महासंघका वरिष्ठ उपाध्यक्षसँग आक्रोशित हुँदै अर्थमन्त्रीले भने- तपाईंहरुको संस्थागत धारणा के हो ?



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसँग सार्वजनिक कार्यक्रममै आक्रोशित भएका छन् ।

आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्र खराब हुँदा पनि सरकारले केही काम गर्न नसकेको आरोप लगाएपछि अर्थमन्त्री महत नोगेटिभ कुरा मात्रै गरेको भन्दै श्रेष्ठसँग आक्रोशित भएका हुन् ।

‘अस्ति मन्त्रालयमा तपाईंहरुको अध्यक्षले राम्रो कुरा गर्नु भएको थियो । सरकारले अर्थतन्त्र सुधार गर्ने प्रयास गरेको छ भन्नु भएको थियो । आज बरिष्ठ उपाध्यक्षले निकै नगेटिभ कुरा मात्रै गर्नु भयो,’ मन्त्री महतले भने, ‘पहिला तपाईंहरुको संस्थागत धारणा के हो ? प्रष्ट पार्नुस् । नेगेटिभ कुरा गरेर मात्रै हुँदैन । अर्थतन्त्र सुधारका लागि के गर्नु पर्ने हो सकारात्मक कुार गर्नु पर्याे।’

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष श्रेष्ठले दक्षिण एशियाली देशमध्ये नेपालमा कर र कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपात धेरै भएको भन्दै करका दरहरु घटाउनु पर्ने माग गरेका थिए ।

श्रेष्ठले कृषि क्षेत्रमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर सरकारले महँगी बढाएको भन्दै अर्थ मन्त्रालयको कर नीतिको आलोचना गरेका थिए ।

मन्त्री महतले उपाध्यक्ष श्रेष्ठलाई लक्षित गर्दै आफू व्यापारमात्रै गर्ने उत्पादन बढाउने नीति लिँदा सरकारको आलोचना गर्ने भन्दै प्रश्न गरे ।

‘आधारभूत कुरामा अर्बाैैंको आयात भयो सरकारले केही गरेन भन्ने आरोप पनि लगाउने, आन्तरिक उत्पादन बढाउने नीति लिँदा सरकारको आलोचना गर्ने ?,’ महतले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई प्रश्न गरे ।

श्रष्ठले अर्थतन्त्र गम्भीर समस्यामा रहेको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउन काम नगरेको धारणा राखेका थिए ।

‘विगतमा दशैं तिहारमा व्यापार बढाउन एलसी खोल्ने, स्टक बढाउने काम व्यवसायीले गर्ने गरेका थिए,’ श्रेष्ठले भने, ‘यो वर्ष अर्थतन्त्र चलायमान हुन्छ । बजारमा माग बढ्छ भन्ने कसैलाई पनि अपेक्षा छैन । बजारमा आर्थिक गतिविधि नबढ्दासम्म राजस्व संकलन बढ्न सक्दैन ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बजारमा सकारात्मक सन्देश प्रवाह गर्नुभन्दा नेभेटिभ कुरा गरेर सरोकारवालाको मनोबल घटाउने कुरा गरेको मन्त्री महतले बताए ।

‘अर्थशास्त्रमा एउटा सिद्दान्त छ, सकारात्मक मनोबल बढाउने कुरा गर्याे भने आर्थिक गतिविधि बढ्दै जान्छ । चेम्बर अध्यक्ष र परिंसघका उपाध्यक्षले सकारात्मक कुरा गर्नु भयो । एफएनसीसीआईका वरिष्ठ उपाध्यक्षले नेगेटिभ कुरा मात्रै गर्नु भयो,’ महतले भने,‘ नकारात्मक कुरा मात्रै लोकप्रिय हुन थाले राम्रो काम गरेको विषय छलफलमा आउँदैन । जब हामी सबैले राम्रो हुँदैछ भन्न थाल्छौं विस्तारै राम्रो हुँदै जान्छ । निजी क्षेत्रको नेतृत्वले मात्रै खराब मात्रै छ भन्ने हो भने अर्थतन्त्र सुधार हुँदैन । जसले नेभेटिभ कुरा गर्याे, त्यो लोकप्रिय हुन्छ । हामीले काम गरिरहेका छौं । तपाईंहरुले नेगेटिभ कुरा भन्दा पनि पोजेटिभ कुरालाई प्राथमिकता दिनु पर्याे । ’


क्लिकमान्डु