अधिकांश म्युचुअल फन्डको ‘न्याभ’ घट्यो, आईपीओमा दिने गरेको आरक्षण हटाउने तयारीमा सेबोन



काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डमध्ये अधिकाशंको प्रतिइकाइ खुद सम्पति मूल्य (न्याभ)मा गिरावट आएको छ । साउनको तुलनामा भदौमा अधिकांश कम्पनीको न्याभ गिरावट आएको हो ।

३९ वटा कम्पनीमध्ये २ वटा कम्पनीको न्याभमा सुधार आएको छ भने ३७ वटा कम्पनीको न्याभमा गिरावट आएको छ । न्याभमा सुधार आउने कम्पनीमा एनआईसी एशिया डाइनामिक डेफ्त फन्ड र आरबीबी म्युचुअल फन्ड-१ मात्र छन् ।

कम्पनीको न्याभमा गिरावट आउँदा प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० रुपैयाँभन्दा बढी हुने कम्पनी २२ वटा छन् । १७ कम्पनीको न्याभ १० रुपैयाँभन्दा कम छ ।

भदौसम्म आइपुग्दा सबैभन्दा बढी सानिमा इक्विटी फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १२ रुपैयाँ ७२ पैसा छ । यस्तै सनराइज फस्ट म्युचुअल फन्डको १२ रुपैयाँ ६५ पैसा, एनएमबी ५० को ११ रुपैयाँ ९३ पैसा, एनएमबी हाइब्रिड फन्ड एल-१ को ११ रुपैयाँ ७९ पैसा र एनआईसी एसिया ग्रोथ फन्डको ११ रुपैयाँ ६७ पैसा छ ।

त्यस्तै एनआईसी एसिया ब्यालेन्स फन्डको ११ रुपैयाँ १० पैसा, एनआईसी एसिया सेलेक्ट फन्ड-३० को १० रुपैयाँ ४४ पैसा, नबिल इक्विटी फन्डको १० रुपैयाँ ४४ पैसा, नबिल ब्यालेन्स फन्ड २ को १० रुपैयाँ २९ पैसा, सनराइज फोकस्ड इक्विटी फन्डको १० रुपैयाँ ०३ पैसा र प्रभु सेलेक्ट फन्डको १० रुपैयाँ ८२ पैसा छ ।

एनआईबीएल सहभागी फन्डको १० रुपैयाँ ०१ पैसा, एनआईबीएल प्रगति फन्डको १० रुपैयाँ ३२ पैसा, एनएमबी सुलभ एन्भेस्टमेन्ट फन्ड-२ को १० रुपैयाँ ८२ पैसा, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-३ को १० रुपैयाँ १२ पैसा, कुमारी धनवृद्धि योजनाको १० रुपैयाँ १९ पैसा, आरबीबी म्युचुअल फन्ड-२ को १० रुपैयाँ ०२ पैसा, कुमारी सुनौलो लगानी योजनाको १० रुपैयाँ ४ पैसा र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० रुपैयाँ २५ पैसा छ ।

सञ्चालनमा रहेका फन्डहरुले भदौ मसान्तमा २४ अर्ब ७९ करोड ६५ लाख १९ हजार ८७९ रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेका छन् । साउनमा २४ अर्ब ५९ करोड ६२ लाख ५४ हजार ९४५ रुपैयाँ लगानी गरेका थिए । सेयर बजारमा देखिएको उतारचढावका कारण कम्पनीहरुले साउनको तुलनामा भदौ महिनामा सूचीकृत कम्पनीमा लगानी धेरै बढाएका छैनन् । एक महिनाको अवधिमा सूचीकृत सेयरमा हुने लगानी ०.८१ प्रतिशतले मात्रै बढेको छ । ३९ वटा कम्पनीमा १६ वटाको मात्रै सूचीकृत सेयरमा हुने लगानी बढेको छ भने बाँकी कम्पनीको घटेको छ ।

यस्तै साउनको तुलनामा भदौमा म्युचुअल फन्डले बैंकमा राखेको मौज्दात घटाएका छन् । साउनमा ८ अर्ब २ करोड २३ लाख २५ हजार ३३४ रुपैयाँ बैंक मौज्दात रहे पनि भदौमा यो रकम घटेर ६ अर्ब ८१ करोड ८४ लाख १० हजार ७२४ रुपैयाँमा झरेको छ ।। यो अवधिमा म्युचुअल फन्डले बैंकमा राख्ने रकम १५ प्रतिशतले घटेको छ । साउनको तुलनामा भदौमा ६ वटा कम्पनीले बैंकका राख्ने मौज्दात रकम बढेको छ भने बाँकीको घटेको छ ।

सेयर बजारमा लगानी गर्नकै लागि भनेर फन्डको व्यवस्था गरिएको हो । फन्डहरुले बजार हेरेर लगानी गर्ने गरेका छन् । बजार बढेको समयमा लगानी बढाउने र घटेको समयमा मुद्दती निक्षेपमा राखेर ब्याज खाने गरेको आरोप फन्डहरुलाई सधैं लाग्ने गरेको छ । फन्डहरुले अपेक्षाअनुसार बजार सुधारमा काम गर्न नसनेको भन्दै प्राथमिक सेयरमा दिने गरेको आरक्षण हटाउने तयारीमा धितोपत्र बोर्ड छ ।


क्लिकमान्डु