रसुवा ड्राइपोर्ट: ५० प्रतिशत निर्माण सकियो, २० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी



काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले रसुवा नाकामा निर्माण गरिरहेको सुक्खा  बन्दरगाह (ड्राइपोर्ट) को निर्माण करिब ५० प्रतिशत सकिएको छ ।

उत्तरी छिमेकी मुलुक चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको उक्त बन्दरगाहको निर्माण कार्य कोभिडको समयमा केही महिना अवरुद्ध भएको थियो । निर्धारित समयमा नसक्ने अवस्था आएपछि म्याद थपेर आगामी सन् २०२५ को जुन ६ तारिखमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको समितिले जनाएको छ । यो बन्दरगाहको निर्माण कार्यको तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

टिमुरेस्थित भोटेकोशी नदीको किनारमा २ हजार ८० वर्गमिटरको क्षेत्रफलमा उक्त बन्दरगाह निर्माण भइरहेको छ । निर्माणस्थल चीनको सीमाबाट ३ किलोमिटर नेपाली भुभागमा पर्छ । बन्दरगाह निर्माण गर्नका लागि सरकारले मन्त्रिपरिषद्को बैठकबाट निणर्य गरी  राष्ट्रिय निकुञ्जको करिब ४ हेक्टर जग्गा निःशुल्क र बाँकी करिब ४ हेक्टर नीजि जग्गाधनीबाट खरिद गरिएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सन् २०१९ नोभेम्बरदेखि सुरु भएको यसको निर्माण ३० महिनामा सक्नुपर्ने थियो। तर, कोभिडका कारण निर्धारित समयमा नसकिंदा पछिल्लो समयमा म्याद थप गरि २०२५ को जुनमा सक्ने लक्ष्य निर्धारण गरिएको हो । उनका अनुसार चीन सरकारकै २ अर्ब १६ करोड ६० लाख रुपैयाँमा निर्माण भइरहेको छ ।

नदी किनारमा बन्दरगाह निर्माण भइरहेकाले नदीको जोखिमबाट जोगाउन साढे ६ सय मिटर लामो र ५ मिटर अग्लो रिटेनिङ वाल निर्माणको काम सकिएको छ । यसबाहेक सबारी साधन ओहोरदोहोर गर्नका लागि पासाङ ल्हामु राजमार्गसँग बन्दरगाहलाई जोडिने गरी ७ मिटर चौडाइ भएको पहुँचमार्ग (एप्रोच सडक) पनि निर्माण भइसकेको छ । ‘अब यो सडकमा कालोपत्रे गर्न मात्रै बाँकी छ,’ गजुरेलले भने,‘यो बन्दरगाह निर्माणपश्चात् रसुवा नाकाबाट नेपाल-चीनबीचको द्विपक्षीय व्यापार अझै व्यवस्थित हुने अपेक्षा  छ ।’

चीनको सामुद्रिक मार्ग हुँदै भारतको विशाखापट्टनममार्फत आउने मालसामानको ढुवानी लागत खर्च र समय अत्यधिक छ । चीनको सामुद्रिक मार्ग हुँदै भारतको विशाखापट्टनमबाट नेपालमा सामान ल्याउन अहिले ४५ दिनभन्दा बढी समय लाग्छ । रसुवा नाकाबाट सोझै आउँदा करिब दुई सातामा काठमाडौंमा मालसामान आइपुग्छ । यो बन्दरगाह निर्माणपश्चात् ढुवानी खर्च पनि कम हुने समय पनि कम लाग्ने हुँदा नेपालीले केही सस्तो मूल्यमा सामान खरिद गर्न सक्षम हुने गजुरेलको भनाइ छ । 

समितिका सिभिल इन्जिनियर शोभाकान्त राउतका अनुसार बन्दरगाह क्षेत्रमा माटो भर्ने (फिलिङ) काम पनि सकिनुका साथै अहिले वेयर हाउस र जाँच चौकीको भवन निर्माण गर्न फाउन्डेसनको काम भइरहेको छ । बन्दरगाहको तयार भएको खाकाअनुसार ५ सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन निर्माण हुनेछ । यस्तै ७५० वर्गमिटरमा गोदाम निर्माण गर्न लागिएको छ ।

यसबाहेक ३५० वटा कन्टेनर अटाउने क्षमताको पार्किङ निर्माण गर्न लागिएको छ । यो पाकिङ २३ ठूला र ३१३ साना कन्टेनर अटाउन सक्ने गरी निर्माण कार्य भइरहेको छ । बन्दरगाहमा जाँचपासका लागि दुईवटा विन्दु तोकिएको छ । बन्दरगाहमा भन्सार, अध्यागमन, क्वारेन्टाइन र बैंकको सुविधा हुने समितिले जनाएको छ ।

नेपाल-चीनबीच रसुवा, तातोपानी र हिल्सा नाकामार्फत झिनो रुपमा द्विपक्षीय व्यापार हुँदै आएको छ । चीनसँग व्यापारिक कारोबारका लागि तातोपानी सबैभन्दा उत्तम नाका भएपनि चीन सरकारले विभिन्न बहानामा उक्त नाका सहज रुपमा खुला नगरेका कारण द्विपक्षीय व्यापार अवरुद्ध हुँदै आएको छ । यसको विकल्पमा रसुवा नाकालाई अघि बढाइए पनि यो नाका पनि नेपाली आयातकर्ता र निर्यातकर्ता व्यापारीका लागि सहज बनिसकेको छैन ।

२०७२ वैशाखमा गएको भूकम्पको समयदेखि तातोपानी नाका विभिन्न बहानामा पटक-पटक अवरुद्ध हुँदै आएको छ । कोभिड १९ को महामारीसँगै चीनले नेपालको हकमा ‘जिरो काभिड पोलिसी’को नीति अवलम्बन गरेपछि चीनबाट नेपालमा मालसामानको आयात सहज रुपमा भएको छैन ।

भूकम्पका कारण मितेरी पुल र भौतिक पूर्वाधार भत्केको भन्दै चीनले झन्डै ४ वर्षपछि २०७६ जेठ १५ देखि पुनर्निर्माणपश्चात तातोपानी नाका सुरु गरेको थियो । नेपालीहरुको ठूलो पर्व दसैं आउनै लाग्दा पनि यो नाका पूर्णरुपमा सुरु नहुँदा व्यापारीलाई कठिनाइ भएको छ । चीन सरकारले तातोपानी नाका भदौ १५ देखि खुला गरे पनि चीनको खासाबाट ठूलो परिमाणमा मालसामान आयात-निर्यात गर्ने व्यापारीको हकमा भने खुल्न नसकेको व्यापारीहरुले औंल्याएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकबासीका लागि उक्त नाका खुला गरिएको थियो । चीन सरकारले तातोपानी नाकानजिकै बसोबास गर्ने स्थानीय बासिन्दाको हकमा दैनिक रुपमा किनमेल गर्न दिन भनेर नाका खुला गरेको छ ।

तातोपानी नाकादेखि ३० किलोमिटरको दूरी क्षेत्रभित्रका स्थानीय बासिन्दालाई दैनिक रुपमा किनमेल गर्न र घुम्न दिनका लागि मात्रै यो नाका खुला गरिएको हो । अध्यागमन कार्यालय कोदारीका अनुसार सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाको हकमा लागू हुने गरी तातोपानी मितेरी पुल पारिपट्टिको चिनियाँ क्षेत्र लिपिङ, रमिते र खासाको पसलमा दैनिक रुपमा किनमेल र घुम्न जान दिने गरि नाका खुला गरिएको हो ।

स्थानीय बासिन्दाको हकमा निलो रंगको पास जारी गरिएको छ । पासको आधारमा स्थानीयबासिन्दा चीनियाँ क्षेत्रमा घरायसी सामान किनमेल गर्न पाउने व्यवस्था गरिएको छ । सीमा क्षेत्रबाट करिब ३० किलोमिटरको दूरीमा हिमाली बजार न्यालम पर्छ । उक्त पासको सहयोगमा लिपिङबाट न्यालमसम्म जान पाउने व्यवस्था गरिएको छ ।

चीनसँग वार्षिक रुपमा २० अर्बभन्दा बढीको आयात र करिब तीन अर्ब मूल्यबराबरको निर्यात हुन्छ । यसको प्रमुख मार्ग तातोपानी नाका हो।


राजेश बर्मा