार्जिन पनि २०२३ मा नकारात्मक भएको छ ।

सन् २०१८ सुरु भएको रियल स्टिल्स प्रालिले सन् २०२० जनवरीदेखि वीरगञ्जमा रहेको आफ्नो कारखानाबाट व्यवसायिक उत्पादन सुरु गरेको थियो । कम्पनीले वार्षिक ४९ हजार ८ सय मेट्रिक टन स्टिलसँग सम्बन्धित सटर, कोइल सिट, लक प्लेटजस्ता सामग्रीहरु उत्पादन गर्दै आएको छ ।

२०२१ मा कम्पनीको व्यापार १ अर्ब १५ करोड ८० लाख रुपैयाँ थियो । २०२२ मा त्यसमा वृद्धि भएर १ अर्ब ३७ करोड ५० लाखको व्यापार गरेको कम्पनीको २०२३ को व्यापार भने कम भएर १ अर्ब २३ करोड १० लाख रुपैयाँ भएको छ ।

कम्पनीको यो वर्षको मार्जिन पनि नकारात्मक रहेको छ । कम्पनीको २०२१ को मार्जिन १०.८५ प्रतिशत थियो । २०२२ मा मार्जिनमा पनि गिरावट आएर ९.४७ प्रतिशत मार्जिन रहेकोमा २०२३ मा भने नकारात्मक मार्जिन देखिएको छ । व्यापार र मार्जिन दुवैमा गिरावट आउनुको कारण आयातका क्रममा लाग्ने खर्च रहेको कम्पनीले जनाएको छ ।

मैनावती स्टिल इन्डष्ट्री प्रालिः विशाल ग्रुपको लगानी रहेको मैनावती स्टिल इन्डष्ट्री प्रालिले १० महिनाको अवधिमै करिब ५ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को १० महिनाको अवधिमा ४ अर्ब ९२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ४ अर्ब २९ करोड ८० लाख, सन् २०२१ मा ४ अर्ब ६५ करोड ८० लाख र सन् २०२० मा ५ अर्ब २४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य वस्तु उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले वार्षिक १ लाख ११ हजार ९ सय मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीमा अध्यक्ष त्रिलोक अग्रवालको १७ प्रतिशत हिस्सा छ ।

कम्पनीले सन् २०२२ मा १० देखि १२ प्रतिशतसम्म नाफा कमाएको छ । कम्पनीका अनुसार सन् २०२३ को १० महिनाको अवधिमा गत वर्षको तुलनामा १४ प्रतिशतले व्यापार बढेको हो ।

कम्पनीले एमएस ब्ल्याक पाइप, एमएस सिट्स, टुबुलार÷टेलिस्कोप पोल्स, जीआई पाइप, स्ट्रक्चर, सटर प्रोफाइल र अन्य विभिन्न प्रकारका स्टिलजन्य वस्तु बजारको मागअनुसार बिक्री गर्दै आएको छ ।

कम्पनीले एमएसआई ब्रान्डमा आफ्ना उत्पादन बिक्री गर्ने गर्छ । कम्पनीले विभिन्न कच्चा पदार्थ आयात गरी बजारको मागअनुसार वस्तु उत्पादन गरिरहेको छ । कम्पनीले एचआर÷सीआर÷जीपी कोइला, जिन्क इन्गोट, रोड र एन्जल आदि कच्चा पदार्थ भारतबाट आयात गरी स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ ।

श्री स्टिल प्रालिः विकास निर्माणले तीब्र गति लिन नसक्दा श्री स्टिल प्रालिको व्यापारमा कमी आएको छ । सन् २०२३ को ६ महिनामा कम्पनीले ३ अर्ब २ करोड ४० लाखको कारोबार गरेको छ ।

कम्पनीले २०२२ मा ६ अर्ब १३ करोड ८० हजार रुपैयाँको व्यापार गरेको थियो । सन् २०२० मा कम्पनीले ३ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा कम्पनीको व्यापारमा उछाल आउँदै ७ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार भएको थियो ।

सन् २०२२ मा भने कम्पनीको व्यापारमा १ अर्बले कमी आएको थियो । सन् २०१६ मा सुरु भएको श्री स्टिल्स प्रालि नेपाली स्टिल उत्पादनको क्षेत्रमा नयाँ नाम हो । सिद्धार्थ ग्रुप, केडिया ग्रुप र मुरारका ग्रुपको संयुक्त लगानी रहेको यो कम्पनीले स्टिलका सामान उत्पादन गर्छ । कम्पनीको उत्पादन कारखाना रुपन्देहीको रोहिनी–४ मा छ । कम्पनीमा सिद्धार्थको ५० र अन्य दुई ग्रुपको २५–२५ प्रतिशत स्वामित्व छ ।

विजयश्री स्टिल प्रालिः विजयश्री स्टिलले सन् २०२३ को ६ महिनाको अवधिमा ८९ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२२ को सोही अवधिमा २ अर्ब ५० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । आर्थिक संकुचनले गर्दा बजारमा माग नहुँदा व्यापारमा उच्च गिरावट आएको कम्पनीको भनाइ छ ।

कम्पनीले विशेषगरी भारतबाट स्पन्ज आइरन र पिग आइरन आयात गरी डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले गरेको व्यापारमध्ये ९४ प्रतिशत हिस्सा कच्चा पदार्थको छ ।

कम्पनीले सन् २०२१ मा ५ अर्ब ३४ करोड ९० लाख, सन् २०२२ मा कम्पनीले ४ अर्ब ७१ करोड ८० लाख र सन् २०२० मा ३ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा डण्डीको माग कम हुँदा व्यापारमा असर पुगेको कम्पनीले जनाएको छ, जसले गर्दा नाफा पनि प्रभावित भएको छ ।

सन् २०१७ मा कपिलवस्तुमा उद्योग स्थापना गरी टीएमटी बार उत्पादन गर्दै आएको कम्पनीले दैनिक ७ सय मेट्रिक टन टीएमटी बार र सीसीएम उद्योगबाट दैनिक ४ सय मेट्रिक टन बिलेट उत्पादन गर्दै आएको छ ।

कम्पनीले सन् २०१८ देखि व्यापार गर्न सुरु गरेको थियो । तर, सीसीएमसी अर्थात् विलेटको व्यापार भने सन् २०२३ को फेब्रुअरीबाट सुरु गरेको छ । सिमेन्ट क्षेत्रमा देशभर चार वटा डिलर रहेको कम्पनी विजय ग्रुपद्वारा सञ्चालित छ ।

सर्वोत्तम स्टिलः शौरभ ग्रुपद्वारा सञ्चालित सर्वोत्तम स्टिलको व्यापार पनि ह्वात्तै घटेको छ । सन् २०२२ मा ८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ को ८ महिनाको अवधिमा ४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।

वार्षिक २ लाख ६४ हजार मेट्रिक टन बिलेट र २ लाख ३५ हजार मेट्रिक टन टीएमटी बार उत्पादन गर्दै आएको कम्पनीको अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । शौरभ ग्रुप र अग्रवाल परिवारको स्वामित्वमा रहेको कम्पनीको व्यापारमा सन् २०२३ मा माग कम हुँदा धक्का पुगेको छ ।

लक्ष्मी स्टिलः आर्थिक संकुचनले अधिकांश क्षेत्रको व्यापार घटे पनि लक्ष्मी स्टिलको कारोबारमा भने उछाल आएको छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण विकास निर्माणले गति लिन नसकेको निर्माण व्यवसायीहरुले बताउँदै आएका छन् ।

त्यस्तै, विकास निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्ने उद्योगीहरुले पनि अर्थतन्त्रमा देखिएको समस्याले व्यापार निकै खस्किएको बताउँदै आएका छन् ।

तर, लक्ष्मी स्टिलको व्यापारमा भने आर्थिक संकुचनका बाबजुद उच्च व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ९ अर्ब ४५ करोड ६९ लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब ५५ करोड ६५ लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार सन् २०२३ मा सन् २०२२ को तुलनामा करिब १ अर्ब बढी व्यापार गरेको छ ।

कम्पनीले कोरोना अघि गरेको व्यापारभन्दा पनि २०२३ मा बढी गरेको जनाएको छ । जसमा कम्पनीले सन् २०२२ को तुलनामा सन् २०२३ मा ११ प्रतिशतले बढी व्यापार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा ६ अर्ब ९ करोड ५६ लाख रुपैयाँ, सन् २०२० मा ३ अर्ब ८० करोड ७१ लाख रुपैयाँ र सन् २०१९ मा ६ अर्ब ७६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गरेको व्यापार गरेकोमा ९४ प्रतिशत आम्दानी टीएमटी बारबाट गरेको छ । सन् २०२२ मा डण्डीको व्यापारको हिस्सा ८८ प्रतिशत थियो । त्यसबाहेक बाँकी रिब्ड वायर, वाइन्डिङ वायर र अन्यबाट गरेको कम्पनीको भनाइ छ ।

सन् २००८ मा स्थापना भएको कम्पनीले आइरन तथा स्टिल उत्पादन गर्दै आएको छ । नेपालको स्टिल उद्योगमा क्षेत्रमा स्थापित कम्पनीमा न्यौपाने र अग्रवाल परिवारको लागानी रहेको छ । कम्पनी शौरभ ग्रुपको नामबाट सञ्चालित छ ।

कम्पनीले टीएमटी बार, रिब्ड वायर र वाइन्डिङ वायर लक्ष्मी स्टिल ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग स्पन्ज आइरन र आइरन स्क्र्याब प्रयोग गरेर बिलेट उत्पादन गर्ने क्षमता पनि छ । कम्पनीले वार्षिक २ लाख मेट्रिक टन टीएमटी बार र रिब्बड वायर उत्पादन गर्दै आएको छ ।

कम्पनीमा न्यौपाने परिवारको ९ जना सदस्यसँग ५२ प्रतिशत र अग्रवाल परिवारको ५ जना सदस्यसँग ४५ प्रतिशत हिस्सा छ । कम्पनीको अध्यक्ष टिकाराम न्यौपाने हुन् ।

सिद्धि लक्ष्मी स्टिल प्रालिः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठको कम्पनी सिद्धि लक्ष्मी स्टिल प्रालिले सन् २०२३ मा क२ अर्बको व्यापार गरेको छ । तर कम्पनीको व्यापारमा गतवर्षको तुलनामा गिरावट आएको छ । कम्पनीको २०२३ को व्यापार २०२२ को तुलनामा ५१ प्रतिशतले व्यापार कम भएको हो ।

सन् २०२० यता निरन्तर उकालो लागिरहेको सिद्धि लक्ष्मी स्टिलको व्यापार २०२३ मा आएर कम भएको हो । कम्पनीले २०२० मा १ अर्ब २५ करोड ५९ लाख रुपैयाँको व्यापार गरेको थियो । २०२१ मा कम्पनीको व्यापार ३ अर्ब ६३ करोड १६ लाख रुपैयाँ भएको थियो भने २०२२ मा ४ अर्ब ७ करोड ६४ लाख रुपैयाँको व्यापार भएको थियो ।

२०२२ को तुलनामा २०२३ मा भने कम्पनीको व्यापारमा ५१.५८ प्रतिशतको कमी आएको छ । २०२३ मा कम्पनीले १ अर्ब ९७ करोड ३६ लाख रुपैयाँको व्यापार गरेको छ ।

अन्जन श्रेष्ठ तथा उनकै पारिवारको स्वामित्वमा रहेको लक्ष्मी ग्रुप अन्तर्गत सिद्धि लक्ष्मी स्टिल कम्पनी सन् २०१७ मा सुरु भएको थियो । कम्पनीको सम्पूर्ण स्वामित्व लक्ष्मी ग्रुप र अन्जन श्रेष्ठसँगै गणेश बहादुर श्रेष्ठ, निराकर श्रेष्ठ र निरञ्जन श्रेष्ठसँग रहेको छ ।

सिद्धि लक्ष्मी स्टिल्सले समृद्धि स्टिल्स नाममा टिएमटी स्टिल छडहरु उत्पादन गर्दै आएको छ । नवलपरासीको रामग्राम नगरपालिकामा २ लाख मेट्रिक टनको उत्पादन कारखाना रहेको कम्पनीले सन् २०१९ अक्टोबरबाट उत्पादन सुरु गरेको थियो ।

छड उत्पादनका लागि आवश्यक रहेको बिलेटहरु सिद्धि लक्ष्मी स्टिल्सले भारतबाट आयात गर्दै आएको छ । तर, हाल भने लक्ष्मी ग्रुपकै लगानीमा समृद्धि मेटालिक्सको स्थापना भएको छ, जसमा छड उत्पादन गर्नका लागि बिलेट उत्पादन गर्ने कारखाना सुरु हुनेछ । उक्त कम्पनी कुल १ अर्ब ७२ करोड ३३ लाख रुपैयाँको लगानीमा सुरु हुँदैछ ।

जगदम्बा स्टिलः आर्थिक संकुचनले अस्तव्यस्त भइरहेको अवस्थामा पनि शंकर ग्रुपले एकै वर्ष करिब आधा खर्बको डण्डीको व्यापार गरेको छ । आर्थिक संकुचनले अहिले निर्माणजन्य समाग्रीको व्यापारमा गिरावट आएको छ । बजारमा निर्माण सामग्रीको माग न्यून हुँदा उद्योगहरुले उत्पादनमा नै कटौती गरिरहेको अवस्थामा शंकर ग्रुपले भने उल्लेख्य व्यापार गरेको देखिन्छ ।

शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा स्टिलले सन् २०२३ मा ४० अर्ब १७ करोड २० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । कम्पनीले सन् कम्पनीले सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । उक्त तथ्याङ्क हेर्दा सन् २०२२ को तुलनामा सन् २०२२ मा करिब १० अर्ब कम व्यापार गरेको छ । जुन १९ प्रतिशतले कम हो ।

कम्पनीको तथ्याङ्क हेर्दा सन् २०२२ को तुलनामा उल्लेख्य घटेको छ । समग्रमा अन्य उद्योगहरुको तुलनामा भने शंकर ग्रुपले आर्थिक संकुचनका बाबजुद उल्लेख्य व्यापार गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा २९ अर्ब ५५ करोड ७० लाख रुपैयाँ र सन् २०२० मा २१ अर्ब ९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२३ मा आर्थिक गतिविधिमा आएको सुस्तताले गर्दा व्यापारमा कमी आएको जनाएको छ । कम्पनीले एमएस विलेट, स्पञ्ज आइरन र पिग आइरन आयात गरी स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले डण्डी, एंगल, सेक्सन, पाइप, शटर प्रोफाइल, कोयल, सिट, विभिन्न प्रकारका तार उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२३ मा ८.२१ प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा ८.७० प्रतिशतले नाफा कमाएको थियो ।

सन् १९९३ मा स्थापना भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरेको छ । कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य वस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन क्षमता भएको कम्पनीले कोल्ड रोल्ड प्रोडक्ट, रोलिङ मिल प्रोडक्ट,वायर प्रोडक्ट र मेल्टिङ प्रोडक्ट उत्पादन गर्दै आएको छ ।

तीन दशकदेखि स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको ग्रुपको अध्यक्ष शाहिल अग्रवाल हुन् । कम्पनीले जगदम्बा इ, राइनो ५०० डी, जगदम्बा सुपर शाइन, जगदम्बा गाल्भा प्लस, जगदम्बा वायर ब्रान्डमा आफ्ना सामग्री बिक्री गर्दै आएको छ । त्यसैगरी, कम्पनीले भारतीय सीमानाका पनि उत्पादित वस्तु निर्यात गर्दै आएको छ । सन् २०२२ मा उत्पादनको ०.०८ प्रतिशत हिस्सा निर्यात गरेको कम्पनीले सन् २०२३ मा ५.६३ प्रतिशत हिस्सा निर्यात गरेको उल्लेख छ ।


अरिष्मा मोक्तान