दसैंका लागि ४७ हजार खसीबोका काठमाडौं भित्रिँदै



काठमाडौं । यो वर्षको दसैंमा नीजि र सरकारीस्तरबाट काठमाडौंको बजारमा ४७ हजारको संख्यामा खसीबोका आउने भएको छ । दसैं नजिक आइसकेकाले नीजि क्षेत्र र सरकारी स्वामित्वको खाद्य व्यापार तथा व्यवस्था कम्पनीले यो संख्यामा खसीबोका बजारमा भित्र्याउन लागेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नुवाकोट, तनहुँ, तुलसीपुर, हेटौँडालगायतका जिल्लाबाट खसी र बोका ल्याउने तयारी गरेको छ भने च्यांग्रा भने जुम्ला र हुम्लाबाट ल्याइनेछ । कम्पनीले २ हजार खसीबोका र १ हजार गोटा च्यांग्रा खरिद गर्न लागेको छ ।

कम्पनीका प्रवक्ता शर्मिला सुवेदीका अनुसार खसीबोका ल्याउन खरिद कार्यक्रम सुरु भइसकेको छ । ती स्थानमा खरिद गरि घटस्थापनाको २ दिन अघि काठमाडौंको थापाथलीस्थित बिक्री केन्द्रमा भित्र्याइनेछ ।

भित्र्याइएको खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य खसीबोकालाई बिक्रीका लागि राखिनेछ भने अस्वस्थ्य देखिने खसीबोकालाई क्वारेन्टाइनमा राखेर स्वस्थ्य भएपनि बिक्री गरिने योजना छ । यसरी भित्र्याइएको खसीबोकाको मूल्य बजारमूल्य भन्दा केही सस्तो तोकेर घटस्थापनाको १ दिन अघिबाट बिक्री गर्ने योजना रहेको सुवेदीले जानकारी दिइन् ।

कम्पनीले गत वर्ष जिउँदो खसी प्रतिकिलो ५ सय ७० रुपैयाँ, बोका ५ सय ५५ रुपैयाँ र च्यांग्रा प्रतिकिलो १ हजार दुई सय ६० रुपैयाँले बिक्री गरेको थियो ।

यस्तै नीजि क्षेत्रले पनि यो वर्ष ४५ हजारको संख्यामा मुलुकको विभिन्न स्थानबाट खसीबोका खरिद गरी बजारमा ल्याउन लागेको छ । चौपाया खरिद विक्री सेवा संघका अध्यक्ष दीपक थापाका अनुसार सुर्खेत, रुकुम रोल्पा, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरिया, सल्यान, सुर्खेत, दाङ, कटहरीलगायत जिल्लाबाट खसी–बोका ल्याउने तयारी गरेको छ ।
यस्तै मुस्ताङ, जुम्लालगायतका स्थानबाट च्यांग्रा ल्याउन लागेको हो । थापाकाअनुसार नीजि क्षेत्रका व्यवसायीहरु अहिले देशको विभिन्न स्थानमा खसीबोका खरिद गर्ने संकलन गर्ने काम सुरु गरिसकेका छन् ।

‘खरिद भइरहेको खसीबोका अबको ५ दिनपछि राजधानीमा भित्र्याउन सुरु गर्छौ,’ थापाले भने,‘एकै पटक सबैलाई भित्र्याएर काठमाडौंमा राख्न र दाना पानी खुवाउन समस्या भएकाले विभिन्न चरणमा खरिद भएका खसीबोका काठमाडौं भित्र्याउने हो ।’

संघकाअनुसार यो वर्ष करिब ४ हजारदेखि ६ हजारको संख्यामा नीजि क्षेत्रले च्याग्रा भित्र्याउन लागेको हो । तर यो वर्ष सर्वसाधारणको आर्थिक अवस्था निक्कै दयनिय भएको र महँगी पनि अत्यधिक बढेकाले खसीबोकाको बजार अन्य वर्षको तुलनामा त्यति चलायमान र गुलजारमय हुन नसक्ने थापाको भनाइ छ ।

नीजि क्षेत्रले पनि दसैंको खसीबोका घटस्थापनाको एक दिन अघिबाट बिक्री गर्न सुरु गर्छ । त्यहि वेला मूल्य पनि तोकिने थापाको भनाई छ । अहिले नीजि क्षेत्रले स्वदेशी जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६६० रुपैयाँदेखि ६९० रुपैयाँसम्म तोकेको छ । यस्तै भारतबाट आयात भएको जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ७ सयदेखि ७ सय ३५ सम्म छ ।

उनका अनुसार सरकारले मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेपनि बजारमा उपलब्ध खसीबोकामध्ये झण्डै ४० प्रतिशत भारतबाट आयात भएको खसीबोका हो । स्वदेशी खसीबोकाको तुलनामा भारतीय खसीबोकामा मासु ठूलो परिमाणमा निस्किने भएकाले व्यवसायिक प्रयोजनको लागि बढि भारतीय खपत हुने थापाले बताए ।

पशु सेवा विभागका अनुसार दसैंको समयमा उपत्यकामा ५० देखि ५४ हजारको संख्यामा खसीबोकाको व्यापार हुँदैआएको छ। सामान्य समयमा राजधानीमा मात्रै दैनिक १ हजार २ सयको संख्यामा खसीबोका खपत हुँदै आएको छ । विभागका प्रवक्ता डा.चन्द्र ढकालकाअनुसार दसैंको ७ दिनको अवधीमा मासुको अत्यधिक खपत हुन्छ । दसैँको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढ्छ । सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर दुई सय १२ ग्रामसम्म पुग्छ ।

यसरी चिनौं भारतीय खसीबोका

बजारमा स्वदेशमा उत्पादन भएको र भारतबाट आयात भएको दुई प्रकारको खसीबोका हुने भएकाले आम उपभोक्तालाई ती दुवैमा कुन रोज्ने भनेर समस्या हुन सक्छ । संघका अध्यक्ष थापाका अनुसार खसीबोको शरीरमा रहेको भुत्ला कैंचीले टाटेपाटे काटिएको छ भने त्यसलाई भारतबाट आयात भएको बुझ्नुपर्छ । स्वदेशी खसीबोकाको भुत्ला टाटेपाटे काटिएको हुँदैन् ।

स्वदेशी खसीबोकाको शरीरमा भुत्ला निक्कै कम हुन्छ भने आयातित खसीबोकाको भुत्ला निक्कै बढि हुन्छ । लोकल खसीबोका निक्कै फुर्तिला, ह्ष्ट पुष्ट, चञ्चले र स्याउला, घांसपात, मकैलगायत सबै चरण सामाग्री खाने हुन्छ ।

तर भारतीय खसीबोका एकलकाटे, दुब्लो, पात्लो र टाढाबाट हेर्दा बिरामीजस्तो लाग्ने देखिन्छ । भारतीय खसीबोका गहुँ र चना चरण सामाग्री खान बढी रुचाउँछन् ।

उनकाअनुसार स्वदेशी खसीबोकाको मासु केही लामो दिनसम्म पनि भण्डारण गरी खान मिल्छ । मासु विग्रदैंन् । तर भारतीय मासु धेरै दिनसम्म राखेर खान मिल्दैंन् ।

रंग हेरेर खरिद गरौं

दसैंमा बिक्रि हुने खसीबोकामा सबैभन्दा पहिले सिंहमा ‘हरियो’ र ‘रातो’ रंग लगाइएको आधारमा छनौट गर्नुपर्छ । हरियो रंग स्वस्थ्यवद्र्धक गर्छ भन्ने जनाउंछ भने रातो रंग अस्वस्थ्य छ भन्ने बुझाउँछ ।

सरकारले दसैंको अवधीमा उपत्यकामा भित्रिने सम्पूर्ण खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य भेटिएको अवस्थामा सिंगमा हरियो रंग र अस्वस्थ्य भेटिएको खण्डमा सिंहमा रातो रंग लगाइदिन्छन् ।


क्लिकमान्डु