राष्ट्रिय उद्योग तस्करी !



हामी नेपालीहरुलाई राष्ट्रिय जिनिसको बहुत सौख छ । खाना मामुली परिकारले हाम्रो पेट भरिन्न । राष्ट्रिय खाना नै चाहिन्छ । मामुली कपडामा सुभकार्य हुन्न । राष्ट्रिय पोसाक नै चाहिन्छ । खान लाउनमात्रै राष्ट्रिय भएर पुग्दैन । खेत जोत्नु छ भने राष्ट्रिय फाली चाहिन्छ । यसो केही गरिल्याउदा भरसक्य कदरमा पनि राष्ट्रिय ताली चाहिन्छ। सबथोक रित्तिँदा रहने खाली पनि राष्ट्रिय नै चाहिन्छ ।

हामीलाई मामुली नेता भएर पुग्दैन राजनेता नै चाहिन्छ । सामान्य धानीले हामीलाई पुग्दैन राजधानी नै चाहिन्छ । सामान्य फलाम, तामा खानिले पुग्दैन। राजखानी नै चाहिन्छ । हामी कतै पस्दैछौँ । सामान्य ढोकाले हुन्न । राष्ट्रिय ढोका नै चाहिन्छ । कसैले लोप्वा ख्वाइदियो । सामान्य लोप्पाले पुग्दैन । राष्ट्रिय धोका नै चाहिन्छ । हामीलाई जनावर राष्ट्रिय चाहिन्छ । बोट बिरुवा राष्ट्रिय चाहिन्छ । फूल राष्ट्रिय चाहिन्छ। पात पतिङ्गर राष्ट्रिय चाहिन्छ । लाम्खुट्टे लाग्दा ओड्ने झुल होस वा थलिएर दुख्ने सुलै किन नहोस् । सकेसम्म राष्ट्रिय चाहिन्छ।

सबै कुरा राष्ट्रिय चाहिँदा पेसा चैँ अराष्ट्रिय अपनाउँदा बहुत दु:ख पाइया छ । यसले कताकता राष्ट्रिय मुलप्रवाहमा समाहित हुन नसकिएको हो कि झैँ जस्तो लागिरहेछ । अहिले एकै पेसाबाहेक अबै पेसा किनारा पुगेका छन् । जतिसुकै नेपाल कृषि प्रधान देश भनुन्। देश कत्ति पनि कृषि प्रधान हुँदै होइन । किन कि खेती किसानी राष्ट्रिय पेसै होइन । सुनिन्छ रेमिट्यान्सबाट नि मनग्गे कमाइरहेछ देशले । तैपनि यो देश युवाप्रधान होइन । सबै भन्छन् देशमा कुनै अबसरै छैन । कुनै भविष्य नै छैन । आखिर अवसर भविष्य किन भएन ? कारण एउटै छ । देशको माटो सुहाउने पेसै भएन । उसो त हामीलाई माटो सुहाउँदोको ठूलो कुलत छ । तैपनी हामिले माटो सुहाउँदो, माटो फस्टाउँदो पेसै गरेनौं । अनेक पेसा गर्याछन्, अनेक व्यवसाय गर्याछन । तैपनी निराशा सिवाय केही नि उत्पादन गर्न सकेका छैनन् । कोहि भन्छन्- कत्रो खर्च गरेर कुखुरा फार्म खोलेको खर्लप्पै घाटामा गयो ।

कोहि भन्छन्- कत्रो खर्च गरेर माछा पालन गरेको । पोखरीमात्रै एक किलो मिटरको थियो । आफैँ डुबियो । कोहि भन्छन्- रिन काटेर व्यापार गरेको नराम्ररी फसियो । कोहि भन्छन्- जागिर खाको । कहिल्यै उभो लाग्ने भएन।

लागुन् नि कसरी ? पेसै अराष्ट्रिय अपनाएको छन् त ! देशले राष्ट्रिय पेसालाई पो जोगाउछ त । अराष्ट्रिय पेसालाई किन जोगाउने रु त्यसैले यहाँ फलिफाप केहिमा हुन्छ भने त्यो एकै पेसा छ । त्यो पेसा हो (फट्याइँ । यहाँ कसैको फलिफाप भएको छ भने- त्यो फट्याँइ गर्ने कै भएको छ । सफलताको लागि यहाँ फट्याँइ अनिवार्य भएको छ । त्यसैले हेर्नुस त (फट्याँइका हरेक काण्डहरुमा कस्ता कस्ता सफल मान्छे भेटिन्छन् ।

नक्कली भुटानी शरणार्थी उद्योग हेरौँ । मिडियाले काण्ड नि भन्छन क्यार ! आहा ! कस्ताकस्ता राष्ट्रिय व्यक्तित्वहरुको उपस्थिति । व्यक्तित्वहरु हेर्दा लाग्छ- यो कुनै काण्ड नभै राष्ट्रिय महोत्सव हो । जहाँ साक्षात् पूर्वगृहमन्त्रीहरु बिराजमान हुनुन्छ । कर्मचारी प्रशासनका उच्चपदस्त अधिकारी हुनुन्छ । जीवनभर सरणार्थीका लागि लडेका भुटानी नेता हुनुन्छ । त्यसमाथि शिर्श नेताकै धाप र आशीर्वाद प्राप्त ब्यक्तित्वहरु । केमरा अगाडि पर्दा नि राजनेताले झै सगौरव लण्ठ्याङ लण्ठ्याङ हात हल्लाएका। पेसा होस् त यस्तो पो । इलम होस् त यस्तो पो । कत्रो इज्जत । कत्रो सान ।

अर्को आयो सुन तस्करी उद्योग । बाफ्रे ! कस्तो चमत्कारिक उद्योग । पहिला पहिला लाग्थ्यो- सुन भनेको एक तोला दुई तोलामात्रै हुन्छ । यसको त किलोग्राममा नाप्न मिल्ने आकार नै हुन्न । हदै भए लोरो जत्रो एउटा ठेउको होला । जब सुन काण्डको बारेमा खबर आउन थाल्यो। तब थाहा भयो- सुन त एक किलो, दुई किलो मात्रै होइन क्विन्टलमै नाप्न मिल्ने साइजमा हुन्च । यस हिसाबले यो उद्योग केबल तस्करी उद्योगमात्रै होइन । शिक्षा उद्योग पनि हो । यसबाट यत्रो पनि सुन हुँदोरहेछ भन्ने शिक्षा प्राप्त हुदोरहेछ । फेरि यो पेसा यति राष्ट्रिय रहेछ कि पेसेवर थुनिएसी पेसेवरको पक्षमा साक्षात् राजनेता प्रकट हुनुभो र उहाँको बचाउ गर्नुभो । देख्दा मनै हरर भो । त्यस्ता पो राजनेता। पेसाकर्मीको हितको लागि कसरी लागि पर्न सकेका। फेरी एयरपोर्ट त्यस्तो ठाउँ हो जहाँ उस्तै परे नाकैको फूलीपनि मेटल डिटेक्टरले समात्छ । त्यत्रो सुनमा म्युट हुँदो रहेछ । आखिर डिटेक्टर पनि राष्ट्रिय भावनाले त ओतप्रोतै हुने रहेछ । उसले पनि चिन्दो रहेछ। राष्ट्रिय पेसाको संरक्षणमा तल्लिन नै रहेछ ।

यस्तो महान पेसामाथि छानविन भएको छ । माटो सुहाउँदो पेसाको संरक्षणको लागि प्रतिपक्षी खुलेरै लागेका छन् । तर, सरकार किन यसमा सिरियस भएको छैन ? उल्टै पेसाकर्मीलाई समातेर छानविन पो अगाडि बढाइरहेको छ । यस्तो महापेसाको संरक्षण गर्नु सरकारको दायित्व होइन ?

प्रधानमन्त्री भन्दैहुनुन्थ्यो- यो त ट्रेलर मात्रै हो । सिनेमा आउनै बाँकी छ ।

केही दिनमा बिस्तारै सिनेमा देखिन थाल्यो । बिस्तारै पर्दामा देखिए- काण्डहरुक चिरपरिचित नायक एम सर । एमसरको आगमनसँगै दर्शक एक साथ हुटिङ गर्दै सिठी फुके । संसद् अबरोध गर्दै फुर्सदमा सिनेमा हेर्दै गरेका राजनेताले सिठी फुक्दै भन्नू भो । देख्नुभो त ? मैले भन्दैथिए नि ! यसरी हुन्न भनेर । अब छानविन समिती बनाउम् । त्यसपछि प्रधानमन्त्रीले नि भन्नूभो- ठिक हो छानविन समिति नै बनाम् । सुनिदैछ- सुटिङ चल्दैछ ।

सिनेमाको सिक्वेल कस्तो बन्छ हेर्दै गरौँला ।

फेरि आयो ललिता निवास कम्पनी । सुरुको दृष्यमा पूर्वप्रधानमन्त्री नै देखिनु भो । केहिछिनमा हराउनुभयो । पछि एकसे एक लब्ध प्रतिष्ठितहरु देखिए । सरकारी अधिकारी, पहुँचदारहरु । हैट ! क्या माहोल त्यो । पछि सुपरस्टोरको सर आउनुभो। सोच्थेम्- महापसलका सामान बेचेरै उहाँ यति सफल हुनुभो । अरु चै किन भरहेछन। सफलताको राज तब पो खुल्यो । जब उहाँले इमान नि बेच्नुभो भन्ने थाहा भो। त्यसबिचमा पनि राजनेता आउनुभो र इलमीहरुलाई धाप मार्नुभो । उहाँहरुलाइ बिनासिती दुख दिएकोमा सरकारलाई हप्काउनुभो ।

यसप्रकार कतै फलिफाप छ भने त्यो फट्याँइमै छ । कतै इज्यत छ भने फट्याइँमै छ । कतै राष्ट्रिय इज्यत छ भने फट्याँइमै छ । यहाँ जे गर्नु नि दण्डनीय छैन । छ भने एउटै कुरामा छ त्यो हो- पैसा नकमाउनु । पैसा नकमाए चै समाज, छरछिमेक, परिवारमा समेत दण्डीत हुनुपर्छ । यहाँ पैसा कमाउने एकमात्र अवसर फट्याइमा मात्रै छ । इज्यत, मानसम्मान, प्रतिष्ठा, सफलता फट्याँइमा मात्रै छ । फट्याँइलाई राष्ट्रिय पेसा घोषणा गरौँ !


चाणक्य