सिटिजन्स बैंकले यसरी पत्ता लगाएको थियो नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारी



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २०८० वैशाखदेखि कर्मचारीको वृत्तिविकासका लागि फरक ढंगले काम गर्न थालेको थियो । यसको कारण थियो- गाभिएर आएका विभिन्न वित्त कम्पनी र विकास बैंकका कर्मचारीको पनि क्षमता अभिवृद्धि र पदोन्नति ।

बैंकमा २०७२ वैशाखमा पहिलोपटक पिपल्स फाइनान्स र नेपाल हाउजिङ फाइनान्स गाभिएका थिए । त्यसयताका ६ वर्षमा प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्स गाभिए । २०७८ असारमा बैंकले सिर्जना फाइनान्सलाई गाभेको थियो।

फरक–फरक संस्थाबाट आएका कर्मचारीबीचको अन्तरघुलन मात्र नभएर व्यवस्थापनसमेत निकै चुनौतीपूर्ण थियो । सोहीकारण कर्मचारीको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि वैशाखदेखि विशेष ढंगले काम अघि बढाइएको थियो ।

कतिपय कर्मचारीको क्षमता उनीहरुको शैक्षिक योग्यताअनुसारको देखिएन । बैंक व्यवस्थापनले उनीहरुमाथि थप अध्ययन गर्यो।

‘सबै कर्मचारीलाई उत्तिकै प्राथमिकता दिनुपर्छ र उसैगरी माथिल्लो तहमा लैजानुपर्छ भन्ने अवधारणाअनुसार हामीले काम गरिरहेका थियौं,’ प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता नारायणराज अधिकारीले क्लिकमान्डुसँग भने, ‘त्यही अनुसार वृत्तिविकासका प्रयासहरु भइरहेका थिए ।’

अध्ययन विश्लेषणका क्रममा कतिपय प्रमाणपत्र भारतीय विश्वविद्यालयसँग सम्बन्धित भेटिए । प्रमाणपत्रमा आशंका बढेपछि बैंकले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रमाणपत्र माग गर्यो । समकक्षता प्रमाणपत्र सहजै प्राप्त भएपछि बैंक थप सशंकित भयो ।

अनुसन्धान यतिमै रोकिएन । बैंकले असार पहिलो साता समकक्षता प्रमाणित गर्ने त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रमा सम्पर्क गर्यो । केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. पारसनाथ यादवलाई घटनाको विवरण बतायो र कागजपत्र बुझायो।

बैंकले शुद्धीकरणका लागि आफ्नै तर्फबाट पहल गरिरहेको थियो । ‘समकक्षताको प्रमाणपत्रबारे यकिन जानकारी पाइसकेपछि हामी आफैं प्रहरीसम्म पुग्थ्यौं,’ प्रवक्ता अधिकारीले भने, ‘हामी पाठ्यक्रम विकास केन्द्रको खबर पर्खिरहेका थियौं । प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।’

सिटिजन्स बैंकमा अहिले १८ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । तीमध्ये करिब ५० प्रतिशत महिला छन् । सबै कर्मचारीका लागि हरेक तह र पद उत्तिकै महत्वपूर्ण र समान छन् भन्ने मान्यता बैंकले राखेको प्रवक्ता अधिकारीले बताए ।

‘तर शैक्षिक प्रमाणपत्रमै बदमासी गरिरहेको होला भनेर पहिला सोचिएको थिएन,’ उनले भने, ‘प्रहरीको विस्तृत अनुसन्धानपछि मात्र धेरै कुरा बाहिर आउला ।’

किर्ते प्रमाणपत्रको आरोपमा पक्राउ परेकाहरु सिटिजन्स बैंकको रुपन्देही जिल्लाका विभिन्न शाखामा कार्यरत कर्मचारी छन् । पक्राउ पर्नेमा बुटवल शाखाका मनिष मास्के र खिमानन्द गौतम, मणिग्राम शाखाका गोमा ज्ञवाली तथा कालिकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी छन् । त्यस्तै मुद्दा शाखाका दीपक विष्ट पनि पक्राउ परेका छन् । अन्य ४ जना खोजी सूचीमा छन् ।

रुपन्देही प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक (डीएसपी) दानबहादुर थापाले आफूहरुलाई घटनाबारे विस्तृत जानकारी नभएको र प्रहरी परिसरले पक्राउ गरेर पठाउन भनेकाले त्यही अनुसार गरिएको बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलका अनुसार त्रिभुवन विश्वविद्यालयले नक्कली शैक्षिक प्रमाणपत्र रहेको जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

‘हामीलाई त्रिविले नक्कली प्रमाणपत्र रहेकाहरुको नाम लिस्ट पठाएपछि कारबाही प्रक्रिया अघि बढाएका हौं,’ उनले भने, ‘६ जनालाई सोमबार पक्राउ गरियो, अन्य ४ जना पक्राउको सूचीमा छन् ।’


क्लिकमान्डु